१८ चैत्र २०६९ | 31 March 2013

नेपालीलाई कंगाल बनाउँदै

Share:
  
- डम्बरकृष्ण श्रेष्ठ
नेपालीलाई 'प्रवेश निषेध' क्यासिनोहरूले 'दादा'को उपयोग गरेर नेपालीलाई नै बर्बाद पारिरहेका छन्।

क्यासिनोमा पल्केको ६ महीनामा साढे तीन करोड रुपैयाँ सिध्याएका बालाजु काठमाडौंका राजन केसी (३३) 'दादा'हरूको रु.३० लाख तिर्न नसकेर लुकी–लुकी हिंडिरहेका छन्। रु.४ करोड सिध्याएका मनमैजुका दामोदर थापा 'दादा'हरूको रु.२ करोड ऋणका कारण दुई वर्षदेखि भूमिगत छन्। उनी आमाको मृत्यु हुँदा समेत घर आउन सकेनन्।

क्यासिनोमा दुई वटा घर र रु.१ करोड ५० लाख सिध्याएर श्रीमतीबाट त्यागिएका गोंगबुका अरबिन श्रेष्ठ (३५) अहिले ट्याक्सी चलाएर गुजारा चलाइरहेका छन् भने मैतीदेवीका महमद असफाक खसी कारोबारबाट कमाएको रु.१ करोड सकेर कंगाल बनेका छन्।

राजधानीका क्यासिनोहरूले बर्बाद पारेका यी प्रतिनिधि पात्र हुन्, जो हिमाल सँग कुरा गर्न तयार भए। कानूनी रूपमा नेपालीलाई प्रवेश निषेध क्यासिनोहरूमा जुवा खेलेर हरेक दिन कम्तीमा पाँच नेपाली कंगाल बनिरहेको यस क्षेत्रका भुक्तभोगीको अनुमान छ। ती सबै क्यासिनोका खालमा नगद लगानी गर्ने 'दादा'हरूको 'मिटर ब्याज'को फन्दामा परेका छन्।

पछिल्लो समयमा सबैभन्दा धेरै रकम सक्नेमा काठमाडौं, रानीबारीका घरजग्गा कारोबारी केशव रायमाझी पर्छन्। रायमाझी ले हालसम्म रु.२५ करोड भन्दा बढी सकेको बताइन्छ। गोंगबुका नारायण बस्नेत पनि पाँच रोपनी जग्गासहित रु.६ करोड सिध्याउनेमा पर्छन्। 'मिटर ब्याज'को रु.६० लाख ऋण थपिएका उनी 'दादा'हरूबाट लुक्न थालेको सात महीना भयो।

पाँच वर्षअघि रु.५ करोड सकेर फूटपाथमा आएका नारायण प्रधान अहिले बानेश्वरमा माछा बेचिरहेका छन्। २५ वर्षको व्यापारिक सम्पत्ति क्यासिनोमा सिध्याएपछि आत्महत्या समेत गर्न खोजेको उनले बताए। फिल्म निर्देशक ज्ञानेन्द्र देउजाले बानेश्वरको एभरेष्ट क्यासिनोमा करीब रु.२ करोड सिध्याएपछि केही महीनाअघि आत्महत्याको प्रयास गरेका थिए। बालाजुका राजन केसी भन्छन्, “क्यासिनोको लत त शत्रुलाई पनि नलागोस्, उसको पनि परिवार हुन्छ।” (हे. बक्सहरू)

'दादा'को जगजगी

क्यासिनोमा करोड भन्दा माथि हार्नेलाई 'हाई बेटर' र त्योभन्दा कम हार्नेलाई 'लो बेटर' भनिन्छ। 'हाई बेटर'हरूलाई क्यासिनोले बेलाबेला नेपाल र भारतका शहरहरूमा सयर पनि गराउँछ। ग्राहकलाई बोलाउन घरमै गाडी पठाउनेदेखि केटीको प्रयोग गर्नेसम्म गरिन्छ। बालाजुका केसी भन्छन्, “केटीले आमन्त्रण गरेपछि जोसुकैलाई जाऊँ–जाऊँ लागिहाल्छ।”

क्यासिनोमा हारेकाहरूलाई मोटरसाइकल, सुन, गाडी, घर–जग्गा मौखिक धितोमा रु.१००० देखि रु.५० लाखसम्म ऋण दिने 'दादा'हरू खालैमा बसेका हुन्छन्। पर्सिपल्टसम्म चुक्ता गर्नुपर्ने यस्तो ऋणको ब्याज दर भारु.१० हजारको भारु.१२ हजार र १ लाखको १ लाख २० हजार हुन्छ। क्यासिनोमा नेरु. चल्दैन। क्यासिनो अन्नामा अखडा जमाएका बलराम सापकोटा (बले) र भाइ मिलन यस्तै लगानीबाट करोडपति बनेका छन्। कुनैबेला अरूको ड्राइभर रहेका बले अहिले कम्तीमा रु.३० करोडको मालिक छन्। क्यासिनो रोयलमा बले र पूर्व गृहमन्त्री विजय गच्छदारका सहयोगी गणेश लामाको ३० प्रतिशत लगानी रहेको बताइन्छ।

