सामसङ का नयाँ मोबाइल र ट्याब

Share:
  

सामसङ ले आफ्ना दुई नयाँ उत्पादन जे सिरिजअन्तर्गत ‘जे टु, फोर–जी स्मार्टफोन’ र ग्यालेक्सी ट्याब–ए स्थानीय बजारमा ल्याएको छ । क्यूएचडी सुपर अमोलेड स्क्रिन, १.३ गिगाहर्ज क्वाड कोर र १ जीबी र्‍यामसहितको स्मार्टफोनमा तीव्र गतिमा इन्टरनेट चलाउन सकिने कम्पनीको दाबी छ । ५ मेगापिक्सेलको लिड फ्ल्याससहितको रियर र २ मेगापिक्सलको फ्रन्ट क्यामेरा सहित सुनौलो र कालो रंगमा उपलब्ध यो फोनको बजार मूल्य रु.११ हजार २९० रहेको छ ।

यस्तै स्लिम, राउन्ड एज तथा नन् स्लिप प्याटर्नसहितको ट्याब–ए मा एचडी डिस्प्ले, ४००० एमएएचको ब्याट्री, १.५ गिगाहर्जको क्वाड कोर प्रोसेसर, १.५ जीबीको र्‍याम तथा माइक्रो एसडी कार्डको प्रयोगमा २०० जीबीसम्म बढाउन सकिने गरिको ८ जीबीको इन्टरनल मेमोरीलगायतका विशेषता छन् । ५ मेगापिक्सलको ए–एफ रियर र २ मेगापिक्सलको फ्रन्ट क्यामरासहित सेतो र कालो रंगमा उपलब्ध ग्यालेक्सी ट्याब–ए को मूल्य रु.१५ हजार ९०० रहेको छ ।

सीजीका स्मार्टफोन

चौधरी ग्रुप (सीजी) ले नेपाली बजारमा मेजू प्रो–सेभेन, मेजू एम–सिक्स तथा मेजू एम फाइभ–एस मोडलका नयाँ स्मार्टफोनहरू सार्वजनिक गरेको छ । डुअल स्क्रिन, १२ मेगापिक्सलको ड्यूल क्यामेरा, ३००० एमएएचको ब्याट्री, ५.२ इन्चको एचडी डिस्प्लेसहितको मेजू प्रो–सेभेनको मूल्य रु.४७ हजार ४९९ तोकिएको छ । मेजू प्रो–सेभेन कालो रंगमा उपलब्ध छ । त्यस्तै मेजू एम फाइभ–एसमा ५.२ इन्चको एचडी डिस्प्ले र ३००० एमएएचको ब्याट्रीसहित ६४ बीटको अक्टाकोर प्रोसेसर छ । मेजू एमफाइभ–एसको मूल्य रु.१८ हजार ७९९ छ । एस फाइभमा १८ वटो फ्रिक्वेन्सी ब्याण्डहरू छन् ।

५.२ इन्चको स्क्रिन, ६४ बीटको अक्टाकोर प्रोसेसर, ३ जीबी र्‍याम र ३२ जीबीको स्टोरेज रहेको एम–सिक्समा १३ मेगापिक्सलको रियर क्यामेरा छ । ३०७० एमएएचको ब्याट्री रहेको एम–सिक्स दुईवटा संस्करणमा उपलब्ध छ । सुनौलो र कालो रंगमा उपलब्ध एम–सिक्स १६ जीबीको मूल्य रु.१८ हजार १९९ छ । त्यस्तै ३२ जीबी क्षमताको एम–सिक्सको मूल्य रु.१९ हजार ४९९ तोकिएको छ ।

आकर्षक डिजाइन र उच्च क्षमताका कारण यी सबै स्मार्टफोनले उपभोक्ताको मन जित्ने कम्पनीले दाबी गरेको छ ।

होण्डा को एक्सआर–१९० एल

होण्डा ले इन्जिनमा चाहिने जति मात्र इन्धन आपूर्ति गर्ने प्रविधि ‘फ्यूल–इन्जेक्सन’ सहितको एक्सआर–१९० एल मोटरसाइकल ल्याएको छ । एक्सएल ‘फ्यूल–इन्जेक्सन’ भएको अफरोड मोटरसाइकल नेपाली बजारमा पहिलो पटक भित्रिएको कम्पनीको दाबी छ । यो मोटरसाइकल चिसोमा पनि सजिलै स्टार्ट हुने र उत्कृष्ट माइलेज दिने कम्पनीले जनाएको छ । १२ लिटर क्षमताको इन्धन ट्यांकी र १२३ केजी तौल रहेको यो बाइकमा हाई ग्राउण्ड क्लियरेन्स, स्पोक्ड रिम, लंग ट्राभल सस्पेन्सन र कुल्ड इन्जिनलगायतका विशेषता छन् । कम्पनीले यसको मूल्य रु.५ लाख ७० हजार तोकेको छ ।

मी ए–वान रातो रंगमा

वत्सल इम्पेक्स प्रा.लि.ले रातो रंगमा मी ए–वान मोडलको स्मार्टफोन स्थानीय बजारमा भित्र्याएको छ । मी सिरिजका स्मार्टफोनको लोकप्रियता र बढ्दो मागका कारण रातो रंगको संस्करण भित्र्याएको कम्पनीले जनाएको छ । १२ मेगापिक्सलको डबल क्यामेरा, ४ जीबी र्‍याम, ६४ जीबीको रोमसँगै ३०८० एमएएचको ब्याट्री रहेको मेटलबडीको ए–वानमा फिंगर प्रिन्ट सेन्सर छ । यसको बजार मूल्य रु.२६ हजार ९९९ देखि रु.२९ हजार ९९९ सम्म छ ।

‘रेनो वाउ अफर’

रेनोको लागि नेपालको आधिकारिक वितरक एड्भान्स अटो मोबाइल प्रा.लि. ले ‘रेनो वाउ अफर’ ल्याएको छ । ‘रेनोमा दम छ, इन्ट्रेस्ट कम छ’ भन्ने नारासहित २४ माघबाट शुरु यस अफरअन्तर्गत रेनोका गाडीहरू सस्तो ब्याजदरमा खरीद गर्न सकिन्छ । ८.९९ प्रतिशत ब्याजदरमा फाइनान्सिङको व्यवस्था मिलाएको कम्पनीले दुई वर्षसम्म निःशुल्क सर्भिसिङ, एक वर्षको सडक करसँगै नगद छूटको व्यवस्था समेत गरेको छ । पाँच वर्षको वारेन्टी समेत दिएको रेनोले नेपालमा डस्टर, लोड्जी, क्विड १.० लिटर एटिएम, क्विड ०.८ लिटर र क्विड १.० लिटर गरी पाँच मोडलका गाडी बिक्री गर्दै आएको छ ।

comments powered by Disqus

रमझम