१९-२५ जेठ २०७६ | 2-8 June 2019

हाईलाइफका खाद्य पोखरामा*

Share:
  

नेपाल एभरेष्ट फूड एण्ड स्न्याक्स, राइजिङ सन एग्रो इण्डष्ट्रिज र हाईलाइफ फूड नेपालको संयुक्त सहकार्यमा रुपन्देहीमा उत्पादित खाद्य सामग्री पोखरामा पनि बिक्री शुरु गरिएको छ ।

हाईलाइफ फूडले कर्नफ्लेक्स, चिउरा, सोयाबिन, मल्टीग्रेन ओट्स र मुस्ली लगायतका खाद्य सामग्री बिक्री गर्दै आएको छ । हाईलाइफको चिउरा मकवानपुरे टाइचिन धानबाट उत्पादन गरिएको, मस्यौराको उत्पादन गहुँ, चामल, मकै, चनादाल र भटमासबाट गरिएको तथा चिनी राखिएको र नराखिएको दुवै प्रकारका कर्नफ्लेक्स विभिन्न तीन आकारमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । हाईलाइफका देशभर १०० भन्दा बढी बिक्रेता छन् ।

कतार एअरवेजको छूट

कतार एअरवेजले मेगा ब्याङ्कका ग्राहकलाई हवाई यात्रामा विशेष छूट दिने भएको छ । एअरवेज र ब्याङ्कबीच भएको सम्झौता अनुसार, ब्याङ्कका डेबिट र क्रेडिट कार्ड प्रयोगकर्तालाई आधार भाडादरमा १० प्रतिशत छूट दिइनेछ । यो छूट कतार एअरवेजको उडान हुने १६० वटै देशमा लागू हुनेछ ।

ग्राहकले काठमाडौंको हात्तीसारस्थित एअरवेजको कर्पोरेट कार्यालयबाट मेगा ब्याङ्कको कार्ड प्रयोग गरेर छुट सहितको टिकट लिन सक्नेछन् । त्यस्तै, मेगा स्मार्ट मोबाइल ब्याङ्किङ मार्फत पनि टिकट खरीद गर्न सकिनेछ । ब्याङ्कका क्रेडिट कार्ड प्रयोगकर्तालाई मासिक किस्तामा समेत टिकट उपलब्ध हुने जनाइएको छ ।

औरा को रेफ्रिजिरेटर

के एल दुगड ग्रुप अन्तर्गतको स्मार्ट अप्लाइन्सेज्ले औरा ब्राण्डको रेफ्रिजिरेटर सार्वजनिक गरेको छ । १९० लिटरको यो रेफ्रिजिरेटरमा सिंगल डोर, कुलिङ प्रोफाइल लगायतका विशेषता छन् ।

यसमा रहेको ‘ह्युमिडिटी प्रोफाइल’ ले तापक्रमलाई नियन्त्रणमा राख्न मद्दत गर्छ । त्यस्तै, ‘नो फ्रोस्ट’ प्रविधिले चिसो हावालाई क्रिस्टल आइसमा परिणत गर्ने हुँदा खाना वा फलफूलको स्वादमा कुनै परिवर्तन आउँदैन । औरा रेफ्रिजिरेटरमा अण्डा र आइस राख्ने छुट्टै ट्रे समेत रहेको छ । दुई वर्षको वारेन्टी सहितको रेफ्रिजिरेटरको मूल्य रु.२४ हजार ३०० तोकिएको छ ।

श्रृंखला अग्नि ग्रुपको ब्राण्ड एम्बासडर

पूर्व मिस नेपाल श्रृंखला खतिवडा अग्नि ग्रुपको ब्राण्ड एम्बासडर नियुक्त भएकी छन् । अग्नि ग्रुप महिन्द्रा गाडीको नेपालस्थित आधिकारिक बिक्रेता हो । ब्राण्ड एम्बासडर घोषणाका अवसरमा खतिवडालाई विद्युतीय ई–२० गाडी प्रदान गरिएको छ । कार्यक्रममा बोल्दै खतिवडाले स्वच्छ पर्यावरणका लागि विद्युतीय गाडीको प्रयोगमा जोड दिनुपर्ने बताइन् । त्यसैगरी, अग्नि ग्रुपले बोलेरो पिकअप गाडीका २५ जना ग्राहकका छोराछोरीलाई जनही रु.२५ हजार राशीको छात्रवृत्ति समेत हस्तान्तरण गरेको छ । महिन्द्राले ई–२०, बोलेरो पिकअपका साथै एक्सयूभी, क्यूब, स्कर्पियो लगायत विभिन्न मोडलका गाडी बिक्री गर्दै आएको छ ।

comments powered by Disqus

रमझम