कर्मचारी नै टाउकोदुखाइ

Share:
  
- प्रभात भट्टराई
आफन्तको उक्साहट र दबाबले ब्याङ्कका कर्मचारीको मति बिग्रँदा रोजगारदाताको जोखिम बढेको छ।

ब्याङ्कहरू आफैंले आकर्षक जागिर दिएका कर्मचारीबाटै जोखिममा पर्न थालेका पछिल्ला केही घटनाले देखाएका छन्। आफन्त र समाजलाई ठाँटबाँट देखाउन केही कर्मचारी रोजगारदातालाई नै ठग्न लाग्दा ब्याङ्क व्यवस्थापनको चिन्ता पनि बढाएको छ।

नबिल ब्याङ्कमा एटीएम कार्डबाट रु.८० लाख घोटाला भएको एक वर्षपछि हिमालयन ब्याङ्कमा त्यस्तै घटना भयो, झ्ण्डै रु.६ करोडको। ती दुवै घटनामा कार्ड सेन्टरका कर्मचारीको संलग्नता भेटिएको छ। “चेक लिएर आउने मान्छेलाई भुक्तानी दिएर पनि सिष्टममा नचढाउने वा बचत गर्न ल्याएको रकम लिएर पनि कम्प्युटरमा इन्ट्री नगर्ने प्रवृत्ति समेत देखियो”, हिमालयन ब्याङ्कका प्रमुख कार्यकारी अधिकृत अशोक राणा भन्छन्, “हिसाब मिलान गर्न बाँकी रहेका खाताको पैसा झ्िक्ने प्रवृत्ति पनि पाइयो।”

छिटो धनी बन्ने लालसाले कर्मचारीहरू यस्तो काममा अग्रसर भएको ब्याङ्करहरूको बुझाइ छ। नबिलका प्रमुख लगानी अधिकृत भुवन दाहाल भन्छन्, “ब्याङ्कका कर्मचारीले सानोतिनो रेस्टुरेन्ट जान नहुने, महँगो ग्याजेट बोक्नुपर्ने, मोटर चढ्नैपर्ने मानसिकता राखेर गलत काममा अग्रसर भएको देखिन्छ।” कर्मचारीमा त्यस्तो प्रवृत्ति बढ्नुमा आफन्तहरूको उक्साहट र दबाब महत्वपूर्ण कारण रहेको उनको भनाइ छ।

थेग्नै गाह्रो

राष्ट्र ब्याङ्कको नियम अनुसार ब्याङ्कहरूले पछिल्लो तीन वर्षभित्र कमाएको खुद ब्याज, कमिसन तथा छुट र विदेशी मुद्रा कारोबारको आम्दानीको औसत निकाली त्यसको १० प्रतिशत बराबर पूँजी संचालन जोखिम व्यवस्थापनमा छुट्याउनुपर्छ। त्यो रकमबाट ठूला ब्याङ्कले यस्तो जोखिम धान्न सके पनि कम पूँजी र कारोबार भएका ब्याङ्कलाई समस्या पर्ने देखिन्छ।

मंसीरमा एचएण्डबी डेभलपमेन्ट ब्याङ्कको कुलेश्वर शाखा प्रमुख निरज नेपालले केही ग्राहकसँग मिलेर फर्जी गुड फर पेमेन्ट चेक जारी गर्दा ब्याङ्कलाई रु.१ अर्ब ५ करोड घाटा लागेको घटनालाई नै हेरौं। त्यो ब्याङ्कको चुक्ता पूँजी रु.८९ करोड मात्र रहेकाले उसले राष्ट्र ब्याङ्कले बनाइदिएको नियम अनुसारको रकमले मात्रै होइन पूरै पूँजीबाट पनि घाटा पूर्ति गर्न सक्दैन। किष्ट ब्याङ्कका नायव प्रमुख कार्यकारी अधिकृत बीएन घर्ती भन्छन्, “कुनै ऋणीले पैसा नतिर्दा धितोबाट असुल गर्न सकिन्छ, तर कर्मचारीको धितो नराखिने हुनाले उनीहरूप्रति धेरै नै सचेत हुनुपर्ने अवस्था छ।”

