'अर्को भ्रम' संग्रहबाट कवि र पेशा तथा अन्तर्वार्ता सँगालो 'नयाँ नेपाल' मार्फत मूलधारका पत्रकारका रुपमा स्थापित सचित राईले तेस्रो कृति माङखिम सार्वजनिक गरेका छन्। कुल–पितृ र प्रकृति पूजक किरातहरू आफ्ना पुर्खा/पितृलाई माङ र निवासलाई खिम भन्छन्। यसरी उनी यो कृतिमार्फत आफ्नो उद्गमतिर फर्केर अनुगृहीत हुन खोजेका छन्।
सचितको उद्गम इलाम हो। उनले इलामको समाज, धर्म–संस्कृति, राजनीतिलगायतका विषयमा लेखेका १६ थान निबन्ध–प्रबन्धहरूको सँगालो हो– माङखिम। लेखनीलाई सरल–सुललित र नोष्टाल्जिक ढंगले बहाएका सचितले इलामगान गाउन कतै संस्मरणात्मक त कतै अनुसन्धानात्मक शैली अपनाएका छन्। सँगालोमा समेटिएको कुनै आलेख जीवनी जस्ता लाग्छन् भने कुनैलाई आत्मकथा भन्न सकिन्छ। जता सोच्यो त्यतै बगेका सबै निबन्ध–प्रबन्धहरू पठनीय छन्।
संग्रहमा इलाम बाहिरका भूगोल र पात्र भन्नु रामप्रसाद राई र उनको राजनीतिक थलो हो। २००७ सालको जनक्रान्तिका एक कमाण्डर राईबारे सचितले निकै सोधखोज गरेर लेखेका छन् भने पंचायतकालीन पूर्वी नेपालकी चर्चित राजनीतिक कार्यकर्ता सरस्वती राईबारे आफ्नै संगत–सान्निध्यको आलोकमा मूल्यांकन गरेका छन्। त्यस्तै, आजका कम्युनिष्ट पार्टीका नेता, कार्यकर्ताले 'पूर्वका रातो तारा' भन्ने गरेका शहीद रत्नकुमार बान्तवालाई उनले गाउँतहबाट सम्झेका छन्।
संग्रहका तीनवटा आलेख इलाम र पाँचथरका राई–लिम्बूहरूलाई हिन्दूकरण गर्ने 'साधुसन्त/गुरुहरू' को समाज सुधारमा केन्द्रित छन्। आफ्नै मातापितासमेत जोसमनीसन्त सम्प्रदायका अनुयायी भएकोले हुन सक्छ, बाल्यकालबाटै सचितमा 'साधुसन्त वा गुरु'हरूको गहिरो प्रभाव परेको देखिन्छ। उनले किरातीको मौलिक संस्कृति–परम्पराको पनि दह्रो पक्षपोषण गरेका छन्।
बाँकी आलेखहरू आमा, घरपरिवार, पेशा, यात्रा र राजनीतिक द्वन्द्व सिर्जित अवस्थादेखि महाभूकम्पको अनुभवसम्मका संस्मरण हुन्। व्यक्ति तथा ठाउँ विशेषको चर्चा, ससुराली गाउँतिरको यात्रा, माओवादी लडाकूहरूसँगको जम्काभेट, काठमाडौं यात्रा, पत्रकारिता जगतसँगको साक्षात्कार, भूकम्पको झ्ाट्का आदिको अनुभव रोचक छ। पुस्तकभरि कहीं पनि आत्मश्लाघाको छनक नदिई इमानदार 'न्यारेटर' बन्नुले नव लेखक सचित राईको लेखकीय भविष्य देखाउँछ।
आनन्द पी. राई
पढिसिध्याउँदा 'काठको बाकस' कथा संग्रह झै लाग्छ। किनभने चन्द्र घिमिरेका अधिकांश कविताले गरीब, निमुखाका कथा कहन्छन्। ती गरीब कुन जाति र भूगोलका हुन् भनी प्रश्न गर्दैनन्। प्राकृतिक सौन्दर्य र बिम्बभन्दा वास्तविकता वर्णन गर्छन्। लाग्छ, संग्रहभित्रका ४३ वटा उनका कविता क्षेप्यास्त्र हुन्, जसले हृदयमा प्रहार गर्छन् र रन्थनाउँछन्।
कवितासंग्रह 'शिविरमा ईश्वर' को केन्द्र संवेदना हो। बेलायतमा बसिरहेकी जानु राजनीति र विद्रोह उराल्नभन्दा समाजसँग जोडिएको भावनासँग संवाद गर्न रुचाउँछिन्। ५३ वटा कविता समेटिएको संग्रहमा जन्मभूमिसँग टाढिनुपरेको पीडा छ। कवि श्रवण मुकारुङका भनाइमा उनका कविताले मुन्धुमको लय टिपेको छ।
७७ वर्षको उमेरमा पनि कालिप्रसाद रिजाल अझै लेखिरहेका छन् भन्ने प्रमाण हो– समयका पदचापहरु। गीतकारका रुपमा ख्याति पाएका रिजालको यो ११औं कृति हो, जसमा २०६१ सालपछि लेखिएका ५९ कविता समाविष्ट छन्। सरल भाषामा गहिरो भाव पोख्न सक्ने लेखकको छवि बनाएका रिजालका अधिकांश कवितामा सिंगो देशको दुःखको कथा छ ।