धिमा चाल

Share:
  
विश्व शान्तिको मुहान लुम्बिनीमा बौद्ध दर्शन सम्बन्धी विश्वस्तरीय प्राज्ञिक एकेडेमीका रूपमा सञ्चालन गर्ने भनिएको लुम्बिनी बौद्ध विश्वविद्यालय १४ वर्षमा पनि सञ्चालन हुनसकेको छैन।

२०६१ सालमा नियुक्त लुम्बिनी बौद्ध विश्वविद्यालय (लुबौविवि) को पहिलो उपकुलपति प्रा.डा. तुलसीराम वैद्य पाँचवर्षे कार्यकाल पूरा गरेर निवृत्त भए। त्यसपछि नौ महीना खाली रहेको उपकुलपतिको कुर्सीमा प्रा.डा. त्रिरत्न मानन्धर आएको पनि अढाइ वर्ष नाघिसक्यो। यो अवधिमा धेरै कुलपति अर्थात् प्रधानमन्त्रीहरू फेरिए, लुबौविवि चाहिं जहाँको त्यहीं छ।

मंसीर २०५५ मा सम्पन्न प्रथम विश्व बौद्ध सम्मेलनले परिकल्पना गरेको लुबौविवि स्थापनालाई मंसीर २०६१ को दोस्रो विश्व बौद्ध सम्मेलनले टुंगो लगाएको थियो। यो अवधिमा थाईल्याण्ड, श्रीलंका, जापान, चीन, भारतलगायतका देशहरूमा बुद्ध दर्शन अध्ययन–अनुसन्धान गर्ने कैयौं प्रतिष्ठानहरू खुलिसके। नेपालीमा चाहिं किन यस्तो? “कानूनी बाहेक सबै कुरामा बाधै बाधा रहेकाले”, लुबौविविका उप–प्राध्यापक इन्द्र काफ्ले भन्छन्।

सम्बन्धनमा अगाडि

विश्वविद्यालयका उपकुलपति प्रा.डा. मानन्धर सरकारी अनुदानको अभावका बाबजूद लुम्बिनीस्थित आफ्नै क्याम्पसमा एमए कक्षा सञ्चालन गर्ने तयारी गरेको बताउँछन्। उनको भनाइमा, अध्ययनका लागि थाईल्याण्ड, कोरिया, भियतनाम लगायतका देशका विद्यार्थीले इच्छा पनि देखाइरहेका छन्। उपकुलपति मानन्धरले लुम्बिनीमा विदेशी विद्यार्थीको लर्को लाग्ने विश्वास गरे, तर कक्षा सञ्चालन भए मात्र।

कक्षा सञ्चालनको संभावनालाई भने अझै तयार नभइसकेको पूर्वाधारले नै कमजोर पारिरहेको छ। कक्षा संचालनका लागि २५ कोठे भवन त बनिरहेको छ, तर प्रशासनिक भवन र आवासीय विद्यार्थीका लागि होस्टेल कल्पनामै सीमित छ। उप–प्राध्यापक काफ्ले शिक्षक–कर्मचारीका लागि आवश्यक आवास पनि नभएको बताउँछन्।

लुबौविविले आफैं कक्षा सञ्चालन गर्न नसके पनि बौद्ध दर्शन पढाउने कलेजहरूलाई सम्बन्धन दिन चाहिं कुनै कन्जुस्याईं गरेको छैन। लुबौविविबाट सम्बन्धन लिएर काठमाडौंका लोटस रिसर्च इन्ष्टिच्युट, लुम्बिनी कलेज अफ बुद्धिज्म एण्ड हिमालयन स्टडिज, सुगत बौद्ध महाविद्यालय, थेरवाद बुद्धिष्ट एकेडेमी र बौद्ध मल्टिपल कलेजमा अप्लाइड बुद्धिज्म, हिमालयन बुद्धिज्म, थेरवाद बुद्धिज्म, बुद्धिज्म एण्ड पिस स्टडिज जस्ता विधागत विषयमा एमए कक्षा संचालनमा छन्।

रु.१०,००१ मा सम्बन्धन दिने विश्वविद्यालय आफैंले भने यस्ता कक्षा सञ्चालनमा देखाउनुपर्ने जति जाँगर देखाएको छैन। यसको दोष विश्वविद्यालय र केन्द्रीय क्याम्पस लुम्बिनीमै रहनुपर्ने नियमावलीको व्यवस्थालाई दिने गरिएको छ। नियमावलीले विश्वविद्यालय लुम्बिनीमा हुनुपर्ने भने पनि खास–खास संरचना काठमाडौंमा केन्द्रित भएकाले यसका प्रायः पदाधिकारी, प्राध्यापक र कर्मचारीहरू उतै बस्छन्। विश्वविद्यालयको सम्पर्क कार्यालय पनि काठमाडौंमै छ। व्यवहारमा काठमाडौं केन्द्रीय र लुम्बिनी सम्पर्क कार्यालय भएको बौद्ध दर्शनका एक अध्येता तिलक आचार्य बताउँछन्।

विश्वस्तरीय भनिएको यस्तो महत्वाकांक्षी योजनामा काठमाडौं र लुम्बिनीमा गरी जम्मा १५ कर्मचारी छन्। तीमध्ये काठमाडौंस्थित सम्पर्क कार्यालयमा ११ र प्रधान कार्यालय लुम्बिनीमा एक उप–प्राध्यापकसहित तीन कर्मचारी छन्। विश्वविद्यालय सञ्चालनका लागि सबै क्षेत्रबाट दबाब र शुभेच्छा आए पनि आर्थिक संकटले काम गर्न नसकेको रजिष्ट्रार पीताम्बर यादवले बताए।

लुम्बिनीमा कक्षा सञ्चालन गर्न नसके पनि यो विश्वविद्यालयमार्फत नेपाली र विदेशी गरी ५५ जनाले पीएचडी गरिरहेका छन्।

दीपक ज्ञवाली, बुटवल

comments powered by Disqus

रमझम