९ -१५ साउन २०७३ | 24-30 July 2016

अंग्रेजसँग नखुल्ने नीति

Share:
  
- ज्ञानमणि नेपाल
लण्डन भ्रमणको प्रस्ताव स्वीकृत भएकोमा खुशी व्यक्त गरेका महाराजले समाचार सुनाउन आएका रेजिडेन्ट स्मिथलाई भने पूरै निराश बनाएर फर्काए।

सं. १९६४ को हिउँदमा चन्द्रशमशेरको बेलायत जाने योजना थियो। उनको यो प्रस्ताव बेलायत पुगेपछि ब्रिटिश सरकारले स्वीकार गरेर पठाएको पत्र नेपालको रेजिडेन्सीमा आयो। त्यो सूचनासँगै अरू विषयमा पनि वार्तालाप गर्न रेजिडेन्ट जेम्यानर्स स्मिथ सिंहदरबार पुगे। उनले महाराजको लण्डन भ्रमण स्वीकृत भएको र आफू समेत संलग्न भई भ्रमणमा जाने कुरा सुनाउँदा महाराजले प्रशन्नता व्यक्त गरे।

महाराजले शिकार खेल्न तराई जाने कुरा स्थगित गर्ने संभावना व्यक्त गर्दै हेटौंडानेर सामरी र कर्रा खोलाको पुल चाहिं नबनाई नहुने बताए। शिकार खेल्न जाँदा करीब १/२ लाख खर्च भइहाल्थ्यो। बरु त्यो खर्चले लण्डन जाँदा जहाजको भाडा पुर्‍याउने बताए।यही मौका छोपेर रेजिडेन्टले यसपालि हिउँदमा पहाडका जंगलमा शिकार खेल्ने अनुमति मागे, जसलाई महाराजले ठाडै अस्वीकार गरे। जुनसुकै रेजिडेन्टले पनि आफूखुशी डुलफिर र शिकार खेल्ने इच्छा प्रकट गर्थे।अघि सारै ढिपी गर्दा जंगबहादुरले रेजिडेन्टलाई बाहिर घुमफिर गरेर जनतासँग घुलमिल हुन नदिन जुक्तिबुद्धि मिलाएर रेजिडेन्सीकै चार दिवारीमा सीमित गरिदिएका थिए भन्ने कुरा पहिले नै प्रकाश पारिसकिएको छ। स्मिथभन्दा पहिलेका रेजिडेन्टले त शिकार खेल्नका लागि नागार्जुन, गोकर्ण जस्ता ठूला जंगल किन्ने प्रस्ताव समेत राखेका थिए। महाराजले त्यस्ता जंगल किन्न पाइँदैन, पाइए पनि धेरै पर्छ भनेर टारिदिएका थिए। अहिले पनि त्यसै भन्दा रेजिडेन्ट स्मिथले अझ् ढिपी गर्दै असाध्यै दोस्तीप्रीति भएकोले एक जना स्मिथलाई मात्र दिएको भनेर लालमोहर गराई शिकारको अनुमति दिनुभए हुन्थ्यो भने।जवाफमा महाराजले यो त झ्न् हुनै नसक्ने कुरा हो, पछि आउने रेजिडेन्टले यसै भन्छन्, कसैलाई काखा, कसैलाई पाखा गर्नै हुँदैन भने। महाराजले ब्रिटिशसँग दोस्तानी राखे पनि धेरै खुल्न नहुनेमा आफ्ना मान्छेहरूले हाम्रा महाराज ब्रिटिशसँग धेरै खुल्न लागे भनिरहेको पनि बताए।रेजिडेन्ट त्यस्ता मान्छे चिन्न चाहन्थे, तर महाराज नाम किन खुस्काउँथे! नाम दिए भने तिनको नाम नामेसी ब्रिटिश सरकारमा पुगिहाल्थ्यो। अघि उनकै दोस्त बनेका जर्नेल वाइलीले चन्द्रशमशेर चीनतिर ढल्केका छन्, हाम्रो काम गर्दैनन्, अनेक अड्को थाप्छन् भन्ने रिपोर्ट ब्रिटिश सरकारमा पुर्‍याएका रहेछन्।

