१२-१८ असार २०७३ | 26 June - 2 July 2016

प्लस टु संचालकका सुझाव

Share:
  

ईश्वर गुरुङ

संस्थापक प्राचार्य, मोलिस उच्चमावि, कुमारीपाटी

पढ्ने विषयको बारेमा बुझ्ोर मात्र कलेज छान्नुपर्छ। कस्ता शिक्षकले पढाउँछन्, कलेजले विद्यार्थीको कति हेरविचार गर्छ, कलेजको विगतको नतीजा, व्यवस्थापनको अवस्था कस्तो छ? बुझ्नुपर्छ। विद्यार्थीको चौतर्फी विकासको लागि कलेजले दिने सेवा तथा सुविधाको बारेमा अभिभावक र विद्यार्थी दुवै सचेत हुनुपर्छ। देशको विकासमा शिक्षाको नै योगदान हुने भएकोले शान्तिपूर्ण वातावरणमा रोकतोक, बन्द हड्ताल विना पढ्न–पढाउन पाउनुपर्छ।


कविराज राई

प्रमुख कार्यकारी निर्देशक, आइन्सटाइन एकेडेमी, सातदोबाटो

विद्यार्थीले पढ्ने विषय छान्दा रुचि र क्षमतामा ध्यान दिनुपर्छ। रुचि मात्र भएर नहुने भएकोले आफूले पढ्न सक्ने या नसक्ने विषयमा सोच्नुपर्छ। कतिपय अभिभावक र विद्यार्थीको रुचि फरक हुने भएकोले दुवैबीच कुन विषय पढ्ने भनेर छलफल गरेर निर्णय गर्नुपर्दछ। प्लस टुको शिक्षा भनेको भविष्यमा कुन पेशामा लाग्ने भनेर तय गर्ने आधार भएकोले यसमा थप सचेत हुनुपर्छ।


सुरेन्द्र सिटौला

चियरम्यान, वाग्मती मोडर्न कलेज, सुकेधारा

कलेजबाट पढेर निस्कँदा विद्यार्थीले जीवनोपयोगी सीप के सिक्यो भन्ने कुरा महत्वपूर्ण हुन्छ। पढ्दा कस्तो संस्कार पायो, जीवनको लागि आवश्यक कस्तो आयाम सिक्यो भन्ने हुन्छ। त्यसैले कलेजको वातावरण, पूर्वाधार, अध्यापन पद्धति, नतीजामा ध्यान दिनुपर्छ। विषय छनोट र पढाइमा उत्कृष्ट हुनको लागि कलेजले दिने सिकाइ र सल्लाहको प्रमुख भूमिका हुने भएकोलेे कलेजले पनि यसमा ध्यान दिनुपर्छ।


राजकुमार राई

प्राचार्य, ग्रामर कलेज, कोटेश्वर

अन्तर्राष्ट्रिय स्तरमा प्रचलित मान्यता अनुसारको ग्रेडिङ पद्धतिमा नतीजा प्रकाशनको थालनीले शिक्षा क्षेत्रमा नयाँ आयाम थपेको छ। यो पद्धतिबारे विद्यार्थी, अभिभावक, शैक्षिक संस्था पनि अन्योलमा छन्। प्रायःजसो विद्यार्थीले कक्षा ११ पढ्न पाउने भए पनि उनीहरुलाई विषय, ग्रेडिङको बारेमा परामर्शको आवश्यकता छ। विद्यार्थीले पढ्ने विषय छान्दा साथीभाइ, अभिभावक, शिक्षक सबैसँग छलफल गरेर आफ्नो रुचिको विषय छान्नुपर्छ।


हरि लामिछाने

प्राचार्य, क्यापिटल कलेज एण्ड रिसर्च सेन्टर, कोटेश्वर

विद्यार्थीले कलेज छान्दा शिक्षकको टीम, रिजल्ट, कलेजबाट उत्तीर्ण विद्यार्थीको अवस्थाबारे जानकारी लिनुपर्छ। कलेजमा पढेका विद्यार्थी, अभिभावकको अनुभवका साथै उपलब्ध सेवा, सुविधा, वातावरणमा पनि ध्यान दिनुपर्छ। शिक्षा भनेको जीवनभरको लागि हुने हुँदा विद्यार्थीलाई समाजप्रति उत्तरदायी बनाउने, मानवीय मूल्य, मान्यता बुझाउने खालको हुनुपर्छ। आफूले पढ्न सक्ने र रुचिको विषयलाई विद्यार्थीले प्राथमिकता दिनुपर्छ।


