२२-२८ पुस २०७५ | 6-12 January 2018

सुबिसु को ‘भयंकर अफर’

Share:
  

केबल टेलिभिजन र इन्टरनेट सेवा प्रदायक कम्पनी सुबिसु केबल नेटले १८औं वार्षिकोत्सवका अवसरमा ‘भयंकर अफर’ सञ्चालन गरेको छ । योजनाअन्तर्गत ग्राहकले क्लियर टिभी र इन्टरनेट सेवामा छूटसहित विभिन्न उपहार पाउनेछन् । क्लियर टिभी अफरअन्तर्गत रु.९९९ मा एक महीनाको प्रिमियम सेवा उपलब्ध हुनेछ । त्यस्तै २६५ भन्दा बढी डिजिटल च्यानल तथा ७० भन्दा बढी एचडी च्यानल उपलब्ध प्याकेज खरीद गर्ने ग्राहकलाई सेट–टप बक्स र जडान सेवा निःशुल्क दिने कम्पनीले जनाएको छ । इन्टरनेट सेवामा छूटअन्तर्गत १५१५ एमबीपीएस अनलिमिटेड इन्टरनेट एक महीनाका लागि उपलब्ध हुनेछ । योजनाअन्तर्गत मोडेम र जडान सेवासमेत निःशुल्क उपलब्ध हुने कम्पनीले जनाएको छ । इन्टरनेट र क्लियर टिभी दुवै लिने ग्राहकलाई रु.२ हजार ३०० मा एक महीनाका लागि २३ एमबीपीएस अनलिमिटेड डेटाका साथमा क्लियर टिभी प्रिमियम प्याकेज प्राप्त हुने कम्पनीले जानकारी दिएको छ ।

चन्द्रागिरिको साधारण शेयर

दुई वर्षदेखि काठमाडौंको चन्द्रागिरि डाँडामा केबलकार सञ्चालन गरिरहेको चन्द्रागिरि हिल्स प्रालिले रु.१५ करोड बराबरको १५ लाख कित्ता साधारण शेयर बिक्री गर्ने भएको छ । प्रति कित्ता रु.१०० मा साधारण शेयर बिक्री गर्ने तयारी गरेको कम्पनीले ३० पुसमा हुने वार्षिक साधारणसभामा शेयर बिक्रीका लागि विशेष प्रस्ताव प्रस्तुत हुने जनाएको छ ।

सरकारले चालु आर्थिक वर्षको बजेट वक्तव्यमा रु.१ अर्बभन्दा बढी लगानी भएका निजी तथा व्यावसायिक संस्थालाई साधारण शेयर बिक्री गरी लिमिटेड कम्पनीमा परिवर्तन गर्न प्रोत्साहन गर्ने नीति लिएको छ । केबलकारमा आईएमई समूहको मुख्य लगानी छ ।

एभरेष्ट इन्स्योरेन्स कम्पनी र नर्भिक इन्टरनेशनल हस्पिटलबीच नगदरहित स्वास्थ्य सेवासम्बन्धी सम्झौता भएको छ । नर्भिकका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंह र एभरेष्ट इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कमल गौतमले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । सम्झौतासँगै एभरेष्ट इन्स्योरेन्सबाट ‘एभरेष्ट हेल्थ केयर’ स्वास्थ्य बीमालेख लिएका ग्राहकले नर्भिक इन्टरनेशनल हस्पिटलमा भर्ना भई उपचार गराउँदा नगदरहित उपचार सेवा पाउनेछन् ।

एनआईसी एशिया ब्याङ्कले थप दुई स्थानमा शाखारहित ब्याङ्किङ सेवा सञ्चालन गरेको छ । ब्याङ्कले यूकेएडअन्तर्गतको ‘सक्षम एक्सेस टू फाइनान्स’ कार्यक्रमकोे सहकार्यमा दार्चुलाको महाकाली नगरपालिका–७ धापमा र महाकाली नगरपालिका–९ दत्तुमा शाखारहित सेवा सञ्चालनमा ल्याएको हो ।

शाखारहित ब्याङ्किङ सेवाबाट ग्रामीण क्षेत्रका बासिन्दाले स्थानीय प्रतिनिधिमार्फत सेवा लिन सक्नेछन् । यस्तो ब्याङ्किङ सेवाबाट विभिन्न निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, मोबाइल रिचार्ज गर्ने, विभिन्न सेवाको महसुल भुक्तानी गर्ने, स्वीकृत सीमाभित्र रही कर्जा कारोबार गर्ने, खातामा रहेको रकमको जानकारी र संक्षिप्त ब्याङ्क स्टेटमेन्ट प्राप्त गर्ने जस्ता सुविधा उपलब्ध हुनेछ ।

कृषि विकास ब्याङ्कले मध्यमाञ्चल क्षेत्रीय तालिम केन्द्र वीरगञ्जमा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ । ब्याङ्कको चितवनको पर्सा–खैरहनी शाखाको आयोजनामा सम्पन्न कार्यक्रममा विभिन्न सहकारीका अध्यक्ष, व्यवस्थापक, स्कूलका प्रधानाध्यापक, शिक्षक, समाजसेवी तथा सर्वसाधारण गरी करीब ५० जना सहभागी थिए ।

comments powered by Disqus

रमझम