१६-२२ मंसिर २०७५ | 2-8 December 2018

सामसङ ए–७ नीलो रङमा

Share:
  

सामसङ इलेक्ट्रोनिक्सले ग्यालेक्सी ए–७ नीलो रङमा समेत बजारमा उपलब्ध गराएको छ । आकर्षक डिजाइन, नयाँ रङ, शक्तिशाली ट्रिपल क्यामेरा र कार्यक्षमता भएको सामसङ ए–७ नीलोले ग्राहकको मन जितिरहेको कम्पनीको दाबी छ ।

तस्वीर सम्पादनका लागि ग्यालेक्सी ए–७ मा विभिन्न सुविधा छन् । यसमा सिन अप्टिमाइजरको सुविधा पनि छ । यसले खाना, फूल, सूर्यास्त जस्ता विभिन्न १९ अवस्थाको स्वतः पहिचान गर्न सक्छ । जीआईएफ तस्वीर तयार गरी थप जीवन्त बनाउन सकिने र प्रो लाइटिङको सुविधा भएको यो मोबाइलबाट मल्टिपल लाइटिङ सेटिङको माध्यमले आकर्षक तस्वीर खिच्न सकिने कम्पनीले जनाएको छ ।

यसमा ७८८५ एक्सिनोस, २.२ गिगाहर्ज ओक्टा कोर प्रोसेसर, ४ जीबी र्‍याम र ६४ जीबी रोम छ । यो मोबाइलको स्टोरेजलाई मेमोरी कार्ड प्रयोग गरेर ५१२ जीबीसम्म बढाउन सकिन्छ । एन्ड्रोइड ओरियो अपरेटिङ सिस्टम रहेको ए–७ मा ३३०० एमएएचको ब्याट्री छ ।

केसका ३० मेसिन बुकिङ

निर्माण उपकरण उत्पादक कम्पनी केसले भक्तपुरमा भएको तीनदिने कनम्याक मेलामा आफ्ना ३० वटा मेसिन बुकिङ भएको जनाएको छ । मेलामा मोटर ग्रेडर, कम्प्याक्टर, ब्याकहो लोडर प्रदर्शन गरिएको थियो ।

प्रदर्शनी अवधिमा केस मोटर ग्रेडर खरीद गर्दा ब्राजिल भ्रमण, केस ब्याकहो लोडर ८५१ इक्स प्रो, ७५२ टेन्डम रोलर, ११०७ इक्स डी भाइबे्रसन रोलर खरीद गर्दा टीभीएस अपाचे बाइक र ४५० डिएक्स मिनी रोलरको खरीदमा थाइल्यान्ड भ्रमणलगायत उपहार योजना समेत समावेश गरिएका थिए ।

ज्ञान कोदोको पीठो बजारमा

केएल दुगड समूहले एक केजी प्याकमा ज्ञान कोदोको पीठो बजारमा ल्याएको छ । पीठो स्वच्छ तथा गुणस्तरयुक्त भएको कम्पनीको दाबी छ । उच्च गुणस्तरयुक्त अत्याधुनिक मिलबाट स्वच्छ वातावरणमा पीठो उत्पादन गरिएको कम्पनीले जनाएको छ । दुगडले लामो समयदेखि ज्ञान ब्राण्डका विभिन्न खाद्यपदार्थ जस्तै मैदा, आँटा, रहर, मसुर, चना दाल, मल्टीग्रेन आँटा, मकैको च्याँख्ला, मकैको पीठो तथा ज्ञान बासमती चामल उत्पादन गरिरहेको छ ।

नबिल ब्यांक लिमिटेडले ‘नबिल केयर’ योजनाअन्तर्गत आफ्ना ग्राहकलाई विभिन्न १३ रोगको उपचारमा रु.३ लाख बराबरको बीमा सुविधा उपलब्ध गराउने भएको छ । ब्यांकले रु.२५ हजारको व्यक्तिगत बचत खातावालालाई अर्वुद, हृदयघात, मिर्गाैला खराबी, स्ट्रोक, मुटुको भल्भ सर्जरी, हेपाटाइसिस, उच्च रक्तचापजस्ता रोगको उपचारार्थ रु.३ लाख बराबरको बीमा सुविधा दिने जनाएको छ ।

उक्त योजनामा १६ वर्षदेखि ६४ वर्षसम्मका बचतकर्ता सहभागी हुन सक्छन् । ब्यांकका हाल पाँच लाख ग्राहक छन् । ब्यांकको ७४ शाखा, ११८ एटीएम र एक हजार ५०० भन्दा बढी नबिल रेमिट एजेन्टसहितको देशव्यापी सञ्जाल छ ।

एनआईसी एशिया ब्यांक लिमिटेडले सानिमा इन्स्योरेन्स कम्पनी लिमिटेडसँग ब्यांकास्योरेन्स सम्झौता गरेको छ । सम्झौतापत्रमा ब्यांकका सहायक प्रमुख कार्यकारी अधिकृत सुधीरनाथ पाण्डे र इन्स्योरेन्स कम्पनीको तर्फबाट नायब प्रबन्ध निर्देशक सुबोधलाल श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार एनआईसी एशिया ब्यांकका ग्राहकले सानिमा इन्स्योरेन्स कम्पनी लिमिटेडको निर्जीवन बीमा पोलिसीहरू खरीद गर्न सक्नेछन् । एनआईसी एशिया ब्यांकका मुलुकभर २६६ शाखा, २७६ एटीएम, ३७ वटा एक्सटेन्सन काउण्टर तथा १८ वटा शाखारहित ब्यांकिङ इकाइ छन् ।

मेगा ब्यांक नेपाल लिमिटेडले प्रदेश–५ को राजधानी बुटवलमा प्रादेशिक कार्यालयको भवन बनाउने भएको छ । नयाँ बन्ने भवनको मेगा ब्यांक अध्यक्ष भोजबहादुर शाह र प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले संयुक्त रूपमा शिलान्यास गरेका छन् । ब्यांकको पञ्चवर्षीय रणनीतिक कार्ययोजनाअनुसार सातवटै प्रदेशमा प्रदेश कार्यालय स्थापना गरेर ब्यांकिङ पहुँच वृद्धि गरी रोजगारमूलक एवं उत्पादनमूलक क्षेत्रमा गरिने लगानीको बढोत्तरी गर्ने लक्ष्य रहेको ब्यांकले जनाएको छ ।

comments powered by Disqus

रमझम