राजेन्द्र अधिकारी

संस्थापक प्राचार्य, नवोदित कलेज, सामाखुशी

अहिलेको समयमा सैद्धान्तिक ज्ञानसहितको व्यावहारिक शिक्षा आवश्यक छ। होटल म्यानेजमेन्ट, ट्राभल एण्ड टुरिजम्, कम्प्युटर साइन्स, पत्रकारिता लगायतको अध्यापन अत्यावश्यक छ। व्यावहारिक शिक्षामा जोड दिंदा विद्यार्थीले गुणस्तरीयसँगै जीवनोपयोगी शिक्षा पाउँछन्। जसबाट विद्यार्थीहरु व्यावहारिक नागरिक बन्न सक्छन्। गुणस्तरीय शिक्षा प्रदान गर्नेसँगै विद्यार्थीको मनोविज्ञान बुझ्ोर अध्यापन गर्ने कलेज छान्नु उपयुक्त हुन्छ।


नन्दुप्रसाद कुशवाह

सह–प्राचार्य, रिलायन्स एकेडेमी, सरस्वतीनगर, चाबहिल

नतीजा ग्रेडिङ प्रणालीबाट आउँदा धेरै अभिभावक र विद्यार्थी अन्योलमा छन्। कुन विषयमा कति आउँदा कुन विषय पढ्न पाइन्छ भन्नेमा देखिएको द्विविधा हटाउन परामर्श आवश्यक छ। विद्यार्थीले के पढ्न सक्छु के सक्दिनँ भनेर निर्णय लिनुपर्छ। अबको पढाइ भनेको भविष्य सुनिश्चित गर्ने आधार पनि भएकोले अभिभावक तथा विद्यार्थीले विषय र कलेज छनोटमा विशेष ध्यान दिनुपर्छ।


सुरेन्द्र सुवेदी

प्राचार्य, केएमसी नेशनल कलेज, बालकुमारी

विद्यार्थीले कलेज छान्दा यसअघिको पढाइको अवस्था, त्यहाँ पढेका विद्यार्थी कस्ता भएर निस्किए भन्नेमा ध्यान दिनुपर्छ। अनुशासनमा कडाइ गर्ने, विद्यार्थीलाई व्यक्तिगत रुपमा ध्यान र परामर्श दिने कलेज छान्नुपर्छ। विद्यार्थीलाई सजिलो हुने र अतिरिक्त सेवासुविधा उपलब्ध गराउने घर नजिकको कलेज छान्नुपर्छ। प्लस टुको पढाइले जीवनको 'रोड म्याप' बनाउने हुनाले कस्तो जीवन चलाउने हो, त्यो सोचेर विषय छान्नुपर्छ।


प्रज्वल बानियाँ क्षेत्री

निर्देशक, एनसीसीएस उच्च मावि, पकनाजोल

प्लस टुको शिक्षाले ब्याचलरमा के पढ्ने भनेर 'ब्रिज' को काम गर्छ। त्यसैले विद्यार्थीले आफ्नो 'लेभल' थाहा पाएर विषय छनोट गर्नुपर्छ। कलेजमा कुन तरीकाले पढाइ हुन्छ, यसअघिको नतीजा कस्तो छ, प्रयोगात्मक ज्ञानलाई कत्तिको प्राथमिकता दिइन्छ भनेर हेर्नुपर्छ। शिक्षा पद्धतिलाई अन्तर्राष्ट्रिय प्रचलन अनुसारको बनाउन नयाँ प्रणाली शुरु गरिएको छ। यसको अन्योल हटाउन परामर्श आवश्यक छ।


मदन शाक्य

प्राचार्य, टि्रटन इन्टरनेशनल कलेज

विद्यार्थीले कलेज छान्दा त्यसको भौतिक सुविधाभन्दा शैक्षिक वातावरण र स्तर कस्तो छ भन्ने नियाल्नुपर्छ। त्यहाँ कस्ता शिक्षकले पढाउँछन्, विगतको परीक्षाफल कस्तो छ, व्यावहारिक शिक्षाका लागि आवश्यक प्रयोगशालाहरूको अवस्था कस्तो छ बुझ्ोर मात्रै भर्ना हुने निर्णय गर्नुपर्छ। पढाइसँगै अतिरिक्त क्रियाकलापलाई कत्तिको महत्व दिएको छ, हेर्नुपर्छ। कलेजले विद्यार्थीलाई शैक्षिक वातावरण नखल्बलिने कुरामा ग्यारेन्टी गर्न सक्नुपर्छ।


