२२-२८ वैशाख २०७६ | 5-11 May 2019

फक्सवागन का दश अफर

Share:
  

जर्मन कम्पनी फक्सवागन ले नेपालमा कारोबार शुरु गरेको एक दशक पूरा गरेको अवसरमा ‘दश नयाँ अफर’ सार्वजनिक गरेको छ । अफर अनुसार, प्रथम १०० जना ग्राहकलाई रु.२५ लाख ९० हजारमा पोलो कार उपलब्ध गराइनेछ । त्यस्तै, विभिन्न मोडलका गाडीहरुमा रु.१० लाखसम्म नगद छूट, तुरुन्त फाइनान्सको व्यवस्था, निःशुल्क एस्सोसरिज, पहिलो वर्षको निःशुल्क सडक दस्तुर, सट्टापट्टामा बोनस लाभ, १० वर्षसम्म निःशुल्क सर्भिस, दुई वर्षको लागि निःशुल्क सडक सहायता लगायतका अफर घोषणा गरेको छ । फक्सवागन ले सामाजिक उत्तरदायित्व अन्तर्गत महिला र बालबालिकाका क्षेत्रमा काम गर्ने संस्थाहरुलाई रु.५० लाख बराबरको आर्थिक र भौतिक सहयोग पनि गरेको छ ।

सिप्रदी लाई अन्तर्राष्ट्रिय वितरक अवार्ड

नेपालमा टाटा कम्पनीको आधिकारिक विक्रेता सिप्रदी टे«डिङले वर्षको उत्कृष्ट वितरकको अवार्ड जितेको छ । भारतको टाटा मोटर्सले आफ्ना अन्तर्राष्ट्रिय वितरकमध्ये उत्कृष्टलाई हरेक वर्ष यो अवार्ड प्रदान गर्छ । यूएईको दुबईमा भएको अन्तर्राष्ट्रिय वितरक सम्मेलनमा सन् २०१८ का लागि वर्षको उत्कृष्ट अवार्ड सिप्रदीलाई प्रदान गरिएको हो । सिप्रदीले कम्पनीले प्रदर्शन गरेको विशिष्ट कार्य तथा मान्यताका कारण यो अवार्ड जित्न सफल भएको जनाएको छ । सिप्रदीले वर्षको उत्कृष्ट वितरकका साथै सर्वश्रेष्ठ ग्राहक सेवा लगायतका अन्य दश पुरस्कार समेत जितेको छ । नेपालमा टाटा मोटर्सका कार, पिकअप भ्यान, ट्रक आदि लोकप्रिय छन् ।

मुक्तिनाथ विकास ब्याङ्कले कृषि क्षेत्रमा लगानी विस्तारको लागि मुक्तिनाथ कृषि कम्पनीसँग सहकार्यको सम्झौता गरेको छ । सम्झौता अनुसार, मुक्तिनाथ विकास ब्याङ्कका ग्राहक सदस्यहरुलाई मुक्तिनाथ कृषि कम्पनीले कृषिमा आधारित उद्यम/व्यवसाय गर्न आवश्यक पर्ने मल, बीउविजन, उपकरण र प्राविधिक ज्ञान समेत प्रदान गरी ग्राहक सदस्यहरुबाट उत्पादित कृषि उत्पादनहरुलाई बजारीकरणमा सहयोग गर्नेछ । यसैबीच, मुक्तिनाथ विकास ब्याङ्क र धुलिखेल माउण्टेन रिसोर्ट, धुलिखेलबीच समेत सम्झौता भएको छ । सम्झौताबमोजिम मुक्तिनाथ विकास ब्याङ्कका भिजा डेविट कार्ड भएका सबै ग्राहकहरुले उक्त रिसोर्टबाट विभिन्न सेवासुविधामा १० प्रतिशतसम्मको विशेष छुट पाउनेछन् ।

सिटी एक्सप्रेस मनी ट्रान्सफरले बेलायतको रिडिङमा शाखा कार्यालय स्थापना गरेको छ । कम्पनीले मोबाइल एप्लिकेशन र अनलाइन बाहेक बेलायतका जुनसुकै ठाउँबाट आफ्ना प्रतिनिधि मार्फत सेवा दिने जनाएको छ । सिटी एक्सप्रेसले विश्वभरबाट नेपालमा विप्रेषण सेवा दिने योजना समेत सार्वजनिक गरेको छ ।

सनराइज ब्याङ्कले काभ्रेको नालामा शाखारहित ब्याङ्किङ सेवाको शुरुआत गरेको छ । यो ब्याङ्कको २९औं शाखारहित ब्याङ्किङ सेवा हो । ब्याङ्कले ब्याङ्किङ सेवा नपुगेका क्षेत्रमा शाखारहित ब्याङ्कलाई विस्तार गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

जनता ब्याङ्क नेपालको सहायक कम्पनी जनता क्यापिटल लिमिटेडको अध्यक्षमा सुजितकुमार शाक्य नियुक्त भएका छन् । जनता ब्याङ्कको नायव प्रमुख कार्यकारी अधिकृत शाक्य ब्याङ्कको प्रतिनिधित्व गर्दै जनता क्यापिटलको अध्यक्ष नियुक्त भएका हुन् ।

comments powered by Disqus

रमझम