९ -१५ साउन २०७३ | 24-30 July 2016

सास्ती सुल्झाउन पहल

Share:
  
व्यापार सहजीकरणका लागि नेपाली व्यवसायी टोलीको बिहार भन्सार अधिकारीसँग पटनामा गरेको छलफलपछि समस्या समाधानको संकेत देखिएको छ।

कमल रिमाल
३० असारमा बिहारको पटनामा भएको व्यापार सहजीकरण बैठक।
सीमावर्ती भारतीय भन्सार जोगवनीमा व्यहोरिरहेको सास्ती हटाउन नेपाली व्यवसायी र पटनास्थित बिहारको भन्सार विभागका अधिकारीबीच व्यापार सहजीकरण छलफल भएको छ। ३० असारमा भन्सार विभाग पटनाका आयुक्त विनायकचन्द्र गुप्तासँगको यस्तो छलफलबाट सीमाका समस्या समाधान हुनेमा नेपाली पक्ष आशावादी देखिएको छ।

मोरङ व्यापार संघ, विराटनगरका पूर्व अध्यक्ष अविनाश बोहरा जोगवनीमा क्वारेन्टाइन चेकपोष्ट नहुँदा सात दिन खर्चेर परीक्षण गराउनु पर्दा ब्यांकको ब्याज र खर्च बढिरहेकोदेखि ब्यांकिङ असुविधासम्मका कुरा राखिएको बताउँछन्। भारतीय भन्सार शुल्क नेपालबाटै भारतीय ब्यांकमा जम्मा गर्ने व्यवस्था गरिदिन पनि नेपाली पक्षले माग गरेका छन्।

छलफलमा सहभागी मोरङ व्यापार संघ विराटनगरका श्याम भण्डारी जोगवनी भन्सारमा हुने ढिलासुस्ती र सीमा सुरक्षा बल (एसएसबी) को अनावश्यक कडाइजस्ता झ्न्झ्टबारे पनि खुलेर जानकारी गराएको बताउँछन्। “जोगवनी भन्सारमा इन्टरनेट गडबडीका कारण कहिलेकाहीं चार दिनसम्म मालवाहक साधन बाटोमै रोकिने गरेको, जोगवनी–बथनाहा सडकखण्डस्थित मिरगञ्जको जीर्ण पुलमा हिंड्न जोखिम भइरहेको जस्ता थुप्रै समस्याबारे छलफल भएको छ”, उनी भन्छन्।

नाकाबन्दीताका झ्ैं पैसाको आशामा एसएसबी र स्थानीय प्रहरीले अहिले पनि मालवाहक गाडीलाई दुःख दिइरहेको बारे पनि नेपाली पक्षले कुरा राखेको थियो। छलफलका क्रममा पटनास्थित आयुक्त गुप्ताले नेपाली पक्षका समस्या समाधान गर्न सबै निकायलाई निर्देशन दिने बताएका थिए।

नेपाल–भारत व्यापार सहजीकरण गर्न बिहार भन्सारले एउटा समिति नै बनाएको छ। बिहार, झारखण्ड र कोलकाताका १२ संस्थाका प्रतिनिधि रहेको समितिमा नेपालबाट मोरङ व्यापार संघ र उद्योग वाणिज्य संघ, वीरगञ्जलाई पनि सदस्य राखिएको छ।

पटनामा सोही दिन बसेको समितिको बैठकमा नेपालीपक्षले दुईदेशबीच सन् २००४ मै नेपालमा उत्पादित चिया र चियाजन्य वस्तु, दाल र दालजन्य वस्तु तथा खाद्यान्नमा ५ देखि २० प्रतिशत मात्रै परीक्षण गरिने सहमति भएको तर अझ्सम्म कार्यान्वयन नभएकोतर्फ ध्यानाकर्षण गराएका थिए। “त्यसबेला पुरानो रेकर्ड हेरेर पनि निर्यात सहज बनाइएको थियो”, मोरङ व्यापार संघका प्रवीणनारायण चौधरी भन्छन्, “भन्सारका अधिकारी सरुवा भएपछि समस्या देखियो।” कतिपय वस्तु आयातमा वीरगञ्ज भन्सारले छूट दिने तर जोगवनीले कडाइ गर्ने पाइएको चौधरीको भनाइ छ। “जस्तो कि साबुन बनाइने कच्चा पदार्थ आयात गर्दा जोगवनीले रोक्छ। तर, रक्सोलले छाड्छ।” जोगवनी भन्सारमा अनेक समस्या भएकाले भारतीय व्यापारी पनि निर्यात गर्न डराइरहेको चौधरीको भनाइ छ।

जोगवनी भन्सारबाट दैनिक २५० वटा सानाठूला ढुवानीका साधनमा वस्तु नेपालतर्फ आयात हुने गरेका छन्। विराटनगर भन्सार कार्यालय प्रमुख कृष्ण बस्नेतका अनुसार, आयातनिर्यातबाट दैनिक रु.७ करोड राजश्व उठ्ने गरेको छ। विराटनगर भन्सारले आर्थिक वर्ष २०७२/७३ मा रु.२४ अर्ब ९० करोड राजश्व संकलन गरेको छ।

कमल रिमाल, पटना

comments powered by Disqus

रमझम