डा. एसपी सिंह

अध्यक्ष, पेन्टागन इन्टरनेशनल कलेज

हामीकहाँ विज्ञान, व्यवस्थापन र मानविकी संकायमा पढाइ हुन्छ। यसपालि विद्यार्थीले विज्ञान र व्यवस्थापन विषयमा बढी चासो देखाइरहेका छन्। जुन विषय पढे पनि त्यसलाई व्यवहारमा उतार्न जाने पढाइ अर्थपूर्ण हुन्छ। विद्यार्थीले आफ्नो रुचि र कक्षा १० को 'पर्फमेन्स' अनुसार प्लस टुमा विषय रोज्नुपर्छ। व्यावहारिक शिक्षाको जमाना भएकाले पूर्वाधारयुक्त ल्याब, पुस्तकालय आदि भएको कलेज रोज्नुपर्छ।


विष्णुहरि न्यौपाने

प्राचार्य, हिमालय विद्यामन्दिर उमावि

ग्रेडिङ पद्धतिबारे कतिपय शिक्षक, अभिभावक र विद्यार्थी अन्योलमा छन्। वास्तवमा यो जटिल कुरा होइन, अंकलाई अक्षरमा रुपान्तरण गरेको मात्र हो। यो पद्धतिले नेपालको शैक्षिक अवस्था सुधार्न सक्छ। तर, त्यसका लागि नियमन निकायले सशक्त रूपमा काम गर्नुपर्छ। यो प्रणालीलाई जाँचमा मात्रै होइन कक्षाकोठामा समेत लागू गराउनुपर्छ। विद्यार्थीको अन्तर्निहित क्षमतालाई उजागर गर्न यो शैक्षिक प्रणाली उपयुक्त छ।


रेशबहादुर बस्नेत

प्राचार्य, के एण्ड के कलेज

जीपीए प्रणालीले यसपालि निकै सजिलो गराइदिएको छ। हामीले केही मापदण्ड छुट्याइदिएका छौं, जस्तो– विज्ञान पढ्नेले न्यूनतम सी ग्रेड ल्याएको हुनुपर्छ। यो प्रणालीले भर्ना गर्न/गराउन सजिलो भएको छ। विद्यार्थी र शैक्षिक संस्था दुवैको हितमा भएकाले यो प्रणाली आफैंमा राम्रो छ। विद्यार्थीले कक्षा १० मै अनुत्तीर्ण भएर पढाइ रोक्ने, फेरि पढ्नुपर्ने जस्ता समस्या हटेको छ।


डा. बाबुराम पोखरेल

अध्यक्ष, भीएस निकेतन उमावि

अबको पढाइ 'डिजिटल' प्रणालीबाट हुनुपर्छ भन्ने लागेर हामीले त्यसका लागि वातावरण बनाइरहेका छौं। सूचनाप्रविधिको प्रयोग अध्ययन–अध्यापनमा पनि गर्न सकिन्छ। स्मार्ट बोर्ड र डिजिटल कक्षाकोठाको प्रावधान यसपालिबाट हामीले शुरु गरिसक्यौं। अनलाइनबाटै पढ्ने–पढाउने तरीका अपनाउँदा विद्यार्थी र शिक्षक दुवै 'एक्टिभ' हुन्छन्। ग्रेडिङ प्रणाली पनि डिजिटल अध्यापनसँगै जोडिन आउँछ।


कृष्णप्रसाद धन्छा

प्राचार्य, वागीश्वरी उमावि

विद्यार्थीले आफ्नो रुचि अनुसारको विषय छानेर मिहिनेतसाथ पढे प्लस टु शिक्षामा पनि राम्रो नतीजा ल्याउन सक्छन्। क्याम्पसले पनि विद्यार्थीको पढाइमा उत्साह थप्न के, कस्तो कार्यनीति अपनाउनुपर्ने हो, विचार पुर्‍याउनुपर्छ। सामुदायिक विद्यालयमा अब्बल नतीजा निकाल्दै आएका हामीले उमाविमा पनि यही नतीजा निकाल्ने लक्ष्य राखेका छौं। हामीकहाँ प्राविधिक विषय रोज्ने विद्यार्थीको चाप बढी छ।