कर्मचारीबाट जोखिम आउन सक्ने सम्भावना देखेरै हिमालयन ब्याङ्कले हालै ५० हजार डेबिट कार्ड परिवर्तन गरेको छ। ब्याङ्कको कार्ड डिभिजनमै कार्यरत अनिषभक्त सुवालले रु.६ करोड हिनामिना गरेपछि ग्राहकको खाताको पैसा पनि झ्िक्न थाल्दा उसले कार्ड परिवर्तन गर्नुपरेको हो। भारतमा लुकेको अनुमान गरिएका सुवाललाई क्यासिनो जाने लतले बिगारेको रहस्य खुल्दैछ। सुवालले ग्राहकको खाताबाट आफ्नोमा पैसा सार्दै एटीएमको 'लिमिट' बढाएर राति पैसा निकाल्ने गरेका थिए। उनीसँग सबै ग्राहकको 'लग' बुक रहेको र त्यसैको माध्यमबाट भारतबाट पैसा निकाल्न सकेको बताइन्छ। नबिल ब्याङ्कको कार्ड सेन्टरमा कार्यरत दाजुभाइ सविन र रितेश रिमालले पनि गत वर्ष डाटा दुरुपयोग गर्दै पैसा हिनामिना गरेका थिए। एटीएम कार्ड र त्यसको पिन नम्बर प्रिन्ट गर्ने जिम्मेवारी एकै जनालाई दिएकाले त्यो घटना भएको ब्याङ्क अधिकारीहरूको भनाइ छ। त्यो घटनापछि अहिले पिन नम्बर र कार्ड प्रिन्ट गर्ने जिम्मेवारी एकै जनालाई दिइँदैन।

दक्ष कर्मचारीको अभाव

२०६२/६३ पछि ब्याङ्कका शाखा विस्तार तीव्र हुँदा कर्मचारी पनि बढेका छन् र दक्ष नभइसकेका कर्मचारीले उच्च जिम्मेवारी पाएका छन्। दोस्रो जनआन्दोलनसम्म वाणिज्य ब्याङ्कहरूका शाखा ३८१ रहेकोमा अहिले १५०० पुग्नुले नै विस्तारको गति र आकार देखाउँछ। किष्ट ब्याङ्कका नायब महाप्रबन्धक घर्ती ६/७ वर्षमा ११०० शाखा प्रमुख तथा त्यति नै सञ्चालन र कर्जा अधिकृत गरी ३३०० महत्वपूर्ण पद थपिएकाले दक्ष कर्मचारीको अभाव भएको र दक्ष नभइसकेकालाई महत्वपूर्ण जिम्मेवारी दिनुपरेको बताउँछन्।

पछिल्लो ६/७ वर्षमा ९ हजारभन्दा बढीले ब्याङ्कहरूमा सहायक तथा अधिकृत तहको जागिर पाएका छन्। अधिकांश ब्याङ्कले बजार विस्तारमा ध्यान केन्द्रित गरेकाले नयाँ कर्मचारीलाई तालीम दिन भ्याएका छैनन्। ब्याङ्करहरूका अनुसार, दक्ष नभइसकेका कर्मचारीका कारण पनि ब्याङ्कको जोखिम बढेको हो।

इन्टरनेट ब्याङ्किङको जोखिम अरूभन्दा उच्च रहेको ब्याङ्करहरूको भनाइ छ। इन्टरनेटमार्फत ठगी गर्ने गिरोहले ग्राहकलाई लोभ देखाउँदै ब्याङ्कले जसरी नै लिंक राखेर आईडी र पासवर्ड माग्न 'फिसिङ म्यासेज' पठाउने गरेका छन्। नबिल ब्याङ्कका कार्ड तथा ई–ब्याङ्किङ प्रमुख निरज शर्मा भन्छन्, “तिनीहरूले पठाएको लिंक खोल्दा ब्याङ्कसँग मिल्दो पेज देखिए पनि ब्याङ्कले कहिल्यै इमेलबाट पासवर्ड माग्दैन भन्ने सम्झिरहनुपर्छ।” उनका अनुसार, त्यस्तो लिंकमा ब्याङ्कको जस्तै पेज देखिए पनि एड्रेसबारमा ब्याङ्कको नाम भने हुँदैन र यो थाहा भए कोही ठगिनुपर्दैन।

नेपालका धेरैजसो ब्याङ्कहरूले चलाउने 'म्याग्नेटिक स्ट्रिप्स' कार्डको डुब्लिकेट सजिलै बनाउन सकिने ठगहरूलाई पनि थाहा छ। त्यही कारण राष्ट्र ब्याङ्कले दुई वर्षभित्रै सबै ब्याङ्कहरूलाई चिप्स प्रविधिमा आधारित कार्ड प्रयोगमा ल्याउन सर्कुलर पनि गरेको छ। चिप्सलाई पढ्न सक्ने मेसिन नपाइने हुनाले डुब्लिकेट बनाउन पनि सकिंदैन। हिमालयन ब्याङ्कले केही समयअघि नै यो प्रविधिमा आधारित कार्ड बनाइसकेको छ भने अरू ब्याङ्क पनि यही दिशामा छन्।

comments powered by Disqus

रमझम