जुवाडेमाथि लगानी गर्ने

बलराम सापकोटा 'बले, विष्णु लामा, दिनेश अधिकारी 'चरी', मनराज गुरुङ

कुमार घैंटे, रमेश सुनुवार, समीरमानसिंह बस्नेत

यसैगरी, लाजिम्पाटको क्यासिनो र्‍याडमा कविन शाक्य, मनराज गुरुङ र पूर्ण गुरुङको हालीमुहाली छ। सरकारी सुरक्षा निकायहरूको रासन ठेकेदारको हैसियत बनाएका काजी शेर्पाको 'केटा' मानिने मनराज गुरुङ १३ साउन २०६४ मा दोलखाका तत्कालीन प्रजिअ उद्धवबहादुर थापालाई पिटेर भागेका गुण्डा हुन्।

लैनचौरको भेनस क्यासिनोमा भने दिनेश अधिकारी (चरी), सोभित सिलवाल, विनोद ओलीलगायतको राज छ। चरी एमाले धादिङ क्षेत्र नम्बर १ का उपाध्यक्ष हुन् भने सिलवाल केही वर्षअघिसम्म ड्राइभर थिए। क्यासिनो अन्नामा बले दाजुभाइसँगै रमेश सुनुवार, विष्णु लामा र दाबा लामा जमेका छन्। विष्णु र दावा त्यहाँ गणेश लामाको कारोबार हेर्छन्। मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष गच्छदारको संरक्षणबाट गणेश लामाको कारोबार आकासिंदो छ। ठमेलको इन्सोम्निया डिस्को सञ्चालक मनाङेको 'केटा' भनेर चिनिने सुनुवार आफैं नामूद जुवाडे पनि हुन्।

सोल्टी होटलको क्यासिनोमा विनोद ओली र छोटा राजन भनिने गुण्डा जमेका छन्। बानेश्वरको एभरेष्ट होटलमा कर्मचारी र एमाओवादी युनियनको 'मिटर व्याज' चल्छ। राजधानीका क्यासिनोहरूमा कुमार घैंटे, समिरमान सिंह बस्नेत, कविन शाक्य, अजय लामा, संजीव लामा, दावा लामा, नारायण श्रेष्ठ, मिलन सापकोटा, दिनेश अलकत्रे, अजय लामा, दावा शेर्पा 'सेट्ठी', राजु लामा, कुमार ए र बी आदि अनेक नाम र पृष्ठभूमिका गुण्डाहरूले 'मिटर व्याज' चलाएका छन्। कारोबार बढाइदिएबापत उनीहरूलाई क्यासिनोले पाँच प्रतिशत कमिसन दिन्छ।

जुवाडेहरूले कागज नगरी आफूसँग भएको सुन, घडी, गाडीको चाबी राखेर त्यस्तो ऋण पाउँछन्। दाइ, हाकिम साहेब भन्दै पैसा लिन उक्साउने 'दादा'हरूले दुई दिन कुर्छन्, त्यसपछि 'पैसा ल्याउँछस् कि बोरामा पोको पारेर फ्याँकिदिऊँ' भन्दै फोन गर्छन्। कतिलाई पैसा नभएको ब्याङ्क खाताको चेक काट्न लगाउँछन्, कतिलाई वैदेशिक रोजगारमा पठाइदिने भनेर पैसा लिएको कागज गराउँछन्– चेक बाउन्स र ठगीमा फँसाउन। जुवाडेहरूले खालमा ऋण लिंदा रु.१ लाखको रु.९० हजार मात्र पाउँछन्, तर जिते भने व्याजसहित रु.१ लाख २० हजार बुझाउनुपर्छ। क्यासिनोका जुवाडेमध्ये ९५ प्रतिशतले हार्छन्। यसरी सारा कारोबार र घरबार समेत तहसनहस भएपछि कोही अपराधतिर लाग्छन्।