केशवप्रसाद जोशी

प्राचार्य, अरुणिमा कलेज

अघिल्ला वर्षभन्दा यसपालि प्लस टु सञ्चालकहरूलाई बढी चटारो छ। एसएलसीमा नयाँ मापन प्रणाली र उमावि खारेज हुने कुराले अभिभावक र विद्यार्थीलाई अन्योलमा पारेको छ। अभिभावकहरू 'कस्तो व्यवस्था आउन लागेको?' भन्ने अवस्थामा छन् भने विद्यार्थीलाई कुन विषयमा कति ग्रेड ल्याउँदा के पढ्न पाइन्छ भन्ने द्विविधा छ। त्यो कौतुहल मेटाउन हामीले निकै कसरत गर्नुपर्ने भएको छ।


इन्द्रबहादुर मल्ल

प्राचार्य, नेशनल इन्टिग्रेटेड कलेज

हामीले उमावि सञ्चालन गरेको १५ वर्ष भइसक्यो। शुरु र अहिलेका विद्यार्थीमा ठूलो अन्तर आएको छ। अहिलेका विद्यार्थीलाई थोरै 'गाइडलाइन' मात्रै दिए पुग्छ। पहिले विद्यार्थी के पढ्ने, कहाँ पढ्ने भन्नेबारे त्यति जानकार हुँदैनथे। अहिलेका विद्यार्थी पछिको योजना गमेर नै विषय छान्ने गरेका छन्। तर, यसको अर्थ उनीहरुलाई सल्लाह जरुरी छैन भन्ने होइन।


बासुकीराज रेग्मी

प्राचार्य, चाणक्य उमावि

विद्यार्थीले पढाइ र कडाइ दुवै राम्रो भएको कलेज छान्नुपर्छ। पढाइसँगै अनुशासनमा जोड दिने कलेज भए विद्यार्थीको सर्वाङ्गीण विकासमा सहयोग पुग्छ। पढाउने होइन, सिकाउने शिक्षक भएको ठाउँमा भर्ना हुनुपर्छ। पढाउने शिक्षक विद्यार्थीप्रति जिम्मेवार नहुन सक्छन्। सिकाउने शिक्षक जहाँ छन्, त्यही कलेज उत्कृष्ट हुन्छ। सूचनाप्रविधिको जमानामा यी कुरा थाहा पाउन उति दुःख गर्नुपर्दैन।


नरेन्द्र अधिकारी

सीईओ, हिमालय कलेज

शैक्षिक व्यवस्था परिवर्तन गरेकाले केही विद्यार्थी आत्तिएका छन्। हामी अहिले कुन विषयमा के गे्रड ल्याएकोले कुन विषय पढ्न पाइन्छ भनेर कुरा बुझ्ााउनमै तल्लीन छौं। विगतको नतीजा राम्रो भएकाले हामीकहाँ विद्यार्थीको चाप पनि छ। मन्टेसरीदेखि मास्टर्ससम्म पढाइ हुने भएकाले पनि हामीकहाँ पढ्न खोज्ने धेरै छन्। यसपालिबाट प्रविधिमा आधारित शिक्षा दिने जमर्काे गरेका छौं।


नवीन श्रेष्ठ

प्राचार्य, क्याम्पेन एकेडेमी

आजकाल पठनपाठनसँगै अतिरिक्त क्रियाकलापमा पनि विद्यार्थीले ध्यान दिन थालेका छन्। उनीहरूको चासोलाई मध्यनजर गर्दै हामीले कलेज परिसरमै फूटसल स्थापना गरेका छौं। बहुआयामिक पद्धतिमा अध्यापन पद्धति छानेका छौं। अहिले विद्यार्थीमा कहाँ पढ्नेभन्दा पनि कुन विषय छान्ने भन्नेमा द्विविधा देखिएको छ। कक्षा ९, १० मै उनीहरूलाई करियर काउन्सिलिङ गर्दा यो अन्योल हट्छ।


पीताम्बर पन्त

सह–प्राचार्य, ओमेगा कलेज

कुनै पनि विषय सजिलो वा अप्ठ्यारो हुँदैन। विद्यार्थी मानविकी र व्यवस्थापनलाई सजिला विषय ठानेर यसमै भर्ना हुने पनि गर्छन्, तर यसले कालान्तरमा साह्रै समस्या ल्याइदिन्छ। तसर्थ, विद्यार्थीले राम्रो वातावरण भएको कलेजमा आफ्नो रुचि र प्राप्तांक अनुसारकै विषय छान्नुपर्छ। हामी उत्कृष्ट विद्यार्थी मात्रै नभएर औसतलाई पनि भर्ना लिन्छौं। औसतलाई उत्कृष्ट बनाउनु हाम्रो लक्ष्य हो।


