१८ चैत्र २०६९ | 31 March 2013

'मर्न मात्र बाँकी छ'

Share:
  
- कृष्ण सारुमगर, खैराङ, मकवानपुर
मकवानपुरको खैराङ गाविसका जनता भोकमरीले मर्न लागिसक्दा पनि राज्य र उसका निकाय ढुक्क बसेका छन्।

अगेनो नजिक ८० वर्षीय असक्त डुङलाल चेपाङ।

पश्चिमी मकवानपुरको खैराङ गाविस–४ रुन्चेबाङकी ११ सन्तानकी आमा विष्णुमाया चेपाङको पेटमा अन्न नपरेको तीन महीना नाघिसक्यो। उनका ८० वर्षका ससुरा डुङलाल हाडछाला भइसके। दुई महीनाको कुपोषित छोरालाई स्तनपान गराइरहेकी विष्णुमाया भन्छिन्, “अब त कन्दमूल र सिस्नु पनि पाउन छाड्यो।” व्याज र स्याज समेत गरी रु.८० हजार ऋण नाघेको र यो साल खाई–नखाई उब्जाएको अन्नपात पनि साहुले बारीबाटै खोसेको विष्णुमायाले बताइन्। साहुले कि नयाँ वर्षभित्र सावाँ–व्याज तिर्न कि त घरबारी छाड्न भनेका रहेछन्। “एक हलको पाखोबारीको पूरै अन्नपात राख्न पाएको भए मिसमास गरेर तीन महीना जति खान पुग्नेथियो”, विष्णुमायाले भनिन्।

अनिकालमाथि ऋण

अनिकालको हाहाकारमाथि ऋणको बोझ् कस्तो भने विष्णुमायाका श्रीमान् विकुलाले ८० वर्षका बिरामी बाबुलाई उपचार त के तीन वर्षदेखि पेटभरि खान समेत दिन नसकेको बताए। आफू एक जनाले परिवार धान्न नसकेपछि एक हजार, दुई हजार गर्दै रु.४५ हजार ऋण लिएको उनले बताए। “तर, साहुले साँवा–व्याज गरेर ८० हजार नाघिसक्यो, घरबारी छोड् भनिरहेका छन्”, विकुलाले भने।

विष्णुमाया र फूलमाया बच्चाहरुको साथमा।

विकुला र विष्णुमायाकी छिमेकी फूलमाया चेपाङ (२०) ले घरमा एक दाना अन्न नभएको, आउने ठाउँ कतै नभएको, भएको पाँच कट्ठा जति बारीमा पनि यसपालि साहुले मकै छर्न नदिएको र तीन जना छोराछोरी भोकले छटपटाउँदा आफूलाई मर्न मन लाग्ने गरेको बिसाई–बिसार्ई बताइन्। “पोहोर मूल घरबाट छुट्टिंदा मेरो भागमा पाँच कट्ठा जग्गा र २५ हजार ऋण परेको थियो”, फूलमायाका श्रीमान् थर्कमान भन्छन्, “त्यसपछि मैले १० हजार जति ऋण काढें, तर साहुले व्याज जोडेर घरबारी नै लिन लागेका छन्।”

यसपालि धेरैको बारीमा शहरका साहुहरूले मकै छरेको बताउने ५५ वर्षीय आइतलाल चेपाङले तीन वर्षदेखि रुन्चेबाङका ३२ परिवारमध्ये कसैले पनि उब्जनी खान नपाएको बताए। साहुले ३० हजार ऋण पुग्यो भन्दै आफ्नो त हलगोरु नै लगिदिएको बताउँदै १२ सन्तानका पिता आइतलालले भने, “अन्यत्र जाउँ्क ठाउँ छैन, यहीं बसौं अनिकाल र साहुले मार्न लागे।”

भोकग्रस्त बालिका।

उनका अनुसार, धादिङसँग सीमा जोडिएको खैराङको रुन्चेबाङ, पार्सिबाङ, खोलेबाङ, स्यालबाङ, लाइबाङ, स्याङ्लाबाङ र सिमलटारका चेपाङहरूलाई गजुरी, लोथर र मनहरीका साहुहरूले ऋण दिने गरेका छन्। व्यक्तिगत चिनजानका आधारमा हुने यस्तो लेनदेनको व्याजदर मासिक सयकडा तीन प्रतिशत (३६ प्रतिशत) भन्दा माथि हुन्छ। “बेलाबेला गाउँ पस्ने साहुहरूले अन्नबाली, पशुपक्षी जे देख्यो त्यही टिप्छन्”, आइतलाल भन्छन्, “कसैको पनि लालपुर्जा नभएकाले जग्गा पास गरेर लैजान चाहिं सकेका छैनन्।”

फूलमाया (२०) र सेतीमाया बच्चाहरुसँग।

अधिकांश भिरालो खोरिया रहेको यो क्षेत्रमा उब्जनीले तीन महीना पनि खान पुग्दैन। शिक्षा र आधारभूत स्वास्थ्य सुविधाको कुरा यहाँ कल्पना बाहिर छ। गाउँभरि कुपोषणग्रस्त महिला र बालबालिका देखिन्छन्। आफ्नो जनप्रतिनिधि नभएकोले सिंचाइ र ऋण चुक्ताको लागि आफैं पटक–पटक गाविस जाँदा केही नभएको गुनासो आइतलाल गर्छन्। “भीरपाखामा बसेकालाई सरकारले नहेर्ने रहेछ”, आइतलालले भने, “अब भकाभक मर्न मात्र बाँकी छ।”

comments powered by Disqus

रमझम