१६–३० कात्तिक २०६८ | 2-16 Nov 2011

विद्रोहका घाउ

Share:
  
- गोपाल गड्तौला, झापा
एमाओवादीले द्वन्द्वकालमा गोली लागेका कतिपय कार्यकर्तालाई ‘काम लाग्यो भाँडो, आफल तेरो ठाँडो’ बनाएको छ ।

गोलीका निसानाः कुमार उप्रेती र नरबहादुर मगर ।

• स्नातक दोस्रो वर्षमा पढ्दा–पढ्दै बुर्जुवा शिक्षा परित्याग गरेर ‘जनयुद्ध’मा लागेका झपा महाभाराका भीम सुब्बा (३१)लाई २०६२ चैतमा इलामको चौकी हान्न खटिँदा करेन्ट लागे जस्तो भएको थियो, कम्मरमुनि रगतले लुगा भिजिसकेपछि मात्र थाहा भयो, ढाड छेडेर गोली पेटबाट निस्केको ।

• पूर्वी तराईको एउटा प्रहरी चौकी हान्ने योजनामा पहाडबाट झ्रेको पार्टीको लडाकू दस्तालाई बाटो देखाउन ३१ वैशाख २०६१ को साँझ् मोरङको उर्लाबारीबाट मधुमल्लातिर लागेका दैलेखका प्रेम चापागाईं (३५)को दाहिने पाखुरा झ्ण्डै छिनालेर तीन वटा गोली पार भयो । • तीन वर्षदेखि भूमिगत तारा अधिकारी (४५) रोपाईंको बेला परिवारलाई सघाउन २१ साउन २०५९ मा झपाको बुधबारे–२ स्थित घर आइपुग्नै लागेका थिए, बाटो सोध्ने निहुँ पारेर आएका दुई सुरक्षाकर्मीले हानेको गोली उनको ढाडबाट छिरेर पेटको दायाँ भागबाट बाहिरियो ।

‘क्रान्तिकारी’ पार्टीको आह्वानमा

‘जनयुद्ध’मा लाग्दा छोडेको घरबार सम्हाल्न यी तीन युवालाई निकै हम्मे परिरहेको छ । पढाइ नछाडेको भए गरिखान सजिलो हुनेथियो भन्ने महसुस गर्दासम्म भीम सुब्बाको काँधमा दुई छोरा र श्रीमतीसहित चार जनाको परिवार चलाउने जिम्मेवारी आइसकेको छ । “अलिकति चिसो बढ्यो कि गोलीले छेडेको जीउ कटकटी दुख्छ”, सुब्बा भन्छन्, “भारी बोक्न त के सुँगुरलाई चारो दिन पनि गाह्रो हुन्छ ।”

माओवादीको झपा जिल्ला किराँत राज्य कमिटीमा संलग्न सुब्बा पार्टीसँग सबैखाले सम्बन्ध तोडेको बताउँछन् । महाभाराको देवीगाडा वस्तीमा बाबुले दिएको तीन कट्ठा जग्गामा पराले झुप्रो हालेर बसेका उनले त्यहीँ सुँगुर, बाख्रा र कुखुरा पालेका तथा जाँड–रक्सीको व्यापार गरेका छन् । कुनैबेला ‘पासाङ’ उपनामले झपामा सनसनी मच्चाएका प्रेम चापागाईं पनि दमकको रात्रिबस बिसौनीमा थुक्पा, चाउमिन र जाँड–रक्सीको होटल चलाउँछन् । एउटा छोरा र श्रीमतीसँग जीविका चलाइरहेका चापागाईं भन्छन्, “इमानदार काइदाले पार्टीमा अडिन नसक्ने नदेखेर फागुन २०६५ मा साधारण सदस्यताबाटै राजिनामा दिएँ । पार्टीमा लाग्दाका दिनहरू सम्झ्ँदा दुःख लाग्छ ।”

