१०-१६ भदौ २०७५ | 26 Aug - 1 Sep 2018

सामसङ को नोट–९

Share:
  

दक्षिण एशियाली क्षेत्रका लागि सामसङ कम्पनीले ‘सामसङ ग्यालेक्सी नोट–९’ सार्वजनिक गरेको छ । भारतको नयाँदिल्लीमा आयोजित समारोहमा सार्वजनिक गरिएसँगै नेपालका लागि सामसङ को आधिकारिक बिक्रेता हिम इलेक्ट्रोनिक्सले यो मोबाइलको ‘प्रि–बुकिङ’ को व्यवस्था गरेको छ । नेपालमा किस्ताबन्दीमा समेत उपलब्ध सो मोबाइलमा एक वर्षको टुटफुटको बीमा पनि छ । ४००० एमएएचको ब्याट्री र १२८ जीबी स्टोरेज क्षमता रहेको नोट–९ को स्टोरेज क्षमता ५१२ जीबीसम्म बढाउन सकिने कम्पनीले जनाएको छ ।

यो मोबाइल लेभेण्डर पर्पल, मिडनाइट ब्ल्याक र ओसियन ब्लू गरी तीन रंगमा उपलब्ध छ । नेपालमा ग्यालेक्सी नोट–९ को मूल्य रु.१ लाख ९ हजार ९०० तोकिएको छ ।

३० प्रतिशत भुत्तानीमा टाटा सुमो

नेपालका लागि टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्रा.लि. ले मुक्तिनाथ विकास ब्यांकसँगको सहकार्यमा ३० प्रतिशत डाउन पेमेन्टमा ‘सुमो गोल्ड’ गाडी उपलब्ध गराउने भएको छ ।

‘सुमो गोल्ड’ खरीद गर्दा १०.५ प्रतिशत ब्याजदरमा गाडीको मूल्यको ७० प्रतिशतसम्म कर्जा प्राप्त हुनेछ । सिप्रदीले सुमो गोल्डको खरीदमा ग्राहकलाई निःशुल्क ड्राइभिङ्ग, मेकानिकल तालिम र एक वर्षको इन्स्योरेन्स सुविधा समेत उपलब्ध गराउनेछ ।

सन् १९८२ देखि नेपालमा टाटा मोटर्सका गाडी बिक्री गर्दै आएको सिप्रदीका देशभर २६ बिक्री आउटलेट र ३२ सेवा केन्द्र छन् ।

मेगा ब्यांक नेपाल लिमिटेड र नारायणी अटो बिजनेस प्राइभेट लिमिटेडबीच सरल किस्तामा अटो लोन प्रदान गर्ने सम्झौता भएको छ ।

सम्झौतापत्रमा मेगा ब्यांककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुँजेली र नारायणी अटोका प्रबन्ध निर्देशक अनुपकुमार बरालले हस्ताक्षर गरेका छन् । नारायणी अटोबाट गाडी किन्ने ग्राहकहरूले मेगा ब्यांकबाट १० वर्षसम्म किस्ताबन्दीको सुविधा पाउने छन् । सम्झौता अन्तर्गत अल्टो, वागेन आर र सेलेरियो गाडीमा ३५ प्रतिशत डाउन पेमेन्ट गरेपछि रु.१५ हजार मासिक किस्तामा गाडी किन्न सकिनेछ, जसको ब्याजदर १२.५० प्रतिशत हुनेछ । प्रक्रिया शुरु भएको ७ दिनमै कर्जा प्रवाह गरिने ब्यांकले जनाएको छ ।

एनआईसी एशिया ब्यांक लिमिटेडले रुपन्देहीको शुद्धोधन गाउँपालिकाको भुजौलीमा १८औं शाखारहित ब्यांकिङ सेवा सञ्चालनमा ल्याएको छ । ब्यांकले उक्त शाखारहित ब्यांकिङ सेवाको प्रतिनिधिमा गंगा ढकाललाई नियुक्त गरेको छ ।

शाखारहित सेवाबाट ग्राहकले खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने, कर्जा लगायतको सेवा पाउनेछन् । एनआईसी एशिया ब्यांकका मुलुकभर २३८ शाखा, २३२ एटीएम एवं १४ एक्सटेन्सन काउण्टर छन् ।

आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र ग्लोबल आईएमई ब्यांंक लिमिटेडबीच ब्यांकास्योरेन्स सम्झौता भएको छ । सम्झौतामा इन्स्योरेन्स कम्पनीका निमित्त महाप्रबन्धक दिनेश अमात्य र ब्यांकका तर्फबाट कार्यकारी अधिकृत जनक शर्मा पौडेलले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौतापछि ग्राहकहरूले ग्लोबल आईएमई ब्यांकको कुनै पनि शाखाबाट आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा जीवन बीमा गराउनुका साथै बीमा सम्बन्धी जानकारी प्राप्त गर्न सक्नेछन् ।

सिभिल ब्यांक लिमिटेडले आफ्नो कुनै पनि शाखाबाट ‘अनलाइन फि पेमेन्ट’ गर्न सकिने व्यवस्था गरेको छ । विदेशमा उच्च शिक्षा हासिल गर्न जाने विद्यार्थीका लागि आवश्यक परीक्षाहरू– स्याट, जीआरई, जीम्याट, एसीटी, लगायतको रजिस्ट्रेसन शुल्क सिभिल ब्यांकबाट भुक्तानी गर्न सकिनेछ । त्यस्तै, नेपालमै बसेर अध्ययन गर्न सकिने अन्तर्राष्ट्रिय कोर्स एसीसीए लगायत अन्य अनलाइन कोर्सहरूको रजिष्ट्रेसन तथा अध्ययन शुल्क पनि भुक्तानी गर्न सकिनेछ । सिभिल ब्यांकका हालसम्म ६८ शाखा, दुई लाख ५० हजार बढी ग्राहक छन् भने ब्यांकले रु.४० अर्ब बढी निक्षेप संकलन गरी रु.३९ अर्ब कर्जा परिचालन गरेको छ ।

comments powered by Disqus

रमझम