२६ कार्तिक - २ मंसिर २०७४ | 12-18 November 2017

सीजी का दुई नयाँ मोडल

Share:
  

सीजी मोबाइलले दुई नयाँ मोडल– एष्ट्रो फाइभ एल र एष्ट्रो मेरो प्लस बजारमा ल्याएको छ । यी मोडलको मूल्य सस्तो र धेरै फिचर रहेको कम्पनीको दाबी छ । एष्ट्रो मेरो प्लसमा क्यामेरा, एफएम, १००० एमएएचको ब्याट्री रहेको छ । टर्च, जीपीआरएस लगायतको फिचर रहेको मेरो प्लसको मूल्य रु.९९९ छ । एष्ट्रो फाइभ एल प्लसमा वायरलेस एफएम, ब्लुटुथ, १८०० एमएएचको ब्याट्रीसँगै एमपी थ्री तथा एमपी फोरलगायतका फिचर रहेका छन् । यसको मूल्य रु.१ हजार ६९९ तोकिएको छ ।

मोटोरोला को डिलर भेटघाट

मोटोरोला मोबाइलको नेपालस्थित अधिकृत बिक्रेता लाइफकम प्रालिले मलेशियाको क्वालालम्पुरमा डिलर भेटघाट गरेको छ । १८–२१ कात्तिकमा सम्पन्न कार्यक्रममा नेपालका करीब ४० डिलर सहभागी थिए । भेटघाटमा नेपालमा मोटोरोला मोबाइलको बजारको अवस्था, यसको माग र आगामी योजनाहरूबारे छलफल भएको थियो । मोटोरोला ले नेपाली बजारमा भर्खरै मात्रै विभिन्न मोडलका स्मार्ट फोनहरू उपलब्ध गराएको छ ।

यामाहा का ग्राहकले जिते रु.१ लाख

यामाहा मोटरसाइकल तथा स्कूटरको नेपालस्थित आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजले दशैं–तिहार ग्राहक योजना ‘क्यास–इन–ओ’ अन्तर्गतको साप्ताहिक लक्की ड्रका विजेता घोषणा गरेको छ । ‘क्यास–इन–ओ’ को नवौं हप्तामा इटहरीका थगेन्द्र थापाले रु.१ लाख जितेका छन् ।

योजनाअन्तर्गत यामाहा ब्राण्डका मोटरसाइकल र स्कूटर खरीद गर्ने ग्राहकले तत्काल रु.७ हजार छूट, साप्ताहिक लक्की ड्रमार्फत रु.१ लाख पुरस्कार र बम्पर पुरस्कारमा स्कोडा र्‍यापिड कार जित्न सक्नेछन् । कम्पनीका अनुसार यो योजना कात्तिक मसान्तसम्म जारी रहनेछ ।

बजाज को आरई स्वरोजगार र्‍याली

नेपालका लागि बजाज थ्री ह्विलर्सको अधिकृत बिक्रेता हंसराज हुलासचन्द कम्पनीले बजाज आरई स्वरोजगार र्‍याली सम्पन्न गरेको छ । बिर्तामोडबाट शुरु भएको र्‍याली वीरगञ्ज, नारायणघाट, बुटवल, तुलसीपुर, सुर्खेतहुँदै महेन्द्रनगर पुगेको थियो । २७ दिनसम्म चलेको र्‍यालीले तीन हजार किलोमिटर दूरी पार गरेको र र्‍याली अवधिभर स्थानीय डिलरहरू समेत करीब ५० हजारको सहभागिता भएको कम्पनीको दाबी छ ।

र्‍यालीमार्फत नेपालमा लगानी र रोजगारका प्रशस्त सम्भावना रहेको जनचेतना फैलाइएको कम्पनीले जनाएको छ ।

माछापुच्छ ब्यांक लिमिटेडले दाङको गढवा र सतबरियामा दुई शाखारहित ब्यांकिङ सेवा संचालनमा ल्याएको छ । ब्यांकले यूकेएड सक्षमसँगको सहकार्यमा उक्त सेवा शुरु गरेको हो ।

शाखारहित सेवा केन्द्रहरूबाट खाता खोल्ने, रकम जम्मा गर्ने, झिक्ने, रेमिटेन्स भुक्तानीका साथै कर्जाको लागि आवेदन समेत दिन सकिने ब्यांकले जनाएको छ । योसहित माछापुच्छ ब्यांकका ६ वटा शाखारहित ब्यांकिङ सेवा सञ्चालनमा आएका छन् । यूकेएड सक्षमसँगको सहकार्यमा ब्यांकले २० वटा ग्राहक सेवा केन्द्र स्थापना, १४ जिल्लामा विपन्न वर्ग कर्जा प्रदान गर्ने तथा वित्तीय साक्षरता अभियान संचालन गर्ने जनाएको छ ।

मलेशियामा रहेको रिया आईएमईले दशैं र तिहारको अवसरमा ल्याएको ‘दशैं तिहारमा आईएमई गर्नुहोस् घर सजाउनुहोस्’ योजनाको विजेता घोषणा गरेको छ । सफ्टवेयरमार्फत गरिएको छनोटमा सेवाग्राहीहरू श्रीराम थापा, महेन्द्र साह, संजितकुमार राय र रामएकबाल महतो विजेता घोषित भए ।

विजेता सबैले मलेशियाबाट रिया आईएमईमार्फत नेपालमा पैसा पठाएका थिए । विजेताहरूले वासिङ्ग मेशिन, रेफ्रिजेरेटर, एलईडी टेलिभिजन, माइक्रोवेभ ओभन र स्ट्याण्ड फ्यान प्राप्त गरेका छन् ।

नेशनल ब्यांकिङ इन्ष्टिच्यूट लिमिटेड (एनबीआई) र ग्लोबल आईएमई ब्यांकबीच तालिम सञ्चालन सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

सम्झौताअनुसार एनबीआईले ग्लोबल आईएमई ब्यांकका कर्मचारीहरूको दक्षता विकासका लागि विभिन्न तालिमहरू सञ्चालन गर्नेछ । वार्षिक रु.६१ लाख रकम तालिम सञ्चालनका लागि छुट्याइएको ब्यांकले जनाएको छ ।

सिटीजन्स ब्यांक इन्टरनेशनल लिमिटेडको ६६औं शाखा महोत्तरीको औरहीमा खुलेको छ । ब्यांकका सहायक प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले नयाँ शाखाको उद्घाटन गरे ।

ब्यांकले ६६ शाखा, ६२ वटा एटीएम काउन्टर र ९७ शाखारहित आधुनिक ब्यांकिङमार्फत करीब तीन लाख ५० हजार ग्राहकलाई सेवा प्रदान गरिरहेको जनाएको छ ।

सिटी एक्सप्रेस मनी ट्रान्सफर र कोरियाको जी–मनी ट्रान्सफरबीच रेमिटेन्स आदान–प्रदान गर्ने सम्झौता भएको छ । कोरियाको आन्सनबाट सेवा शुरु गरेको जी–मनी ट्रान्सफरले छिट्टै मोबाइल एपबाट सेवा दिइने जनाएको छ ।

कोरियाबाट पठाएको रकम नेपालमा सिटी एक्सप्रेसको जुनसुकै केन्द्रबाट भुक्तानी लिन सकिनेछ । सिटी एक्सप्रेसले अमेरिका, जापान, यूएई, कतार, मलेशिया, बेलायतलगायतका मुलुकहरूबाट रेमिटेन्स भित्र्याउँदै आएको छ ।

comments powered by Disqus

रमझम