१६-२२ वैशाख २०७५ | 29 Apr- 5 May 2018

फोर्ड को फ्रीस्टाइल

Share:
  

नेपालस्थित आधिकारिक बिक्रेता जी.ओ. अटोमोबाइल्सले फोर्ड को पछिल्लो उत्पादन ‘फ्रीस्टाइल’ ‘कम्प्याक्ट युटिलिटी भेइकल’ (सीयूभी) गाडी सार्वजनिक गर्ने क्रममा १८–२० वैशाखमा ललितपुरको लबिम मलमा प्रदर्शन गर्ने भएको छ । यसले ह्याचव्याकभन्दा थोरै मात्र ठूलो गाडी रुचाउने ग्राहकहरूको मन जित्ने कम्पनीले जनाएको छ ।

आकर्षक डिजाइन र नयाँ प्रविधिसहितको फ्रीस्टाइलमा थ्री डाइमेन्सनल मेचको ग्रिल राखिएको छ । गाडीको फ्रन्ट बम्परमा स्कीड प्लेट र फ्यास्कीया सेक्सन जोडिएको छ । उच्च माइलेजसहितको फ्रीस्टाइलमा हलुका र शक्तिशाली टीआईभीसीटी पेट्रोल इन्जिन जडित छ । ९६ पीएस पावर, ६ वटा एअरब्याग र इलेक्ट्रोनिक स्टाविलिटी रहेको फोर्ड फ्रीस्टाइलमा ६.५ इन्चको टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम रहेको छ ।

बाजेको सेकुवा न्यूयोर्कमा

लोकप्रिय चेन रेस्टुरेन्ट बाजेको सेकुवाले अमेरिकाको न्यूयोर्कस्थित क्वीन्स, सन्निसाइडमा आउटलेट सञ्चालनमा ल्याएको छ । नेपालमा १३ आउटलेट रहेको बाजेको सेकुवाले न्यूयोर्कमा पहिलो अन्तर्राष्ट्रिय आउटलेट खोलेको हो । बाजेको सेकुवाले कतारको दोहा, अष्ट्रेलियाको सिड्नी र फिनल्याण्डमा समेत शाखा विस्तारको तयारी गरिरहेको छ । सबै अन्तर्राष्ट्रिय आउटलेटहरूमा नेपालबाटै कच्चा पदार्थ निर्यात गरेर परिकार तयार गर्ने बाजेको सेकुवाले जनाएको छ ।

ओप्पो को एफ–७ सार्वजनिक

ओप्पो ले नेपालमा आर्टिफिसियल इन्टेलिजेन्सी (एआई) सहितको एफ–७ स्मार्टफोन सार्वजनिक गरेको छ । सुपर फुल स्क्रिन भएको एफ–७ मा ४ जीबी र्‍याम रहेको छ । यसमा रियल टाइम हाइ डायनामिक रेञ्ज (एचडीआर) सेन्सरसहितको २५ एमपी फ्रन्ट क्यामेराको प्रयोग गरिएको छ । उमेर र लिंगका आधारमा ब्यूटिफिकेसन इफेक्ट प्रदान गर्ने एफ–७ मा फेश रिकग्निजेसन, १०८० रेजुलेशन, ६.३२ इन्चको एफएचडी डिस्प्ले लगायतका विशेषता रहेका छन् ।

मल्टि–लेयर्ड मेटालिक ग्लास ब्याकको प्रयोग गरिएको एण्ड्रोइड ८.१ मा आधारित फोनमा कलर ओएस ५.० एआई पावर म्यानेजरको प्रयोग गरिएको छ । जसले एपका आधारमा आवश्यकता अनुसार ऊर्जा विभाजन गरेर ब्याट्रीलाई किफायती बनाउँछ । तस्वीरमा रंग गाढा वा फिक्का, लुगा तथा पृष्ठभूमिको रंग परिमार्जन गर्ने भिभिड मोडको सुविधा मोबाइलमा छ । यो सोलार रेड, मुनलाईट सिल्भर र डायमण्ड ब्ल्याक गरी तीन रंगमा उपलब्ध छ ।

एनआईसी एशिया ब्यांकले डेबिट एवं क्रेडिट कार्डमार्फत कारोबार गर्ने ग्राहकहरूलाई पाँचदेखि ५० प्रतिशत छूट दिने भएको छ । १ वैशाखदेखि शुरु भएको यो योजना एक वर्षसम्म लागू हुने ब्यांकले जनाएको छ । हाल यो सुविधा मुलुकभरका ३० वटा संस्था तथा व्यापारिक केन्द्रहरूमा किनमेल गर्दा लागू भइरहेको छ । एनआईसी एशिया ब्यांकले १९२ शाखा, १९६ एटीएम लगायतबाट मुलुकभर सेवा प्रवाह गरिरहेको छ ।

आईएमई जनरल इन्स्योरेन्स लिमिटेडले ३४औं शाखा रामेछापको मन्थलीमा स्थापना गरेको छ । प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र रामेछाप उद्योग वाणिज्य संघका अध्यक्ष श्याम थापाले संयुक्त रुपमा उद्घाटन गरेको नयाँ शाखाबाट चुस्त र सहज रुपमा लघुबीमालगायत सम्पूर्ण निर्जीवन बीमा प्रदान गर्ने जनाइएको छ । कार्यक्रममा कार्यकारी निर्देशक श्रेष्ठले आईएमई इन्स्योरेन्सले देशभरि शाखा विस्तार गरी सरल, छिटो तथा विश्वसनीय सेवा प्रदान गर्ने प्रतिबद्धता समेत जनाए ।

सिटीजन्स ब्यांक इन्टरनेशनल लिमिटेड १२औं वर्षमा प्रवेश गरेको छ । ब्यांकले ६८ शाखा तथा एटीएममार्फत तीन लाख बढी ग्राहकहरूलाई ब्यांकिङ सेवा प्रवाह गर्दै आइरहेको छ । वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ब्यांकले १५ जना गरीब, पिछडिएका तथा जेहेन्दार विद्यार्थीलाई रु.१ लाख ५० हजार छात्रवृत्तिसमेत प्रदान गरेको छ । त्यस्तै माथिल्लो डोल्पाका बालबालिकाको शिक्षाका लागि रु.१ लाख छुट्याएको छ ।

comments powered by Disqus

रमझम