९ -१५ साउन २०७३ | 24-30 July 2016

अक्षर अर्थात् नयाँ जीवन

Share:
  
- दीपक ज्ञवाली

बुटवल, शान्तिनगरकी ६३ वर्षीया गनिसरा विकका नातिनातिनाले एसएलसी पास गरिसके। तर, उनी भने बल्ल साधना महिला विद्यालयमा कक्षा १ मा पढिरहेकी छन्।

“नपढ्नेका लागि संसार आँखा भएरै पनि अँध्यारो हुनेरहेछ”, गनिसरा भन्छिन्, “त्यो बेला गाईबाख्रा, घासदाउरा गर्दै पढ्न पाइएन।” अक्षर नचिन्दा उनलाई धेरैले ठगे। पढेका टाठा नातिनातिनाले देश–विदेशबाट मोबाइल, फेसबूकबाट अनौठा कुरा देखाउँथे, उनलाई पनि यस्ता चीज आफैंले चलाउन मन नलागेको होइन। तर, उनी केही बुझिदनथिन्। बारम्बार पछुतो लाग्थ्यो।

तस्वीरः दीपक ज्ञवाली
कौशिला थापा मगर (५७) हरियो सलमा।

सुमन पन्थी, प्रधानाध्यापक साधना महिला विद्यालय, बुटवल।

मिलनचोककी कमला कनौजे पनि ४५ वर्षको उमेरमा कक्षा १ मै भर्ना भएकी छन्। “जति ठक्कर खाइयो, खाइयो। अब बाँचुञ्जेल पढ्ने हो, आईए, बीए”, उनको आत्मविश्वास छ।

गनिसरा र कमलाजस्तै कक्षा १ मा २९ जना विद्यार्थीमध्ये अधिकांश हजुरआमा छन्। २०६३ सालमा स्थापित यो विद्यालयबाट पाँच वर्षयता ४१ जना आमा र हजुरआमाले एसएलसी उत्तीर्ण गरिसकेका छन्। हाल विद्यालयमा १३५ जना अध्ययनरत छन्।
“सानैमा अक्षर नचिनेर ठगिएका धेरै महिला विद्यालय भर्ना भएका छन्”, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सावित्रा अर्याल भन्छिन्, “बुढेसकालमा नयाँ जीवन पाएका छन्।” बुढेसकालका विद्यार्थीका लागि यसै वर्ष एसएलसी उत्तीर्ण मोहन वैद्यकी श्रीमती सुष्मा वैद्य र भर्खरै आठ कक्षा उत्तीर्ण एमाले पूर्व सभासद् शान्ता चौधरी प्रेरणा बनेको उनी बताउँछिन्।

गनिसरा विक (६२) बुटवल शान्तिनगर।

बुटवलको साधना महिला विद्यालयको कक्षा १ मा पढाइमा व्यस्त हजुरआमालगायत विद्यार्थी।

कमला कनौजे (४५)।

देशमा ६ वटा महिला विद्यालय छन्, जसमध्ये उपत्यकाबाहिर बुटवलमा मात्र यस्तो विद्यालय सञ्चालनमा छ। काठमाडौंस्थित आस्था महिला विद्यालयकी प्राचार्य पार्वती ज्ञवालीका अनुसार, देशभरका महिला विद्यालयहरूमा आमा उमेर समूहका झण्डै तीन हजार र हजुरआमा समूहका झण्डै ३०० विद्यार्थी पढिरहेका छन्।

comments powered by Disqus

रमझम