'गरिखान देऊ'

Share:
  
क्यान्टोन्मेन्टबाट घर फिरेका माओवादीका धेरै पूर्वलडाकू अहिले गाउँ–शहरमा गरिखाने प्रयासमा जुटेका भेटिन्छन्।

रोहित र वीरु।
माओवादीका पूर्वलडाकू रोहित राई र वीरु लिम्बूले झापाको दमकस्थित इलाका प्रहरी कार्यालयको गेट नजिकै होटल चलाएका छन्। हिंसात्मक 'जनयुद्ध' कालमा कसैले जाँडरक्सी खाएको सुनेको भरमा पार्टी निर्णय भन्दै संस्कृति र उमेरको समेत ख्याल नगरी जोसुकैमाथि भाटे कारबाही गर्न नचुकेका रोहित र वीरु अहिले आफैं मदिराजन्य पदार्थ बिक्री गर्छन्। आज उनीहरूको एउटै सपनाजपना छ– गरिखान पाए पुग्यो। “पुराना कुरा सम्झिन मन छैन, पढाइ छोडियो र उमेर पनि बित्यो”, रोहित भन्छन्, “अब ढुक्कले गरिखान पाए पुग्छ।”

जलथलका डिल्लीप्रसाद चौलागाईं पनि जसोतसो गरिखाने कोशिशमा छन्। पार्टी सिद्धान्त अनुसार, 'बुर्जुवा शिक्षा नलिने' भन्दै ११ वर्षअघि फ्याँकेका किताब फेरि पल्टाएका उनले ३२ वर्षको उमेरमा गत वर्ष एसएलसी पनि उत्तीर्ण गरे। अहिले उनी पुरानै हलो–कोदालोमा जुटेका छन्। तर, १५ जनाको परिवार भएका उनीसँग जलथलमा १० कट्ठा मात्र जमिन छ। भन्छन्, “राज्य विरुद्ध आठ वर्ष बन्दूक बोकेर हिंडियो, अहिले गरिखानलाई अर्काको जमिन अधियाँ खोज्नुपरेको छ।”

माओवादी लडाकूको दोस्रो डिभिजन सिन्धुली शिविरबाट बाटो खर्च लिएर गाउँ पुग्दा डिल्लीप्रसादले धेरै परिवर्तन देखे। उनका साथीहरूमध्ये कोही अरब त कोही मलेशियाबाट कमाएर पठाइरहेका थिए। पढाइमा तेज रहेकामध्ये कोही शिक्षक त कोही सरकारी जागिरे भएका थिए। कसैले गच्छेअनुसार गाउँमै पसल चलाएका थिए। “आखिर गरिखानै पर्दोरहेछ” १ चैतमा भेटिएका डिल्लीले भने, “तर, गरिखाने दौडमा धेरै पछाडि परिएछ।”

गोपाल।

खुदुनाबारीको साधुटार डाँडा फेदीमा झुप्रो हालेर बसेका गोपाल दर्जीको पनि अवस्था उही छ। २०५४ सालमा 'जनमुक्तिको लागि' 'जनयुद्ध'मा होमिएका उनीसँग अहिले पाँच जनाको परिवार र लुगा सिलाउने एउटा सिलाइ मेशिन छ। पार्टीको लडाकू दस्तामा सामेल भएपछि सात वर्ष कम्मरमा रिभल्बर नटुटाएका गोपाल भन्छन्, “पातमाथि ज्यान राखेर पार्टीको आदेश तामेल गरियो, तर त्यो त सब छलछामको खेल रहेछ।”

युद्धकालमा अरूलाई मारपिट गरेको अनुभव धेरै छ, गोपालसँग। ५ मंसीर २०६३ मा शान्ति सम्झौता भएपछि शिविरमा बास शुरू भयो। गोपालकी श्रीमती देवी लुगा सिलाउन जान्दछिन् भन्ने कुरा लडाकू शिविरमा थाहा थियो। लडाकू शिविरमा लुगा सिलाउने कामदारको पनि खाँचो थियो। माओवाद र युद्ध नजानेकी देवीलाई 'हाकिम कमरेड'को आदेशमा गोपालले दुवै बच्चासाथ तीन वर्ष शिविर बसाए। शिविरको सिलाइको काममा रातोदिन जोतिनुपर्थ्यो। “ढिलो गरी चाल पाएँ” गोपाल भन्छन्, “केटाकेटीको पढाइ बिग्रियो, मेरो परिवार त क्यान्टोन्मेण्टको दमाई पो भएछ!”

डिल्ली।

गाउँमा पुरानो सम्बन्ध बढाएर गरिखाने सुरमा रहेका गोपाल परिवारको जग बसाल्ने युवा उमेर पार्टीले जफत गरिदिएको अहिले थाहा पाएको बताउँछन्। तर, उनलाई पार्टीको सबभन्दा घातक प्रहार चाहिं चेक खोसिएको घटना नै लागेको छ। स्वेच्छिक अवकाश लिएर गत वर्ष घर फिरेका पूर्व लडाकूहरूलाई राज्यले दिएको चेक शिविरकै कमाण्डरहरूले खोसेका थिए। “हामी क्यान्टोन्मेण्टभित्रै लुटियौं”, गोपाल भन्छन्, “जसको आदेशमा मर्न र मार्न तयार भइन्थ्यो, तिनैले लुटे।”

गोपाल गडतौला, झापा

comments powered by Disqus

रमझम