१२-१८ असार २०७३ | 26 June - 2 July 2016

करबलको पेशा

Share:
  
सञ्चार सुविधा नपुगेको पूर्वी रुकुममा खुशीले नभई करले कटुवाल पेशा कायम छ।

रुकुमको हुकाम– ९, मयाङका फत्यलाल दमाई ६७ वर्षका भए। उनलाई राम्ररी हिंडडुल गर्न, देख्न र सुन्न पनि गाह्रो पर्छ, तर एक गाउँको सूचना अर्कोमा पुर्‍याउने र डाँडामा गएर 'घोक' हाल्ने कटुवाल पेशाबाट मुक्ति पाएका छैनन्। कसै विरुद्ध गाउँमा उजुरी परे पक्राउ गर्ने (बोलाएर ल्याउने) 'अख्तियारी' समेत उनीमा छ। “दुई वर्ष भयो अब म सक्तिनँ भनेको” दमाई भन्छन्, “तर, गाउँलेले अर्को कटुवाल नछान्दा मलाई पीर परेको छ।”

फत्यलालले करीब २५० घरधुरीमा सूचना पुर्‍याउने जिम्मेवारी लिएको ३० वर्ष भयो। कटुवाल पेशाबाट उनले वार्षिक प्रति घर एकपाथी अन्न पाउँछन्। त्यसबाट भोक त टर्छ, तर औषधिमूलो र लत्ताकपडा जुट्दैन। यो पेशाबाट उनले छोराछोरी पढाउन पनि सकेनन्। उनका पाँच छोराछोरीको कलिलैमा बिहेबारी भयो। फत्यलाल दमाईकै जस्तो प्रथा पीडामा छन्, कोल गाविस–१ का करबहादुर विक (६४) पनि।

तस्वीरहरुः प्रविर ददेल
काँक्री–१, रुकुमका कालु कामी।

हुकाम– ९ रुकुमका फत्यलाल दमाई (६७)।

दैनिकजसो कराउँदा घाँटीमा रोग (क्यान्सर) लागेर आफ्ना बाबुको पनि मृत्यु भएको उनी बताउँछन्। “काम गर्न सक्तिनँ भनेको भन्यै छु, तर गाउँलेले मुक्ति दिएका छैनन्”, उनी भन्छन्।

करबहादुरका बाजे पनि कटुवाल थिए। बाजेले नसकेपछि, बाबुलाई अनि बाबुले पनि नसक्ने भएपछि ३० वर्षअघि आफूलाई कटुवाल बनाइएको उनी बताउँछन्। तर उनी छोरालाई यो पेशामा लगाउने पक्षमा छैनन्। गुजारा, सम्मान केही नभएको यो पेशामा आफू चाहिं फँसेको उनी बताउँछन्। रन्मामैकोट गाविसका सचिव तिलक रावल मोबाइल फोन सुविधा पुगे कटुवाल पेशा स्वतः हराउने बताउँछन्। तर, यो क्षेत्रमा त्यो सुविधा कहिले पुग्ने हो, थाहै छैन।

फोन सुविधा नपुगेका पूर्वी रुकुमका कोल, काँक्री, सिस्ने, तकसेरा, राङसी, मोरावाङ, रन्मामैकोट, महतलगायतका दुई दर्जन गाविसमा दलित समुदायका कटुवाल छन्। गाउँलेको सहमतिमा कटुवाल छान्ने परम्परा छ। कतिलाई करबलले पनि कटुवाल बनाइन्छ। उनीहरूले दिनरात नभनी गाउँमा आवश्यक सूचना प्रसार गर्नुपर्छ। तर, काम अनुसारको दाम नहुँदा गुजारा कठिन भएको कोल–२ का मनबहादुर विक (५१) बताउँछन्। “महीनामा २५ दिनसम्म कराउनुपर्छ”, उनी भन्छन्, “तर, सबैले दिनुपर्ने जति अन्न पनि दिंदैनन्, माग्न जाँदा उल्टै हप्कीदप्की गर्छन्।”

कोल– २ रुकुमका मनबहादुर विक (५१)।

कोल– १ रुकुमका करबहादुर विक (६४)।

तर, काम कति बढेको छ भने, तकसेरा–१ का भार्स कामी एक्लैले पाँच वटा गाउँमा सूचना पुर्‍याउनु परेको पाँच वर्ष भयो। कटुवालले गाउँमा भेला, बैठक र जनश्रमदानदेखि विवाह र मृत्युसम्मका सूचना प्रसार गर्नुपर्छ। गाउँलेले छानेका कटुवाललाई टोपी लगाइदिएर काम सुम्पने प्रचलन छ। यो जिम्मेवारी छोड्दा दोबाटोमा टोपी फाल्ने चलन छ। कटुवाल पेशाबाट मुक्त हुँदा झ्ाँक्री बसाउने चलन पनि छ।

डाँडामा गएर घोक हाल्दा (कराउँदा) नसुनिने गाउँटोलमा आफैं पुग्नुपर्छ। सरकारी तथा गैरसरकारी संस्थाहरूले पनि कटुवालहरूलाई नै उपयोग गर्ने गरेका छन्। काँक्री–८ का श्यामजी नेपालीका अनुसार सरकारी निकाय र गैर–सरकारी संघ–संस्थाले मतदाता नामावली संकलन, मतदाताको तस्वीर खिच्ने कार्यक्रम, खोप, पोलियो थोपा र हात्तीपाइले रोग विरुद्धको औषधि सम्बन्धी सूचना प्रसार गर्नुपर्छ। “तर, उनीहरू गाउँलेलाई आवश्यक सूचना भन्दै पारिश्रमिक दिंदैनन्”, श्यामजी भन्छन् ।

प्रविर ददेल

comments powered by Disqus

रमझम