विजय गच्छदार गृहमन्त्री बनेपछि पहिले बन्द भएका क्यासिनोहरु निर्वाध चलेसँगै नेपालीलाई ऋण दिएर कंगाल बनाउने गिरोहहरुसमेत सक्रिय भए। तस्वीरमा गच्छदारका साथमा गणेश लामा (रातो घेरामा)
अपराध कारखाना बनेको क्यासिनोमा हारेपछि अपराधी बनेकाहरूको फेहरिस्त लामो छ। डा. उपेन्द्र देवकोटाकी छोरी, डा. भक्तमान श्रेष्ठ, ओमकार भट्टचन, महेश मुरारकालगायतका व्यक्तिका अपहरणकारीहरूले असुलेको फिरौती रकम क्यासिनोहरूमा उडाएका थिए। वीरेन प्रधानले क्यासिनोकै आवश्यकता पूरा गर्न पैसाका लागि आफ्नै छात्रा ख्याति श्रेष्ठको अपहरण र हत्या गरेका थिए भने स्पाइडर ग्रुपका नाममा आतङ्क मच्चाउने सन्दीप पाठक (मिलन लामा), अमर टण्डन र उदय सेट्ठी (हाल जेलमा)को अखडा क्यासिनोहरू नै थिए। यो जानकारी सरकारलाई थाहा भए पनि आँखा चिम्लेर बसेको छ। क्यासिनो व्यवस्थापनको नजराना प्रहरीका वडादेखि प्रधान कार्यालय र गृहमन्त्रालयको प्रशासनिक तथा राजनीतिक नेतृत्व तहसम्म पुग्ने गरेको छ।

नेपालीकै भरमा

क्यासिनोमा नेपाली प्रवेशलाई सहज बनाउनकै लागि केही महीना अगाडि गृहमन्त्री गच्छदारले एसएसपी रणबहादुर चन्दलाई काठमाडौं प्रमुख बनाएको बताइन्छ। प्रहरीले बेलाबेलामा छापा त मार्छ तर, पछिल्लो ढोकाबाट जुवाडेहरूलाई उम्काउने गरी। बाहिर प्रहरी आउँदा भित्र साइरन बज्ने जुवाडेहरू बताउँछन्। दिनहुँ अनुगमन र नेपाली प्रवेशमा कडाइ गरिरहेको दाबी गर्ने उपत्यकाका प्रहरी प्रमुख अतिरिक्त प्रहरी महानिरीक्षक नवराज ढकाल पक्रेर ल्याइएका जुवाडेहरूको खल्तीमा क्यासिनो कर्मचारी परिचयपत्र निस्कने गरेको बताउँछन्।

क्यासिनोहरूमा ८० प्रतिशत ग्राहक नेपाली हुन्छन्। ८००० भन्दा बढी कर्मचारी रहेको क्यासिनोहरूमा माओवादी मजदूर युनियनको पकड छ। 'जनयुद्ध'ताका गाउँहरूमा तास–जुवा खेल्नेहरूमाथि भाटे कारबाही चलाएका माओवादीहरूले २०६४ पछि क्यासिनोहरूलाई कार्यकर्ता भर्ती केन्द्र बनाए। नेपालीलाई जुवा नखेलाई नेपाल जस्तो ठाउँमा १० वटा क्यासिनो सञ्चालन हुने अवस्था नै नभएको बताउँदै एक जना उच्च प्रहरी अधिकृत भन्छन्, “माओवादी नेताहरू क्यासिनो बन्द भए ७/८ हजारको रोजगारी गुम्छ, वास्ता नगरिदिनुस् भन्छन्।”

एमाओवादी नेता बाबुराम भट्टराई नेतृत्वको सरकारले वीरगञ्ज, नेपालगञ्ज, विराटनगर र महेन्द्रनगरमा समेत मिनी क्यासिनो खोल्ने अनुमति दिइसकेको छ। सरकारले कानूनमै नभएको मिनी क्यासिनो सञ्चालनको अनुमति दिए पनि तिनले राजस्व तिरेको रेकर्ड आन्तरिक राजस्व कार्यालयसँग समेत छैन। कार्यालयका उप–महानिर्देशक विष्णु नेपालले पुरानाले नै नतिरेको अवस्थामा थपिएकाहरू कसरी सञ्चालित छन् थाहा नभएको बताए। उप–महानिर्देशक नेपालका अनुसार क्यासिनोहरूले रु.५४ करोड ७६ लाख ९२ हजार ४१२ राजस्व तिरेका छैनन्। नेपालीहरूलाई खेलाउन नपाइने गरी पहिलो पटक सन् १९६८ मा होटल सोल्टीमा 'क्यासिनो नेपाल' खुलेको थियो। अहिले काठमाडौं र पोखरामा १० क्यासिनो सञ्चालनमा छन्।


'के थिएँ के भएँ'

