१७-२३ चैत २०७५ | 31 March - 6 April 2019

‘ड्याट्सन गो’ नयाँ मोडलमा

Share:
  

नेपालका लागि ड्याट्सन गाडीको आधिकारिक बिक्रेता पायोनियर मोटोकर्प प्रालिले ‘ड्याट्सन गो’ को नयाँ मोडल सार्वजनिक गरेको छ ।

यो गाडीमा राइड कन्ट्रोल एड्भान्स सस्पेन्सन सिस्टम, डुअल एअर ब्याग, एन्टी लक ब्रेकिङ सिस्टम, इलेक्ट्रोनिक ब्रेक फ्रोर्स सिस्टम, पार्किङ सेन्सर लगायतका विशेषता छन् ।

त्यस्तै १४ इन्चको डायमन्ड–कट अलोय ह्वील, १८० एमएम ग्राउन्ड क्लियरेन्स, २४५० एमएमको ह्वील वेस, २६५ लिटर लगेज स्पेस, ४.६ एम टर्निङ्ग रेडियस लगायतका विशेषता रहेको यो ह्याचब्याक कारमा एन्ड्रोइड अटो प्ले र एप्पलकार प्ले सुविधा सहित ७ इन्चको टचस्क्रिन इन्फोटेन्मेन्ट छ । यसले प्रतिलिटर १९.८३ किलोमिटर माइलेज दिने कम्पनीको दाबी छ ।

गो ए–ओ, ‘टी’ र टी–ओ गरी तीन मोडलमा उपलब्ध गाडीको शुरुआती मूल्य रु.२४ लाख ९९ हजार तोकिएको छ ।

बागबजारमा राष्ट्रिय पोशाकको शोरुम

काठमाडौंको बागबजारमा स्ट्यान्डर्ड राष्ट्रिय पोशाक सञ्चालनमा आएको छ । २०५१ सालदेखि नमस्ते स्ट्यान्डर्ड टेलर्स मार्फत शर्टिङ/शूटिङ सञ्चालन गर्दै आएको समूहले नेपाली पोशाकको शोरुम शुरु गरेको हो । शोरुममा तयारी नेपाली पोशाक पाइनुका साथै अर्डर अनुसार तयार पारिने सञ्चालक संगीता प्रधानले जानकारी दिएकी छन् । शोरुममा रु.१७०० देखि रु.७ हजारसम्मका नेपाली राष्ट्रिय पोशाक पाइने प्रधानको भनाइ छ । नयाँ वर्ष २०७६ को अवसरमा १५ चैतदेखि वैशाख महीनाभर १५ प्रतिशत छूट समेतको व्यवस्था गरिएको छ ।

आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले दाङको घोराही र सल्यानको श्रीनगरमा शाखा विस्तार गरेको छ ।

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले घोराही शाखाको उद्घाटन गरेका हुन् । त्यस्तै श्रीनगर शाखाको उद्घाटन अध्यक्ष ढकाल र सल्यान जिल्ला समन्वय समिति अध्यक्ष केशबहादुर विष्टले संयुक्त रुपमा गरेका हुन् ।

उद्घाटन कार्यक्रममा बोल्दै ढकालले ग्राहकको आर्थिक सुरक्षा र समृद्धिका लागि आईएमई समूह सक्रिय रहेको बताए । आईएमई लाइफ इन्स्योरेन्सले ६७ शाखा मार्फत देशभर सेवा प्रदान गर्दै आएको छ ।

मुक्तिनाथ विकास ब्याङ्क लिमिटेड र महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडबीच बीमा सेवा प्रवाह गर्ने सम्बन्धमा सम्झौता भएको छ ।

सम्झौतामा ब्याङ्कका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गुरूङ र इन्सुरेन्सका नायव प्रमुख कार्यकारी अधिकृत कमल पन्थीले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार मुक्तिनाथ विकास ब्याङ्कले देशभर रहेका १२० शाखाबाट महालक्ष्मीको जीवन बीमा योजना बिक्री गर्नेछ ।

महालक्ष्मीले सावधिक बीमा योजना, डबल सावधिक बीमा योजना र लगानी फिर्ता बीमा योजना सार्वजनिक गर्दै २७ माघदेखि कारोबार गर्दै आएको छ ।

इन्सुरेन्सले काठमाडौं, पोखरा, वीरगञ्ज, इटहरी, लहान, नारायणघाट, बुटवल, कोहलपुर र सुर्खेतबाट सेवा प्रवाह गरिरहेको छ । चैत महीनाभित्र काठमाडौं उपत्यकाका थप १० स्थानबाट सेवा दिने तयारी गरिएको कम्पनीले जनाएको छ ।

आधुनिक ब्याङ्किङ, ग्रामीण ब्याङ्किङ र लघुवित्त सेवा एकै साथ सञ्चालन गर्दै आएको मुक्तिनाथ विकास ब्याङ्कले दाङको घोराही र बर्दियाको गुलरियामा शाखा विस्तार गरेको छ ।

मुक्तिनाथ विकास ब्याङ्कले ११४ शाखा र २२ एटीएम मार्फत ६ लाख बढी ग्राहकलाई सेवा दिइरहेको छ ।

comments powered by Disqus

रमझम