९ -१५ साउन २०७३ | 24-30 July 2016

पवित्रा प्रतिभा

Share:
  

खाँदबारी–१, संखुवासभाकी पवित्रा तामाङ (१५) पूर्वाञ्चल डान्सिङ सुपरस्टार बनेकी छन्। प्रतियोगिताका लागि खाँदबारीमा भएको 'अडिसन' हेर्न मात्र गएकी उनलाई साथीहरूले भाग लिन प्रेरित गरेका थिए।

१ साउनमा धनकुटामा भएको फाइनलमा १५० प्रतिस्पर्धीलाई उछिन्दै उनै पवित्रा उत्कृष्ट बनिन्। टिन्स् क्रु डान्स सेन्टरले आयोजना गरेको प्रतियोगितामा विजेता बनेसँगै उनले ट्रफी र रु.५५ हजार ५५५ पुरस्कार समेत पाइन्।

पवित्रा स्थानीय सूर्य बोर्डिङ स्कूलमा कक्षा १० मा पढ्छिन्। कक्षा ३ देखि नै नृत्य थालेकी पवित्रा जिल्लामा हुने विद्यालयस्तरीय प्रतियोगितामा सहभागी भएर विभिन्न उपाधि जित्थिन्। तर, छोरीको पढाइ बिग्रिने डरले बुबाआमाले नृत्य गर्न विद्यालयबाहेक अन्त पठाउँदैनथे। उपाधि जितेपछि भने सबै खुशी भएका छन्।

“आफैं स्टेपहरू तयार गर्छु” उनी भन्छिन्, “कहिलेकाहीं यूट्यूब हेरेर सिक्छु।” प्रतियोगिताकी निर्णायक अभिनेत्री मिथिला शर्माले गरेको प्रशंसाले पवित्रालाई नृत्यमै भविष्य खोज्न हौस्याएको छ। पढाइसँगै डान्सलाई अघि बढाउने उनको योजना छ। “डान्स सिकाउने एकेडेमी खोल्ने मन छ”, उनी भन्छिन्।

सविता श्रेष्ठ


ज्योत्स्ना ज्योति

तीन वर्षअघि पहिलोपटक र्‍याम्प मोडलिङमा दर्शकसामु उभिंदा ज्योत्स्ना योगीलाई धेरैले हौसला दिए। तर, घर फर्कंदा बुबाआमाको अनुहार भने प्रशन्न थिएन। त्यसो त बुबा वामदेव योगी स्वयंमा ललितकलाका गुरु नै थिए, तैपनि मोडलिङ र अभिनयको फरक रंगको क्यानभास र ब्रसबारे उनलाई थाहै थिएन। 'कलाकार बन्ने निहुँमा छोरीले पढाइ बिगार्ली', योगी दम्पतीको एकमात्र चिन्ता यही थियो।

समय कठिन थियो, तर आफ्नो सपना पूरा गर्न संघर्ष त गर्नु नै थियो। एकाध र्‍याम्पको अनुभव समेटेर ज्योत्स्ना छापा र भिडियो विज्ञापनमा काम गर्न थालिन्। यहीबीचमा म्यूजिक भिडियोमा उनलाई प्रस्ताव आयो। झण्डै एकदर्जन भिडियोमा अभिनय पनि गरिन्। मनोरञ्जन क्षेत्र बुझ्दै र आफूलाई पनि चिनाउँदै गइन्।

६ साउनदेखि चलचित्रगृहमा प्रदर्शन भइरहेको 'म त तिम्रै हुँ' की नायिका उनै ज्योत्स्ना हुन्। अनमोल क्रियसन्स्ले निर्माण गरेको श्रीराम महत निर्देशित यो चलचित्रले आफूलाई अभिनयका क्षेत्रमा फरक चिनारी दिनेमा उनलाई विश्वास छ।

छोरी अभिनेत्री भएकोमा यतिवेला बुबाआमा बेखुशी छैनन्। कारण, गत वर्ष मात्र ज्योत्स्नाले व्यवस्थापनमा स्नातकोत्तर सकेकी छिन्। “अब कलाकारिताबाट नभए केही त गरेर खाली भन्ने उहाँहरूमा लागेको छ”, उनी भन्छिन्। उसो त चलचित्र क्षेत्रमा औपचारिक अध्ययनको बेग्लै महत्व उनले महसूस गरिरहेकी छन्। भन्छिन्, “जीउडाल देखेर फुच्ची भन्नेहरू एमबीए सिध्याएको थाहा पाएपछि सम्मान गर्न थाल्छन्।”

शिक्षक बन्ने लक्ष्य थाती राखेर असल अभिनेत्री बन्न चलचित्र क्षेत्रमा पसेकी ज्योत्स्ना अबको बाटो झनै अप्ठेरो भएको स्वीकार्छिन्। “तर, लगातारको मिहिनेतले जस्तोसुकै बाधा पनि पन्छाउन सकिन्छ भन्ने मलाई विश्वास छ”, उनी भन्छिन्।

comments powered by Disqus

रमझम