१५ बैशाख २०७० | 28 April 2013

'पर्वते' पत्रकारिता

Share:
  
- दीपक अर्याल
आजको समृद्ध नेपाली भाषा 'गोर्खा भाषा' बाट भर्खर नेपाली बन्दै गरेको चरणमा निस्किएको पर्वते पत्रिकाले लाहुरे समुदायमा गरेको नेपाली सम्प्रेषण र पत्रकारिता प्रशंसनीय छ।

मोबाइल, फेसबुक वा ट्वीटरमा रोमनमा लेखिएका छोटा सन्देश भएका नेपाली शब्दहरू पढ्दा अप्ठेरो लाग्छ। अझ् त्यसमाथि रोमनमै गरिएका लामा–लामा टिप्पणी त पढ्नै सकिन्न भन्दा हुन्छ। राणा र राना, भरत र भारत जस्ता नेपाली शब्दलाई विभेद नगर्ने रोमनले धेरै नेपाली शब्दलाई जस्ताको तस्तै लेख्न सक्दैन। तर, यसैमा आधारित रहेर पत्रिका निस्किएको र त्यो लोकप्रिय बनेको उदाहरण पनि छन्। बेलायती सेनाको ब्रिगेड अफ गोर्खाजको मुखपत्रका रूपमा ७ जनवरी १९४९ मा सिंगापुरबाट रोमन र देवनागरी दुवै लिपिमा प्रकाशित साप्ताहिक म्यागेजिन पर्वते यसको उदाहरण हो।

गोर्खा पल्टनभित्रका गतिविधि, देश–विदेश र नेपालसँग सम्बन्धित समाचारसँगै पल्टनेका साहित्यिक सिर्जना (कथा, कविता आदि) समेटिने यो पत्रिका ब्रिगेड अफ गोर्खाज बाहिर पनि निकै लोकप्रिय भयो। ब्रिटिश गोर्खा पल्टन सन् १९७१ मा मलायाबाट हङकङ सरेको एक वर्षपछि पाक्षिक रूपमा हङकङबाट प्रकाशित हुन थालेको यो पत्रिका १९९७ मा फेरि हेडक्वार्टर ब्रिगेड अफ गोर्खाज बेलायत सरेपछि त्यहींबाट प्रकाशन भइरहेको छ।

ब्रिटिश–गोर्खा सैनिक परिवारका लागि यो पत्रिकाले नेपालको खबर पल्टनघर पुर्‍याउने र उताको हालचाल नेपालका गाउँघरमा रहेका आफन्तहरूकहाँ पुर्‍याउने पुलको काम गरेको छ। यसले गाउँमा बस्ने भूतपूर्व गोर्खाहरूलाई पनि आफ्नो ब्रिगेडसँग जोड्ने काम गरेको थियो, उनीहरूका रचना तथा सन्देशहरू प्रकाशित गरेर।

समय अनुसार आकार, रूपरङ्ग र लेआउटमा परिवर्तन भइरहेको पर्वते को १९६१ जनवरी ६ (२३ पुस २०१७) को अंकमा प्रकाशित समाचारको अंशः

Shri 5 ko sarkar dwara America ko sahayata ‘mission’ sangko sahyogma thalieko ‘telecommunication’ karyakaram ka lagi jyadai mathi urhna sakne ek helicopter hijo Kathmandu liyaieko chha.

'नेपालमा पहिलो हेलिकप्टरको काम' शीर्षकमा प्रकाशित यस समाचारले नेपालका धेरै ठाउँमा स्थापना गरिने वायरलेस रेडियो (आवा) स्टेशनहरूका लागि ४८ 'अल्मुनियम'का घरका साथै कर्मचारी र रेडियोका सरसामानहरू पुर्‍याउने काममा यो हेलिकप्टर इस्तेमाल गरिने जानकारी दिएको छ। त्यसमा हेलिकप्टर २३ हजार फिट माथिसम्म उड्न सक्ने र एकपटक इन्धन भरेपछि २३६ माइलसम्मलाई पुग्ने प्राविधिक जानकारी पनि दिएको छ।

यसरी पर्वते ले नेपाल बाहिर रहेका पल्टने नेपालीमाझ् नेपालमा पहिलो हेलिकप्टर भित्रिएको समाचार पुर्‍याएको देखिन्छ। तत्कालीन युवराज वीरेन्द्रका हेलिकप्टर प्रशिक्षक पियर ल फ्लकका अनुसार, त्यसको पाँच वर्षपछि १९६५ मा उनी नेपाल आउँदा यहाँ दुई वटा रूसी हेलिकप्टर मात्र थिए। यो पत्रिकाको प्रकाशन तथा यसको लोकप्रियतालाई सामान्य तरिकाले विश्लेषण गर्दा, यसले राज्य संयन्त्रले भन्दा छिटो कुनै खास समुदायमाझ् समाचार सम्प्रेषण गरेको र नेपाली भाषा लोकप्रिय बनाएको भन्न सकिन्छ। फरक–फरक मातृभाषा परिवारका र पल्टनमा रोमन सिकेका सदस्यहरूलाई नेपाली भाषाको सन्देश/समाचार पढाउन रोमन प्रयोग गरिएको देखिन्छ। उनीहरूले यसै पत्रिकाबाट नेपाली भाषाको ज्ञान र शब्दभण्डार बढाए।

comments powered by Disqus

रमझम