**अरबिन श्रेष्ठ, गोंगबु **

क्यासिनोको लतले महलबाट फूटपाथमा पुर्‍याएको सात वर्ष भयो। मैले डेढ करोड रुपैयाँ, ८ आना जग्गामा बनेको दुइटा घर, गाडी र मोटरसाइकल सिध्याएँ। आमा, दुई भाइ र बहिनीहरूलाई दिनु दुःख दिएँ। श्रीमती काखको छोरी लिएर हिंडिन्। म क्यासिनोमा सिद्धिंदा ऋण दिने गिरोहहरू नभएकोले लुकीलुकी हिंड्न परेको छैन। बेलाबेला साहुको ट्याक्सी चलाउँछु। आमा र भाइहरूले सहारा दिएका छन्। क्यासिनोमा धेरैले जीवन नरक बनाएका छन्। कीर्तिपुरतिरको श्याम नाम गरेको नेवार केटाले सर्वस्व हारेर बाबुआमालाई फूटपाथमा पुर्‍याएपछि आत्महत्या नै गर्‍यो। मैले पनि जेठो छोरो भएर आमालाई रुवाएँ, सबभन्दा ठूलो ग्लानि त्यही हुन्छ। क्यासिनो गएर आज म के भएँ देखिहाल्नुभयो!


'मुटुकलेजो नै खायो क्यासिनोले'

राजन केसी, बालाजु

क्यासिनोको लत लागेपछि मैले ६ महीनामै डेढ करोड रुपैयाँ र दुई रोपनी पुर्ख्यौली जग्गा सिध्याएँ। रु.३० लाख तिर्ने भाका नाघेको डेढ वर्ष भइसक्यो, कहाँबाट ल्याएर तिर्नु? यस्तो अवस्थामा वैदेशिक रोजगारीको ठगीमा फँसाइएको छ। मेरो त मुटुकलेजो नै खायो नि क्यासिनोले!

पहिला स्पोर्टस् कारमा हिंड्थें, नयाँ–नयाँ ब्राण्डका मोटरसाइकल चढ्थें। अहिले माइक्रो चढ्ने भाडा हुँदैन। तीन छोराको स्कूलको फिस तिर्न सकिरहेको छैन। कहिलेकाहीं घरमा चामल हुँदैन। आफन्तहरूसँग सम्बन्ध बिग्रेको छ। क्यासिनोको लतले धेरै नेपालीलाई कंगाल बनाइरहेको छ। क्यासिनोको ऋणलाई सरकारले 'भुस' पार्न सक्नुपर्छ। प्रहरीले चाह्यो भने क्यासिनोमा कोही नेपाली छिर्न सक्दैन। तर, तलदेखि माथिसम्म 'सेटिङ' मिलाइएको छ। प्रहरी आउँदा पनि पहिल्यै सूचना दिएको हुन्छ।

माओवादी सरकारमा आएपछि क्यासिनोहरू चम्किएका हुन्। नेपाली छिराउन दिने शर्तमा माओवादीले क्यासिनोहरूमा ८० प्रतिशत मजदूर भर्ना गराएर युनियनमा कब्जा जमायो। पहिले मुखमा तास कोचेर पानीले निल्न लगाउने माओवादी अहिले राजधानीका जुवा घरहरूको संरक्षक भएका छन्।

हिमाल १६–३२ कात्तिक २०६७ मा क्यासिनोहरुले राजस्व नतिरेको, नेपालीहरूलाई जुवा खेलाएर खतरनाक अपराधी समेत जन्माएको खुलासा गरेपछि केही समय प्रवेश र राजस्व असुलीमा कडाइ गरिए पनि नेपाली प्रवेश र 'दादा'हरुको लगानी नियन्त्रण गरिएको छैन। अझै रु.५४ करोड ७६ लाख राजस्व उठ्न बाँकी छ।


'क्यासिनोले कंगाल बनायो'

महमद असफाक, मैतीदेवी

म कंगाल भएको पाँच वर्ष भयो। शुरूमा एउटा साथीले लिएर गयो, रु.७० हजार हारें। त्यो पैसा फर्काउन जाने क्रममा सर्वस्व सिध्याएँ। खसी र मासु कारोबारमा मासिक रु.१ लाख आय हुन्थ्यो। सात वर्षको कमाइ, गाउँको घर र एक बिघा जमिन सकेर कैयौं दिन सडकमा भौंतारिएँ, तर मर्न सकिनँ। बोर्डिङमा पढिरहेका छोराछोरी र श्रीमतीलाई गाउँ पठाएर दुई वर्षयता अर्काको आर्थिक सहयोगमा मासु पसल खोलेर गुजारा चलाइरहेछु। क्यासिनोमा सिद्धिने मजस्ता धेरै जना बेपत्ता भएका छन्।

comments powered by Disqus

रमझम