एकराज बस्याल

प्राचार्य, माइलस्टोन कलेज

उपत्यका बाहिरका विद्यार्थी प्रायः मानविकी संकायतिर लाग्ने र भित्रकाहरू विज्ञान र व्यवस्थापनमा झुम्मिने चलन छ। तर, साथीभाइको लहलहै र अभिभावकको जोडबलका कारण विषय वा संकाय छान्ने क्रम अहिले घटेको छ। विद्यार्थी कति बाठा भएका छन् भने आफ्नो लक्ष्य वा उद्देश्य पहिल्याएर त्यही अनुसार पढ्न तत्पर भएका छन्। उनीहरूलाई पुरानो ढाँचामा पढाएर अब काम चल्दैन।


डा. राजेन्द्र केसी

प्राचार्य, साउथ वेस्टर्न स्टेट कलेज

अन्य देशले उहिल्यै अवलम्बन गरिसकेको अक्षरांकन प्रणाली ल्याएर मात्रै हाम्रो शैक्षिक स्तर उकासिने होइन। बरु, पाठ्यक्रममा देशको आवश्यकता र साधन–स्रोत अनुसारका विषय थप्न सके राम्रो हुन्छ। हामी पाठ्यक्रमबाहेकका विषयहरू जस्तो– योग, सुपर लर्निङ, केस स्टडी आदि पनि अध्यापन गराउँछौं। गरिखाने शिक्षा दिन सके विद्यार्थी, अभिभावक र सबैका लागि ठूलो उपलब्धि हुन्छ।


प्रा.डा. श्रीराम भगत माथेमा

अध्यक्ष तथा प्राचार्य, जेभियर एकेडेमी

विद्यार्थीले दीर्घकालीन योजना बनाउनुपर्छ। त्यो सकिंदैन भने आफूलाई केमा झुकाव छ, त्यो जान्नुपर्‍यो। यो पनि थाहा छैन भने कक्षा १० मा छँदा आफूलाई कुन विषय मनपर्थ्यो, त्यो सम्झिनुपर्छ। यी तीन कुरालाई 'पारामिटर' मानेर प्लस टुको संकाय वा विषय छान्दा पछुताउनुपर्दैन। तर, अहिलेका विद्यार्थीमध्ये केहीलाई मात्र द्विविधा हुन्छ।


आनन्दकुमार यादव

प्राचार्य, रिट कलेज

हामीले तीन वर्षदेखि कानून पढाइरहेका छौं। अन्य निजी कलेजहरूमा यो विषय खासै नहुने भएकाले हामीकहाँ धेरै चाप हुन्छ। नेपालमा कानूनी शिक्षाको उपयोगिता र अवसर धेरै छ। यही कारण निकै मिहिनेत गर्नुपर्ने विषय भए पनि धेरैले कानून रोज्न थालेका छन्। तर, हामी उद्देश्य पहिल्याएर मात्रै विषय र कलेज छान्न सल्लाह दिन्छौं।


भेषराज पोखरेल

उच्च शिक्षा निर्देशक, टेक्सास इन्टरनेशनल कलेज

प्रतिशतमा नतीजा आउँदा जान्ने र नजान्नेको खाडल थियो, अक्षरांक प्रणालीले एकरुपता ल्याएको छ। ढिलै भए पनि गे्रडिङ प्रद्धति अपनाइएको छ। यसले शिक्षा क्षेत्रमा पक्कै सकारात्मक परिवर्तन ल्याउला। प्लस टु पढ्नेलाई हामी शिक्षा, कौशल र व्यवहार माझ्ने विद्यालय रोज्न सल्लाह दिन्छौं। बाहिरबाट हेर्दा भौतिक झिलिमिली देखिने कलेजमा शिक्षा, कौशल र व्यवहार माझ्ने वातावरण नहुन सक्छ।


इन्द्रप्रसाद सुवेदी

कार्यकारी निर्देशक, किस्ट कलेज

प्लस टु सञ्चालनमा २१ वर्षको अनुभव हासिल गरिसकेकाले हामी विद्यार्थीको सर्वाङ्गीण विकासका लागि के–के चाहिन्छ भन्नेमा प्रष्ट छौं। कलेज भवन, पुस्तकालय, प्रयोगशाला, खेल–मैदान र विशेष गरी 'टिचिङ फ्याकल्टी' लाई गुणस्तरीय बनाएका छौं। विद्यार्थीलाई विषय छान्दा सबैको सल्लाह लिई आफ्नो निर्णय गर्न सुझाव दिन्छौं। रुचि र प्राप्तांकका आधारमा निर्णय लिनुपर्छ ।

comments powered by Disqus

रमझम