वास्तवमा चन्द्रशमशेर चीनतिर ढल्केको कुरा साँच्चै हो, रेजिडेन्टले चाहेका कुरा नपुर्‍याएको पनि साँच्चै हो। रेजिडेन्टलाई आफूखुशी डुल्न फिर्न, चाहेको गर्न दिइँदैनथ्यो। अघि वीरशमशेरका पालामा मेजर ड्युराङले एकजना इटलीका मान्छेलाई नेपाल तराईमा शिकार खेल्न इजाजत मागेछन्।

सर वीरले पनि हुन्छ देऊ भनेका रहेछन्, तर चन्द्रशमशेरले ड्युराङलाई इटालियनसँग हाम्रो कुनै सम्बन्ध छैन भनेछन्। हातहतियार किन्न ब्रिटिश सरकारको अनुमति चाहिन्थ्यो। फौजी तालीमको लागि नयाँ हातहतियार आवश्यक परिरहन्थ्यो। चाहिने हतियारको फेहरिस्त तयार पारेर ब्रिटिश सरकारलाई पठाउनुपर्थ्यो। रेजिडेन्टले खुला दिलले सिफारिश गरे हातहतियार किन्न पाइन्थ्यो। राणाकालको यो प्रचलन शाहकाल हुँदै अहिले गणतन्त्रकालमा पनि यथावत् छ।


स्वतन्त्र घुम्न दिन नमिल्ने, हातहतियार झिकाउन पाउनुपर्ने र नेपाल–भोट सम्बन्धका वार्तालाप

सन् १९०७ सेप्टेम्बर मैन्हाको ३ तारीख मुताविक १९६४ मीती भाद्र १६ गते रोजका दिन व्यहान रजिडन्ट जेम्यानर्स स्मीथ साहेव प्राइभेट मुलाकातलाई ८ वजे सिंहदरबारमा आई कुरा कहानि भयाको टीपन–

रजि– तपायीको लंडन टुरमा मैले साथै जाने कुरामा बीलायेतबाट सेक्रेटरी अफ इष्टेरले पनि मंजुर गरी पठाया

श्री ३– यो कुरा सुंदा मलाई बहुतै खुशि लाग्यो

रजि– तपायीं येस पालि हिउंदमा तराईतर्फ जानुहुने केही ठेगाना भयो की

श्री ३– येस पालि लंडन भिजिट हुने पक्का भयो भनेतराईतरफ जाने छैन. तेत्तिले पनि १।२ लाख रुपैया बचि जाहाज भाडाको खर्चलाई ता पुग्न जाला सामरी कर्राको पुल यो साल सिध्याउने मतलब छ. सो पुलको कामलाई मदत चाहियो भने केहि दिन सो ठाउंमा गै बसि यसै पालि पुलहरू सिध्याउने मतलब छ. तपायींको जाडाको मौसिम्को सफरको प्रोग्राम बनाई सक्नु भयो कि

रजि– मलाई सीकारको मनसुवा छ. केहि सीकार खेलन दिन हुंछ कि. पाहाडतरफ सिकार खेलनाको मलाई बहुतै सोख छ.

श्री ३– यो होइनसक्ने कुरा हो. उफसोस छ की म मंजुर गर्न सक्तीन.

रजि– हामि २ का बीचमा ठूलो दोस्ती छ. सो दोस्तानाको ल्याहाजले यति मेरो मन्सुव पुर्‍याई दिनुहुनुपर्ने हो. बरु पछि कोहि कसैले जान खोजछन् भंने संका छ भने दोस्तिको ल्याहाजले म १ जनालाई मात्र दियाको हो भंन्या बेहोराको मेरा नाउंमा यौटा लालमोहर गराई दिनु भया पनि हुने हो

श्री ३– कैल्हे हुन्थ्यो. ऐल्हे तेस्तो लालमोहर भयो भने तपायींपछिका रजीडन्टले पनि म पनि दोस्त हुं मेरो नाउंमा पनि लालमोहर होस भनेंछ. नदिया रीसाउंनेछ नाहक्मा पछिका रजीडन्टलाई रीसाउनु पर्ने कारण हुन जान्छ. यस्मा माफ रहोस्. मेरो पोजिसन ज्यादै अनौठा छ. यकातीर तपायींहरूसंग दोस्ती पनि राखनुपर्ने फेरी आफ्ना मानीसहरूको पनि चीत बुझाउनु पर्ने वृटिससंग दोस्ती राखनुपर्छ र ज्यादा खुताला हुनु हुदैन भनि कति जनाले मसंग आई भंदछन.

