३० कात्तिक - ६ मंसीर २०७१ | 16-22 November 2014

भिलाज सिटीस्केप

Share:
  

चौधरी ग्रुप अन्तर्गतको सीजी प्रोपर्टिजले भिलाज सिटीस्केप नामक नयाँ हाउजिङ परियोजना शुरु गर्ने भएको छ। २४ रोपनी जग्गामा ६१ वटा एकल घर रहने यो परियोजनालाई कम्पनीले 'गुणस्तरीय बसोबासका लागि' भनेको छ। ललितपुरको सातदोबाटोबाट पाँच मिनेटको दूरीमा अवस्थित हात्तीवनस्थित यो परियोजनामा सु–सज्जित बगैंचा, प्राइभेट कार पार्किङ्ग, जीम, स्वीमिङ्गपुल लगायतका सुविधा रहनेछन्। कम्पनीले यसअघि प्रथम चरणमा संयुक्त आवासको निर्माण सकिसकेको छ।

एनसेल एप क्याम्प

मोबाइल सेवा प्रदायक एनसेलले कृषि, पर्यटन, शिक्षा र कर्पोरेट सोलुसन्स सम्बन्धी विधागत मोबाइल एप बनाउन चाहने सहभागीका लागि विषयगत ज्ञान दिने छुट्टाछुट्टै सेमिनारको आयोजना गरेको छ। एप क्याम्पका उत्कृष्ट–१५० समूहमध्ये विषयगत एप बनाउन चाहनेका लागि आयोजित सेमिनारमा विज्ञहरूले स्थानीय आवश्यकता, बजार र प्रविधिबारे ज्ञान प्रदान गरेका थिए।

कलर्स को एफ–थर्टी

टेलिटक प्रालिले कलर्स मोबाइलको एफ थर्टी नामक बारफोन बजारमा भित्र्याएको छ। रु.२ हजार ६९५ मा उपलब्ध यो सेट बलियो, टिकाउ र आकर्षक रहेको कम्पनीको दाबी छ। डब्लुएपी र जीपीआरएस, एफएम, डिजिटल क्यामेरा, टर्च लाइट, एमपीथ्री सहित दुई सीम लगाउन मिल्ने एफ–थ्रीको ब्याट्रीको आयु लामो भएको कम्पनीले जनाएको छ।

यामाहाका विजेता

एमएडब्लु इन्टरप्राइजेजले दशैं र तिहारमा ल्याएको 'यामाहा विजय यात्रा अभियान' को आठौं साप्ताहिक विजेता घोषणा गरेको छ। 'लक्की ड्र' मार्फत छानिएका चार भाग्यशाली विजेताले रु.२५ हजारदेखि रु.१ लाखसम्मको नगद पुरस्कार पाउने छन्। यसैबीच कम्पनीले यामाहा मोटरसाइकलको खरीदमा 'रु.१० हजार सीधै छूट' को घोषणा गरेको छ।

उत्कृष्ट–१०० मा हुवावे

चिनियाँ दूरसञ्चार प्रविधि तथा स्मार्टफोन उत्पादक कम्पनी हुवावे थम्सन रोयटर्सको 'विश्वका उत्कृष्ट १०० उत्पादक २०१४' सूचीमा पर्न सफल भएको छ। यसअघि यो कम्पनी इन्टरब्राण्ड कन्सल्टेन्सीको उत्कृष्ट सय ब्राण्डको सूचीमा परेको थियो।

डाबरको भेटघाट

डाबर नेपालले डाबर च्यवनप्रासका ब्रान्ड एम्बेसडर नायक राजेश हमालसँग पोखरामा सरोकारवालाको भेटघाट गराएको छ। होटल ग्रान्ड पोखरामा आयोजित कार्यक्रममा नायक हमालले अभिनय अनुभव साटेका थिए।

आइरिनको शैक्षिक मेला

इन्टरनेशनल एजुकेसन रिप्रेजेन्टेटिभ्स इनिसिएटिभ अफ नेपाल (आइरिन) ले शैक्षिक मेला आयोजना गर्ने भएको छ। आउँदो ६–७ मंसीरमा काठमाडौंस्थित होटल अन्नपूर्णमा आयोजना गर्न लागिएको मेलामा शिक्षा मन्त्रालयसहित विभिन्न निजी संस्थाको सहभागिता रहने आइरिनले जनाएको छ। ३८ वटा स्टल रहने मेलामा देशभरका विभिन्न कलेज र विश्वविद्यालयहरुले शैक्षिक परामर्श दिनेछन्।
सिभिल ब्याङ्कले गोरखाको थुमी गाविसको आर्खेतबाट शाखारहित सेवा थालेको छ। धमला टे्रडर्समार्फत दिइने यस सेवा अन्तर्गत रकम झिक्न, जम्मा गर्न, स्थानान्तरण गर्न र रेमिट्यान्स सुविधासहितका ब्याङ्किङ सेवा प्राप्त गर्न सकिनेछ।

सिद्धार्थ ब्याङ्कले शेयरधनीलाई १२ प्रतिशत बोनस शेयर तथा ११.१६ प्रतिशत नगद लाभांश दिने भएको छ। गत आर्थिक वर्षमा ब्याङ्कले रु.७० करोड खुद मुनाफा गरेको थियो।

लक्ष्मी ब्याङ्कले आर्थिक वर्ष २०७०/७१ को नाफाबाट शेयरधनीहरूलाई २० प्रतिशत बोनस शेयर तथा १.०५ प्रतिशत नगद लाभांश दिने भएको छ। सँगै ब्याङ्कले अधिकृत पूँजी वृद्धि गरी रु.५ अर्ब पुर्‍याउने निर्णय पनि गरेको छ।

प्रभु ब्याङ्कले भारत–नेपालबीचको रेमिट्यान्स सेवा शुरु गरेको छ। यसका लागि प्रभुले भारत महाराष्ट्रस्थित द रत्नाकर ब्याङ्क लिमिटेड (आरबीएल) सँग रणनीतिक समझदारी गरेको छ। समझदारीपश्चात् भारतबाट आरबीएलका शाखाहरु मार्फत पठाइने रेमिट्यान्स प्रभुका शाखा र तोकिएका एजेन्टमार्फत पाउन सकिनेछ।

comments powered by Disqus

रमझम