घरपरिवारले भूमिगत पार्टीमा नलाग्न दबाब दिँदा तारा अधिकारी इलाका कमिटी सदस्य भइसकेका थिए । घर नजिकै गोली लागेर गम्भीर घाइते भएका उनी दुईपटक गरेर डेढ वर्ष जेल पनि परे । २०६२–६३ को लोकतान्त्रिक आन्दोलन सफल भएको दुई महिनामै उपचार गर्दा लागेको करिब दुई लाख रुपैयाँ ऋण तिर्न उनलाई अरब जानु प¥यो । हाल बिर्तामोडमा रङ पसल चलाइरहेका अधिकारी भन्छन्, “अहिले हाम्रो पार्टी निकै धनी भएको सुनिन्छ, तर मेरो कुनै साइनो सम्बन्ध छैन । घाइते जीउ दुख्दा निकै दिक्क लाग्छ ।”

भीम सुब्ब, प्रेम चापागाई र तारा अधिकारी । (क्रमश माथिबाट)
बाहुनडाँगी झपाका एलबी सुब्बा पनि त्यस्तै पूर्व माओवादी कार्यकर्ता हुन्, जो काठ व्यवसायबाट गुजारा चलाउँछन् । पाँच वर्ष एकचित्त भएर पार्टीमा लागेका उनी ६ वर्षअघि प्रहरीको गोली लागेर खुट्टा बिग्रिएपछि अलग भएका थिए । द्वन्द्वकालमा त्रासबीच माओवादीको झपा कमान सम्हालेका दर्जनौं घाइते कार्यकर्ता अहिले पछुतो मान्दै निजी जीवन सम्हालिरहेका छन् । गएको पाँच वर्षमा माओवादीभित्र पन्पिएको धन र गुटको राजनीतिले धेरैलाई निराश पारेको छ । चापागाईं भन्छन्, “एमाओवादीमा त काङ्ग्रेस र एमालेमा भन्दा बढी विकृति देखिएको छ ।”

झपा, बेलडाँगी–३ स्थित भुटानी शरणार्थी शिविर, सेक्टर ए–१ को ७३ नम्बर छाप्रोमा बसिरहेका नरबहादुर मगरलाई १ वैशाख २०६३ दिउँसो शिविरको बीच बाटोमा माओवादीले सशस्त्र प्रहरीलाई हानेको गोली लाग्यो, जुन आजसम्म उनको फोक्सो र कलेजोको बीचमा अड्केर बसेको छ । त्यसको दुखाइ कम पार्न हरेक दिन रु.७५ जाने सुई लिनुपर्ने उनी भन्छन्, “मेरो चार सदस्यीय परिवारको गुजारा राष्ट्रसंघीय शरणार्थी आयोगको सहायतामा चलिरहेको छ । तर आयोगले खाद्य सहयोग मात्र दिन्छ, उपचार गर्दैन । डाक्टरहरूले ठूलो अप्रेशन गर्नुपर्छ, रु.१० लाख जति खर्च लाग्छ भनेका छन् । त्यत्रो पैसा मसँग छैन ।”

झपाकै शनिश्चरेका कुमार उप्रेती टाउकोमा माओवादीको गोली बोकेर हिँडिरहेका छन् । २०६१ जेठमा हत्याको आरोपमा अपहरण गरी १९ दिन उत्तरी झपा र दक्षिण इलामका पहाडी जङ्गलमा हिँडाएका उनलाई माओवादीले एक रात शनिश्चरे नजिकै कालिस्थानको जङ्गलमा दुवै हात पछाडि बाँधेर गोली हानी छाडेका र बिहानीपख घिस्रिँदै गाउँमा आएपछि गाउँलेहरूले बचाएका थिए । “तिघ्रा र पाखुरामा लागेका गोलीहरू पार भए, तर टाउकोमा अड्केको छ । त्यसलाई निकाल्न पनि निकै जोखिम हुने डाक्टरहरूले बताएका छन्”, उनी भन्छन् । सरकारले द्वन्द्वकालमा बेपत्ता पारिएका र मारिएकाका परिवारलाई रु.१० लाख सहयोग गर्ने नीति अनुसार एक–एक लाखको पहिलो किस्ता वितरण गरिसकेको छ । तर, घाइतेले भने सामान्य उपचार खर्च पनि पाएका छैनन् । जिल्ला शान्ति समिति झपाले दुवै पक्षबाट घाइते ५० जनाको नामसहितको विवरण शान्ति मन्त्रालयमा पठाएको एक वर्ष बितिसक्यो, समितिका सचिव विजय तिम्सिनालाई सहयोग आउने–नआउनेबारे कुनै जानकारी छैन ।

comments powered by Disqus

रमझम