२३-२९ वैशाख २०७५ | 6-12 May 2018

बजाज डिस्कभर नयाँ मोडलमा

Share:
  

नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनीले बजाज डिस्कभर १२५ सीसीको नयाँ मोडल सार्वजनिक गरेको छ । जनकपुरको जानकी मन्दिरमा गरिएको नयाँ डिस्कभर सार्वजनिकीकरण समारोहमा बजाज ले मन्दिरका लागि रु.२ लाख ५१ हजार सहयोग समेत गरेको छ ।

नयाँ डिस्कभरमा एलईडी डिआरएल हेडल्याम्प, डिजिटल कन्सोल, डिटीएसआई इन्जिन लगायतका विशेषता छन् । पुरानो मोडलको डिस्कभरभन्दा १६ प्रतिशत लामो सस्पेन्सन, टेक्सचर सहितको सिट यसका थप विशेषता हुन् । कालो, रातो र नीलो तीन रंगमा उपलब्ध नयाँ डिस्कभर आकर्षक डिजाइन र उच्च माइलेजका कारण सबैको रोजाइमा पर्ने कम्पनीको दाबी छ । डिस्क ब्रेक सहितको डिस्कभरको मूल्य रु.१ लाख ९२ हजार ९०० र ड्रम ब्रेक सहितको डिस्कभरको रु.१ लाख ८३ हजार ९०० तोकिएको छ ।

फोर्स सिमेन्ट नयाँ प्याकमा

जगदम्बा सिमेन्ट उद्योगले फोर्स सिमेन्ट नयाँ प्याकमा बजारमा ल्याएको छ । नयाँ प्याकले लोड अनलोडमा सहज हुने र भण्डारणका क्रममा गुणस्तरमा कमी नआउने कम्पनीले जनाएको छ । वातावरण अनुकूल रहेको फोर्स को नयाँ प्याकमा रहेको सिमेन्ट ढुवानीका क्रममा खेर नजाने कम्पनीको दाबी छ । जगदम्बा सिमेन्टले हालै मात्र यूरोपियन कम्पनी एफएल स्मिथको भर्टिकल रोलर मिल (भीआरएम) जडान गरी उत्पादन शुरु गरेको छ । उद्योगले हाल दैनिक ८० हजार बोरा ओपीसी, पीपीसी र पीएससी सिमेन्ट उत्पादन गरिरहेको छ ।

होण्डा को ५० वर्ष

नेपालमा व्यवसाय शुरु भएको ५० वर्ष पुगेको अवसरमा जापानी अटोमोबाइल कम्पनी होण्डा को आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रा.लि.ले ‘सम्बन्ध ५० वर्षको’ उत्सव मनाएको छ । होण्डा लाई ज्योति ग्रुपले पहिलो पटक नेपाल भिœयाएको थियो । मणिहर्ष ज्योतिद्वारा सन् १९४० मा स्थापित ज्योति ग्रुपको सहायक कम्पनी हो– स्याकार । हाल पद्म ज्योतिको नेतृत्वमा रहेको ज्योतिले अटोमोबाइल्स्का साथै स्टील, जेनेरेटर, औषधि लगायत क्षेत्रमा समेत लगानी गरेको छ ।

५० वर्षको अवसरमा स्याकारले ‘५० दिनमा ५० तोला सुन’ नामक योजना समेत ल्याएको छ । योजनाअन्तर्गत होण्डा को मोटरसाइकल वा स्कूटरको खरीदमा उपभोक्ताहरूले ५० तोला सुन जित्ने अवसर पाउनेछन् । यसका साथै ग्राहकहरूले स्क्र्याच कुपनमार्फत रु.४ हजारदेखि रु.१ लाखसम्म छूट पाउनेछन् ।

सिभिल ब्यांक लिमिटेडले ‘सिभिल ट्याब ब्यांकिङ’ शुरु गरेको छ । ‘घरमै बसीबसी ब्यांकिङ खुशीखुशी’ भन्ने नाराका साथ शुरु गरिएको ट्याब ब्यांकिङमार्फत ग्राहकहरूले घरदैलोमै सिभिल ब्यांकको सेवा प्राप्त गर्न सक्नेछन् । ट्याब ब्यांकिङमार्फत ग्राहकहरूले खाता खोल्न, चेक डिपोजिट गर्न तथा अन्य ब्यांकिङ सेवाहरू लिन सक्नेछन् । यो सेवामा सिभिल ब्यांकका कर्मचारीहरू ग्राहकको घर वा कार्यालयमै पुगेर सेवा प्रवाह गर्नेछन् । ट्याब ब्यांकिङ पूर्णतया ‘पेपरलेस’ आधुनिक प्रविधियुक्त ब्यांकिङ सेवा हो । प्रविधिको प्रयोगमार्फत ग्राहकहरूलाई सहज ब्यांकिङ सेवा घरदैलोमै उपलब्ध गराउन ट्याब ब्यांकिङको शुरुआत गरिएको ब्यांकले जनाएको छ ।

राष्ट्रिय वाणिज्य ब्यांकले सुर्खेतको गुर्भाकोट, अछामको साँफेबगर, कैलालीको गैरीगंगा र खोटाङको ऐंसेलुखर्कमा नयाँ शाखा स्थापना गरेको छ । नयाँ शाखा साना व्यवसाय तथा कृषि कर्जामा केन्द्रित हुने ब्यांकले जनाएको छ । ब्यांकले हाल ६९ जिल्लामा १८६ वटा शाखा, १३० वटा एटीएम र ९३ वटा शाखारहित ब्यांकिङमार्फत सेवा प्रवाह गरिरहेको छ । चालू आर्थिक वर्षको तेस्रोे त्रैमासिक (२०७४ चैत मसान्तसम्म) को लेखा परीक्षण हुन बाँकी एकीकृत विवरण सार्वजनिक गरेको वाणिज्य ब्यांकले यस अवधिमा रु.३ अर्ब ८ करोड भन्दा बढी नाफा गरेको छ । अघिल्लो आवको सोही अवधिमा ब्यांकले रु.२ अर्ब ७ करोड नाफा गरेको थियो ।

सिटीजन्स ब्यांक इन्टरनेशनल लिमिटेडले ललितपुरको कुपन्डोलमा एटीएम सेवा सञ्चालनमा ल्याएको छ । योसँगै ब्यांकका एटीएम काउन्टर देशभर ६९ वटा पुगेका छन् । सिटीजन्स ब्यांकले ६८ वटा शाखामार्फत तीन लाख ३५ हजार बढी ग्राहकहरूलाई सेवा प्रवाह गरिरहेको छ । चालू आर्थिक वर्ष २०७४÷७५ को तेस्रो त्रैमासिकसम्म रु.६० अर्ब २५ करोड निक्षेप संकलन गरी रु.५५ अर्ब ८२ करोड कर्जा प्रवाह गरेको ब्यांकले सोही अवधिमा रु.१ अर्ब १७ करोड ७४ लाख सञ्चालन मुनाफा र रु.१ अर्ब ९८ लाख खुद नाफा गरेकोे छ ।

comments powered by Disqus

रमझम