६-१२ जेठ २०७५ | 20-26 May 2018

होण्डा ग्राजिया बजारमा

Share:
  

नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कूटरको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रा.लि. ले होण्डा ग्राजिया स्कूटर बजारमा ल्याएको छ । १२५ सीसी इन्जिन क्षमताको उक्त स्कूटर स्टाइलिस भएकोले युवा पुस्ताको रोजाइमा पर्ने कम्पनीको दाबी छ ।

इको टेक्नोलोजी प्रयोग भएको ग्राजियामा १९० एमएम फ्रन्ट डिस्क ब्रेक, लिड हेडल्याम्प, सिट खोल्ने स्विच, फ्रन्ट ग्लोब बक्स र मोबाइल चार्जिङ सकेट लगायतका विशेषता छन् ।

ग्राजियामा रहेको कोम्बी ब्रेक सिस्टम (सीबीएस) ले अचानक ब्रेक लगाउँदा पनि सन्तुलन नबिग्रने कम्पनीले बताएको छ । होण्डा ग्राजियाको बजार मूल्य रु.२ लाख १ हजार ९०० तोकिएको छ ।

ग्लुकोजको समर ड्रिंक

अभिराज भेञ्चर्स प्रा.लि. ले गर्मी मौसमका लागि समर ड्रिंक ‘ग्लुकोभिटा’ ल्याएको छ । समर डिं«कले खेलकुदपछिको थकान मेटाउने, शीतलता दिने र शरीरलाई सधैं ऊर्जाशील बनाउने कम्पनीको दाबी छ । ग्लुकोभिटा जुसी ओरेन्ज, ट्यान्गी लेमन र याम्मी म्याङ्गो फ्लेवरमा उपलब्ध छ । भिटामिन सी र भिटामिन डी टूले भरिपूर्ण ग्लुकोभिटामा संक्रमणसँग लड्ने शक्ति रहेको र बालबालिकादेखि वृद्धसम्म हरेक उमेरकाले उपभोग गर्न सक्ने बताइएको छ ।

बर्दघाटमा बजाज

हंसराज हुलासचन्द एण्ड कम्पनी प्राइभेट लिमिटेडले नवलपरासीको बर्दघाटमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । बजाज बाइकप्रति ग्राहकको बढ्दो माग सम्बोधन गर्न बर्दघाटमा शोरुम शुरु गरिएको कम्पनीले जनाएको छ । नयाँ शोरुम मार्फत ग्राहकले सेल्स, सर्भिस र स्पेयर पार्ट्सको सुविधा पाउनेछन् । शोरुमको उद्घाटन गर्दै कम्पनीका जनरल म्यानेजर योगेन गुरुङले देशभरका ग्राहकका लागि उच्च गुणस्तरको सेवा प्रदान गर्दै सेवालाई परिष्कृत गर्दै लैजाने प्रतिबद्धता जनाएका छन् ।

मारुती सिमेन्टको निःशुल्क परामर्श

मारुती सिमेन्ट लिमिटेडले गुणस्तरीय र बलियो निर्माणका लागि निःशुल्क परामर्श तथा प्राविधिक सहयोग उपलब्ध गराउने भएको छ । कम्पनीले गठन गरेको ‘मोबाइल कंक्रिट एक्सपर्ट’ नामक प्राविधिक सेवासहितको भ्यान निर्माण स्थलमै पुगेर तालिमप्राप्त प्राविधिकले कंक्रिटको कम्प्रेसिभ स्ट्रेन्थको जाँच तथा प्राविधिक परामर्श सेवा प्रदान गर्नेछन् ।

‘मोबाइल कंक्रिट एक्सपर्ट’ सेवा मार्फत ढलान सम्बन्धी प्राविधिक जानकारी, गुणस्तरीय निर्माण सामग्रीहरूको छनोट तथा मिश्रणको सही अनुपात एवं यसको कार्यक्षमताबारे जानकारी पनि दिइनेछ । उक्त सेवा हाल काठमाडौं उपत्यकाभित्र सञ्चालन गरिएको र देशभरि विस्तार गरिने कम्पनीले जनाएको छ ।

मेगा ब्यांक र टुरिजम डेभलपमेण्ट ब्यांक मर्ज भएका छन् । मर्जरपछि मेगा ब्यांकको नाममा एकीकृत कारोबार शुरु भएको छ भने ब्यांकको चुक्ता पूँजी रु.९ अर्ब २९ करोड पुगेको छ ।

यसअघि मेगा ब्यांंकको चुक्ता पूँजी रु.७ अर्ब ३७ करोड र टुरिजम डेभलपमेण्ट ब्यांकको रु.२ अर्ब १ करोड थियो । तर, शेयर आदानप्रदान अनुपात (स्वाप रेसियो) मा टुरिजमको रु.१०० को शेयरलाई मेगाको रु.९५ गणना गर्ने सहमति भएको थियो । त्यस आधारमा टुरिजमको चुक्ता पूँजी रु.१ अर्ब ९१ करोड मानेर शेयर समायोजन गरिएको हो ।

मर्जरपछि ब्यांकको निक्षेप रु.५७ अर्ब ५५ करोड पुगेको छ भने कर्जा रु.५५ अर्ब ७० करोड । मर्जरपछि मेगा ब्यांकको शाखा संख्या पनि ९१ पुगेको छ । चालू आर्थिक वर्षभित्र १०२ वटा शाखा पुर्‍याउने ब्यांकको लक्ष्य छ ।

नेपाल इन्भेष्टमेण्ट ब्यांक लिमिटेडले दोलखा, पाँचथर, नुवाकोट र रामेछापमा चार वटा शाखा तथा रसुवाको धुन्चेमा एक्स्टेन्सन काउन्टर खोलेको छ । योसँगै ब्यांकको शाखा संख्या ७० र एक्स्टेन्सन काउन्टरको संख्या पाँच पुगेको छ ।

ब्यांकले ग्रामीण क्षेत्रका जनतालाई सहज ब्यांकिङ सेवा प्रदान गर्ने उद्देश्यले प्रदेश अनुसार वित्तीय सञ्जाल नपुगेका क्षेत्रमा शाखा विस्तार गर्ने अभियानलाई तीव्रता दिएको छ ।

हिमालयन ब्यांक लिमिटेडले बाराको प्रसौनी र बाँकेको राप्तीसोनारीमा दुई शाखा सञ्चालनमा ल्याएको छ । दुवै शाखा व्यक्तिगत तथा साना व्यवसाय कर्जा लगानीमा लक्षित हुने ब्यांकले जनाएको छ । नयाँ शाखाबाट ब्यांकले ग्राहकहरूलाई मोबाइल, इन्टरनेट लगायतका आधुनिक ब्यांकिङ सेवा समेत उपलब्ध गराउने छ । नयाँ दुईसँगै ब्यांकको कुल शाखा संख्या ४९ पुगेको छ ।

comments powered by Disqus

रमझम