१ वैशाख २०७० | 14 April 2013

होली र विधवाको खाली सिउँदो

Share:
  
- तारा भट्टराई
रातो टीका र रातै वस्त्र एकल महिलालाई उपेक्षित र अपहेलित जीवनबाट मुक्ति दिलाउने पहिलो खुट्किलो भए पनि जीवनको अन्तिम विकल्प चाहिं होइन।

तस्वीर: बिलाश राई
म होली खेल्दिनँ, तर अरूले खेलेको हेर्न रमाइलै मान्छु। होलीलाई म द्वापरयुगमा श्रीकृष्णले राधा र सोह्र सय गोपिनीसँग मथुरालगायत वृन्दावन, नन्दगाउँ र व्रज क्षेत्रमा खेलेको होलीसँग आत्मसात गरेर हेर्छु। आज पनि त्यस क्षेत्रको होली विश्वभर चर्चित छ। यसैले त भगवान श्रीकृष्ण र राधाका अनुयायीहरू होलीमा त्यस क्षेत्रमा जान उत्साहित हुन्छन्।

यो वर्ष नेपालमा निकै सभ्य र संस्थागत रूपमा होली मनाएको अनुभूति गरें मैले। रङ्गकर्मीहरूले गुरुकुलको परम्परालाई निरन्तरता दिंदै तथा सिनेकर्मी र कलाकारहरू आपसमा जमघट भएर होली मनाए। यस्तै पोखराको लेकसाइडमा निकालिएको र्‍यालीमा आन्तरिक तथा बाह्य पर्यटकहरूले आपसमा रंग दलेर हर्ष–उमङ्गका साथ होली मनाए। काठमाडौंको टुँडिखेलमा त भारतमा झ्ैं भेटी, रंगपानीले भरेको घैंटो अग्लो ठाउँमा झ्ुण्ड्याइएर प्रतिस्पर्धा गर्दै नरिवलले फुटाएर होली मनाइयो। पछिल्ला वर्षमा नेपाल र भारतमा मात्र नभई अन्य मुलुकमा समेत विशेष समारोह गरी नृत्य र संगीतका साथ होली मनाउने क्रम बढेको छ।

परम्परालाई चुनौती

योभन्दा अलि पृथक् ढंगले परिवार र समाजबाट अपहेलित सयौं वृन्दावनवासी विधवा र रोल्पाका एकल महिलाले परम्परालाई चुनौती दिंदै पहिलोपटक छुट्टाछुट्टै परिवेशमा वृन्दावन र लिवाङमा उल्लासपूर्ण वातावरणमा रंग खेलेर होली मनाए। जुन यो वर्षकै सबैभन्दा उत्कृष्ट लाग्यो।

श्रीमान्को मृत्युपछि विधवालाई घरपरिवार र समाजमा अपशकुनी, अलच्छिनीको साथै परिवारको बोझ्का रूपमा हेर्ने चलन छ। हाँसो, श्रृंगार, रंगीन वस्त्र धारण मात्र होइन, विवाह, ब्रतवन्ध जस्ता शुभकार्यमा उनीहरूको उपस्थितिलाई अधिकांशले अझै पनि पचाउन सकेका छैनन्। परिवारबाट अपहेलित र त्यागिएका विधवाहरू वृन्दावनमा भजन–कीर्तन गर्दै यमुनाको किनारमा तीर्थयात्रीहरूसँग दान–दक्षिणा लिएर जीवनका बाँकी समय बिताउँदै छन्। उनीहरूका लागि स्थानीय सुलभ भन्ने संस्थाले होलीको कार्यक्रम आयोजना गरिदिएको रहेछ। श्रीमान्को मृत्युपछि आजीवन सेतोवस्त्र लगाएर, श्रृंगार विना कपालसमेत खौरेर रंगहीन जीवन बाँचिरहेका दुःखी नारीहरूले पहिलो पटक उल्लासमय रूपमा होली मनाएका हुन्।

यस्तै रोल्पामा पनि एकल महिलाले रातो वस्त्र, चुरा, धागो लगाउन नहुने परम्पराले पीडा दिएको भन्दै मानवअधिकारका लागि द्वन्द्वपीडित एकल महिला सञ्जालको अगुवाइमा आपसमा विभिन्न रंग लगाएर सदरमुकाम लिवाङस्थित खुलामञ्चमा होली मनाए।

साहसिक निर्णयको पर्खाइ

एक शताब्दीअघिसम्म नेपाल र भारतमा सतीप्रथा थियो। श्रीमान्को मृत्युपछि श्रीमती पनि श्रीमान्सँगै चितामा जानुपर्थ्यो। भारतमा सर्वप्रथम सन् १८२९ मा सतीप्रथा उन्मूलनको कानून बन्यो भने नेपालमा चन्द्रशमशेरको पालामा सन् १९२० मा। तर त्योभन्दा पहिले पनि जंगबहादुरले सन् १८५० मै सतीप्रथालाई नियन्त्रण र निरुत्साहित गर्न १६ वर्षमुनिका किशोरी तथा १६ वर्षमुनिका छोरा र पाँच वर्षमुनिका छोरी भएका, एकभन्दा बढी पति र गर्भवती महिला सती जान नपाउने नियम बनाएका थिए। सती जान महिला स्वयं इच्छुक हुन् वा बाध्य पारिएका हुन् सो छुट्याउन मलामीका साथ एक कानूनी व्यक्ति समेत पठाउने जंगबहादुरले नियम बनाएका थिए।

धन्य, आज सतीप्रथा छैन। उहिले जस्तो विधवाले मुण्डन गर्नुपर्ने, आजीवन सेतोवस्त्र धारण गर्नुपर्ने, मीठोभोजन ग्रहण गर्न नहुने र बाँकी जीवन ईश्वरकै भजनकीर्तन गरेर बिताउनुपर्ने जस्ता कडा नियम पनि छैन। बरु केही वर्षयता विवाहपछि नारीले श्रीमान्बाट पाउने सिन्दुर र पोते बाहेक अरू सबै लगाउनुहुन्छ भनेर केही साहसी महिलाले विधवालाई रातो टीका र वस्त्र लगाइदिएर शुरू गरेको साहसिक कदम अधिकांश ठाउँमा अनुसरण गरिएको छ।

रातो टीका र रंगीन वस्त्र विधवाहरूलाई उपेक्षित र अपहेलित जीवनबाट मुक्ति दिलाउने पहिलो खुट्किलो हो, जीवनको अन्तिम विकल्प होइन। जसबाट पतिको प्रेम पाइँदैन, जीवनको उकाली–ओरालीमा साथ पनि पाइँदैन। अहिले मान्छे व्यक्तिवादी भएका छन्। छोराछोरी–बुहारीहरू आमाबुबा र सासूससुरासँग बस्ने जमाना गइसकेको छ। उन्नतिको दौडमा घरपरिवारभन्दा टाढा शहर हुँदै विदेशसम्मको फड्को मारिसकेका छन्। एकल जीवन न यौवनकालमा सरल हुन्छ न बुढेसकालमै। यसैले विधवाको जीवनका काँडाहरू पन्छाउन एकपटक फेरि साहसिक फड्को मार्नै पर्छ– विधवाहरूको पुनर्विवाह र त्यसको सहज सुपाच्यता।

comments powered by Disqus

रमझम