रजि– ति को हुन्

श्री ३– तिनिहरूको नाउं म भंन चाहदिन. कीन भने तिनिहरूको नाउं भनेपछी तिनिहरूका नाउंसमेत लेखि तपायीले आफ्नु गभरमेन्टमा रीपोट गर्नुहुनेछ. मेरा सेखपछी मेरो ओहदासम्म पनि पुगी काम् गर्नुपर्नेहरूको नाउंमा तेस्तो रीपोट गयो भने ठीक पर्ने छैन

रजि– अघि तपायींको नाउंमा पनि ता रीपोट भयाको रहेछ. चीनतरफ तपायीं ढल्कनु भयाको छ भन्या र रीकुट भर्ति गर्ने इत्यादि सबै कुरामा तपायींले अड्को लगाई दिनुहुन्थ्यो भंने कुराको तपायींकै दोस्त जनरल वाईलीले रीपोट गरेका रहेछ

श्री ३– मैले तेस्तो केही कुरामा अड्को लगाइ दिया जस्तो ता लाग्दैन मेजर ड्युर्‍याङको वखत्मा १ पल्ट भने नीजले इटेलीको १ जना काउन्टलाई नेपालका तराईका जंगलमा सिकार खेलन दिनुहुंछ की भनि सर वीरसंग सवाल् गरेमा म इन्टरप्रीटर भयाको थीयें हुंछ भंने जवाव देउ भंने सर वीरबाट हुकुं भयाको थीयो तर मैले आफ्ना तरफबाट पनि केहि कुरा थपी इटेलियनसंग हाम्रो सरोकार केही छैन बृटिस गभरमेन्टसंग दोस्ताना हुनाले नीज काउन्टलाई सीकार खेल्ने कुरामा इंडीया गवरमेन्टको मंसुवा राखनु भयाको छ भंने हुंछ खेलाउनु भनि जवाव दियेको थिये. मेजर ड्युर्‍याङले तपायींहरू सिकार खेलन दिनुहुंछ भने दिनुहोस् हामीले नीज काउन्टसंगको वास्ता कीन राखनु भंने जवाव दियेको थीयें यति कुरा भने मलाई संझना छ

रजि– बंदुक कलहरू झीकाउने वीसयेमा जो हाम्रो कुरा भयाको थीयो तेस्मा मीमो पठाउंछु भनि भंनु भयाको पठाउन लागनु भयेन की. हाम्रो कुरा भयेको संक्षेपले इंडीया गवरमेन्टलाई लेखि पठाई सकेको ता छुं मिमो पठाउन नहुने भया खुलस्त गरी लेखिपठाउंछु

श्री ३– सो मिमो तयार हुन लागेको छ. पुरानु मिसिलहरू हेरी तेसबाट पनि केहि कुराहरू सो मीमोमा लेखन लायेक् हुनाले केहि ढिलो हुन गयाको हो अब १।२ दिनमा पठाई दिनेछु

रजि– हुन्छ

श्री ३– सो बंदुकहरू झीकाउने कुरामा तपायींले इतराज गर्नुहुने छैन भने लागेको छ. फौजलाई तारो हनाउनलाई चाहियेको बंदुकको फौज असल तालिम भये भने हामीहरू तपायींहरूकै नहुं

रजि– यो कुरामा मं आफुले यसै हो भंन सक्तिन. इंडिया गवरमेन्टले जो मुनासीव हो सोही ठहराउनन्

श्री ३– तपायींबाट सिफारिस भयो भने नहुने कुरा केही छइन

comments powered by Disqus

रमझम