२५ चैत्र २०६९ | 7 April 2013

पाइँदैनन् गाई

Share:
  
- प्रभात भट्टराई
व्यावसायिक गाईपालनमा लाग्न चाहने किसान उन्नत नश्लका गाई नपाएर हैरान छन्।

गाईपालनलाई आधुनिक बनाउने किसानको प्रयासमा अहिले उन्नत गाईको अभाव नै सबैभन्दा ठूलो तगारो बनेको छ। गोठलगायत पूर्वाधारको चाँजोपाँजो मिलाइसक्दा पनि चाहे जस्ता गाई नपाउँदा किसानहरू मन्त्री र सरकारका उच्च अधिकारीहरूलाई गुहारिरहेका छन्, तर ती ठाउँबाट पनि निराशाबाहेक उनीहरूलाई केही हात लागेको छैन।

छिमेकी भारत र चीनले गाई निर्यातमा प्रतिबन्ध लगाउँदा नेपाली किसानले यो सास्ती बेहोर्नुपरेको हो। तराई क्षेत्रका किसानले चोर बाटोबाट भारतका केही उन्नत गाई ल्याए पनि पहाडी भेगका लागि तीभन्दा चीनका उपयुक्त हुने जानकार किसानहरूको भनाइ छ। जबकि, कडा सुरक्षा व्यवस्था रहेको नेपाल―तिब्बत सीमाबाट अनुमति विना गाई छिराउन सम्भव छैन। दोलखाको कालिन्चोक काउ फार्म एण्ड रिसर्च सेन्टरका सञ्चालक लालकुमार केसी चीनका किसान नेपालीलाई गाई बेच्न तयार रहे पनि नेपाल सरकारले कूटनीतिक पहल अघि बढाउँदा मात्र त्यो सम्भव हुने बताउँछन्। १० हजार गाई पाल्ने क्षमताको दोलखाको त्यो फार्म आउँदो भदौ/असोजदेखि ५०० बाट सञ्चालन गर्ने योजना त छ तर अहिलेसम्म भने जस्ता गाई पाइएको छैन।

उपलब्धिविहीन ५० वर्ष

सरकारले गाईको नश्ल सुधारका लागि ५० वर्षदेखि कृत्रिम गर्भाधान (एआई) लगायत कार्यक्रम थाले पनि उपलब्धि देखिंदैन। त्यही कारण हो, वार्षिक १६ लाख मेटि्रक टन दूध उत्पादन हुँदा ७० प्रतिशत योगदान भैंसीको रहेको। जबकि, नेपालमा ५१ लाख ४० हजार भैंसी छन् भने ७२ लाख ४९ हजार गाई। र, उन्नत जातको एउटा गाईले भैंसीले भन्दा दोब्बर दूध दिन्छ। पशुसेवा विभागका वरिष्ठ पशु विकास अधिकृत डा. लोकनाथ पौडेलका अनुसार नेपालका गाईमा १२ प्रतिशत मात्र उन्नत जर्सी र होलिस्टेन जातका छन् भने भैंसीमा २५ प्रतिशत उन्नत 'मुर्रा' नश्लका छन्।

स्वीस नागरिकहरूको सहयोगमा २०१४ मा दोलखाको जिरीमा स्थापित पशु विकास फार्ममा स्वीट्जरल्याण्डबाटै ब्राउन स्वीस जातका गाई ल्याइए पनि न ती फार्ममै फैलिए न त किसानका गोठमै पुगे। व्यावसायिक गाईपालन अभियानमा सक्रिय एमाले नेता पशुपति चौलागाईं सरकारी संयन्त्रबाट निजी क्षेत्रलाई प्रोत्साहन नगरिएकाले ती गाई फैलिन नसकेको बताउँदै भन्छन्, “कृषिलाई व्यावसायिक बनाउन पञ्चायतकालदेखिकै कर्मचारीतन्त्र र राजनीतिक नेतृत्वले चासो दिएनन्।” नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले काठमाडौंको खुमलटारमा गाई र सुनसरीको तरहरामा भैंसीको फार्म खोले पनि तिनले नश्ल सुधारमा योगदान पुर्‍याएनन् भने पोखराको पशु विकास फार्मले पनि योगदान दिन सकेन।

स्थानीय जातको एउटा गाईले एक बेतमा ५४० लिटर दूध दिन्छ भने उन्नत गाईले ८ हजार २३६ लिटरसम्म। उन्नत साँढे लागेको स्थानीय जातको गाईबाट जन्मेको बाच्छीले भने बेतको १ हजार ६५० लिटर दूध दिन्छ। पशु सेवा विभागका वरिष्ठ पशु विकास अधिकृत पौडेलका अनुसार, स्थानीय भैंसीले एक बेतमा ८५० लिटरसम्म दूध दिन्छ भने मुर्रा जातकोले तीन हजार लिटरसम्म।

संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठनले एक जना व्यक्तिलाई दैनिक २५० मिलिलिटर दूध आवश्यक रहेको बताएकोमा अहिले नेपालमा उत्पादित दूध प्रतिव्यक्ति १५० मिलिलिटर मात्र छ। यसले, मुलुकमा ४० प्रतिशत दूध अपुग रहेको देखाउँछ। यस्तै अर्को तथ्याङ्क अनुसार निजी क्षेत्रले खोलेका दुग्ध प्रशोधन केन्द्र पूर्ण क्षमतामा सञ्चालन हुन अझै दैनिक ५ लाख लिटर दूध आवश्यक छ। मनग्ये दूध उत्पादन गर्न सक्दा छिमेकी चीन, भारत र अन्य देशमा बिक्री गर्ने बाटो खुल्छ। गाई निर्यातमा प्रतिबन्ध लगाएर चीन र भारतले त्यहाँ दूध अभाव रहेको जनाउ दिएकाले दूध र दुग्धजन्य उत्पादनको छिमेकमै बजार रहेको स्पष्टै छ।

किसानको पहल

गाई नपाएर करोडौं रुपैयाँ लगानी भएका फार्महरू समेत राम्रोसँग चल्न नसकेपछि ब्रिडिङ (उन्नत बाच्छी उत्पादन) मा निजी क्षेत्र अघि सरेको छ। झ्ण्डै रु.३५ करोड लगानीमा बुटवलमा स्थापित लुम्बिनी एग्रो प्रोडक्ट एण्ड रिसर्च सेन्टरका सञ्चालक शशि पौडेल आउँदो वर्षदेखि वार्षिक एक/डेड सय बाच्छी उत्पादन गरेर बेच्न सक्ने बताउँछन्। उनको गोठमा अहिले २०० गाई र करीब सवा सय बाच्छी छन्।

अठाइ वर्षअघि फार्म शुरू गर्दा उन्नत गाई नभेटिएपछि ब्रिडिङ सेन्टर निर्माणमा लागेका पौडेल युएसएआईडीको सहयोगमा सञ्चालित डेरी क्याक्टल इम्प्रुभमेन्ट प्रोग्राम अन्तर्गत ल्याइएको सिमोन (वीर्य) धेरैजसो बाच्छी उत्पादन गर्ने प्रकारको रहेको बताउँछन्।

उन्नत बाच्छी पाउँदा गाईपालनबाट फाइदा हुने भए पनि त्यो ठूलो आकारमा नहुँदा लागत बढी पर्ने समस्या छ। दोलखाको कालिन्चोक काउ फार्मका सञ्चालक केसी त्यही कारण ठूलो परिमाणमा गाईपालन शुरू गर्न लागेको बताउँछन्। तर, ठूलो परिमाणमा पशुपालन गर्न लामो समयका लागि जग्गा लिजमा लिनुपर्ने र त्यसमा अनुदानसहितको सरकारी सहयोग आवश्यक हुने उनको भनाइ छ।

आधुनिक गाईपालनमा लामो समय उपलब्धि दिन नसकेको सरकारले पछिल्लो समय केही गर्न लागेको भने देखिंदैछ, जसले कृषि क्षेत्र र किसानलाई उत्साहित बनाएको छ। गत वर्षदेखि सरकारले २५ जिल्लामा शुरू गरेको पाँचवर्षे कृत्रिम गर्भाधान कार्यक्रममार्फत तीन लाख गाईमा कृत्रिम गर्भाधान गरिएको छ। यो वर्ष त्यो कार्यक्रम थप १० जिल्लामा पुर्‍याइएको र साढे तीन लाख गाईमा कृत्रिम गर्भाधान गर्ने लक्ष्य राखिएको वरिष्ठ पशु विकास अधिकृत पौडेल बताउँछन्। गर्भाधान गरिएका मध्ये आधा मात्र गाई ब्याए र ब्याउनेमध्ये आधाले बाच्छी पाए भने पनि यो वर्ष ८५/९० हजार उन्नत नश्लका गाई मुलुकमा थपिने देखिन्छ, जुन सकारात्मक संकेत हो। निजी क्षेत्रका फार्महरूको सहकार्यमा सरकारले यो कार्यक्रमलाई तीव्रता दिने हो भने आउँदो पाँच वर्षमा उन्नत गाईको अभाव हुने छैन भने दूध उत्पादनमा नेपालले लामो फड्को मार्नेछ।

comments powered by Disqus

रमझम