१२-१८ असार २०७३ | 26 June - 2 July 2016

भुइँ सिंगार्ने कला

Share:
  

तपाईं काठमाडौंको केशरमहलस्थित 'गार्डेन अफ ड्रिम्स्' पुग्नुभएको छ भने त्यहाँको भूदृश्य निर्माण (ल्यान्डस्केप) आकर्षक लाग्न सक्छ। केशरशमशेरले निर्माण गराएको यो बगैंचा राजधानीकै भव्यमध्येमा पर्छ।

हिजोआज विभिन्न होटल, संघ–संस्था र व्यक्तिगत घरहरूमा पनि ल्यान्डस्केपिङका सुन्दर नमूना देख्न सकिन्छ। “ल्यान्डस्केपिङ गराउने क्रम अहिले निकै बढेको छ”, बाँसबारीस्थित द स्ट्यान्डर्ड नर्सरी क्रप–टेक नेपालका पंकज महर्जन भन्छन्, “घर वरिपरि ठाउँ नहुनेले छतमा समेत ल्यान्डस्केपिङ गराउने गरेका छन्।”

सुन्दर ल्यान्डस्केपिङ

सामान्यतया, भुइँ सिंगार्ने कला नै ल्यान्डस्केपिङ हो। जमीनको भू–भाग वा बगैंचामा रुख–बिरुवा रोप्ने, छहरा–फोहरा, कुवा वा सानो तलाउ बनाउने, बस्नका लागि मण्डप निर्माण गर्ने जस्ता कला ल्यान्डस्केपिङअन्तर्गत पर्छन्। यसले बगैंचाको सम्पूर्ण विशेषता जनाउँछ। ल्यान्डस्केपिङ गर्दा रुख–बिरुवाको छनोटदेखि प्रकाश र आर्द्रतासमेत संयोजन गरिन्छ। “कुनै ठाउँलाई प्राकृतिक र कृत्रिम दुवै रूपमा सुन्दर र रमणीय बनाउने विधि ल्यान्डस्केपिङ हो”, धुम्बाराहीस्थित काठमाडौं नर्सरीका कुमार कसजू भन्छन्, “यो प्राविधिक काम भएकाले दक्ष जनशक्ति वा इन्जिनियरकै सहयोग लिनुपर्छ।”

सबै जमीन ल्यान्डस्केपिङका लागि उपयुक्त नहुन सक्छ। यस्तो बेला जमीनको स्वरुप बदल्नुपर्छ। छत वा कोठाभित्र ल्यान्डस्केपिङ गर्दा माटो, ढुंगा, गिट्टी, रुख–बिरुवा, सिमेन्ट, बिजुली बत्ती आदिको बन्दोबस्त मिलाउनुपर्छ भने पानीको व्यवस्थाका लागि नालाहरू जोड्नुपर्छ। साधनस्रोत धेरै चाहिने र सृजनात्मक काम भएकाले ल्यान्डस्केपिङ महँगो पनि छ। “रु.२०/३० हजारदेखि रु.३० लाखसम्मको ल्यान्डस्केपिङ गरेका छौं”, द स्ट्यान्डर्ड नर्सरीका महर्जन भन्छन्। आफूहरुले गोकर्ण फरेस्ट रिसोर्ट, हिमालयन होटल, अमेरिकी दूतावास आदिमा ल्यान्डस्केपिङ गरेको महर्जन बताउँछन्।

यो विधिले बगैंचालाई नौलो र मनोहर रूप दिन मात्रै सघाउने नभई वातावरण सफा राख्न पनि मद्दत गर्छ। ल्यान्डस्केपिङ गर्दा घरको कम्पाउन्ड ढाक्ने खालका लहरे फूल रोपेमा भित्ता आकर्षक देखिन्छ। केही गमलालाई तार वा डोरीको सहायताले झुन्ड्याएर राख्न सकिन्छ भने बगैंचाछेउ भएका पार्किङस्थल, फोहोर राख्ने डब्बा आदि छेक्न काठको तख्ता बनाउनु उपयुक्त हुन्छ। ल्यान्डस्केपिङका लागि कुनै निश्चित क्षेत्रफल नचाहिने काठमाडौं नर्सरीका कसजू बताउँछन्। सानै ठाउँमा पनि आकर्षक भूदृश्य बनाउन सकिन्छ। “सुहाउँदो प्रजातिका रुख–बिरुवा र मौसमी फूल रोप्नुपर्छ”, उनी भन्छन्।

हेरचाह

ल्यान्डस्केपिङको निरन्तर हेरचाह गर्नुपर्छ। दैनिक सरसफाइ गर्नुपर्छ, पात–पतिङ्गर सोहोर्नुपर्छ। घाँसे मैदानमा उमि्रएका झार उखेल्नुपर्छ।

बगैंचामा कीरा मार्ने औषधि र जैविक मल प्रयोग गर्नुपर्छ। कस्ता बिरुवालाई कति मात्रामा पानी हाल्ने भन्नेबारे जानकारी राख्नुपर्छ। माटोलाई उर्बर बनाउन सघाउने गड्यौला मार्नुहुन्न। बगैंचाका मूर्ति, मण्डपलगायतका संरचनालाई महीनाको एकचोटि साबुन–पानीले पखाल्नुपर्छ। कुवा वा तलाउ बनाएको भए पानी सफा राख्ने विधि अपनाउनुपर्छ। बिरुवाहरू हलक्क बढेमा काटछाँट गर्नुपर्छ।

प्रस्तुतिः सजना बराल

comments powered by Disqus

रमझम