२८ मंसीर-५ पुस २०७१ | 14-20 December 2014

गोदरेज को वासिङ मेसिन

Share:
  

गोदरेज को आधिकारिक वितरक इओएल कम्पनीले इओन यु–सोनिक वासिङ मेसिन बजारमा भित्र्याएको छ। एकवर्षे वारेन्टी सुविधासहित मेटालिक रेड रङमा उपलब्ध यो वासिङ मेसिनको बजार मूल्य रु.४९,९९० रहेको छ। ७.५ किलोसम्म कपडा धुने क्षमतासहितको वासिङ मेसिनमा भएको यु–सोनिक स्टेन रिमुभर टेक्नोलोजीले लुगाका दागहरुलाई सहजै हटाउने कम्पनीको दाबी छ।

भर्चुअल टे्रकिङ

आईट्राभल्स प्रालिले www.walkwithyeti.com नामक ट्राभल वेबसाइट शुरु गरेको छ। यो साइट मार्फत आफ्नो रुचिको ट्रेकिङ रुटबारे भर्चुअल जानकारी लिन सकिन्छ। प्रसिद्ध टे्रकिङ रुटहरुका बारेमा अक्षर, ग्राफिक्स, चित्र आदि मार्फत तथ्यांक, जानकारी र सूचना राखिएको साइटमार्फत भर्चुअल ट्रेकिङको रमाइलो पनि पाउन सकिन्छ।

नाङ्लो एक्सप्रेस

नाङ्लो इन्टरनेशनलले काठमाडौंको न्यूरोडमा नाङ्लो एक्सप्रेस रेस्टुरेन्टको स्थापना गरेको छ। शहरिया व्यस्ततालाई लक्षित गर्दै न्यूरोडको भूगोलपार्क नजिकै स्थापित रेस्टुरेन्टमा उचित मूल्यमा विभिन्न स्वादका गुणस्तरीय खाना तत्काल उपलब्ध हुने नाङ्लोले जनाएको छ।

कन्सुलर चौधरी

चौधरी समूहका प्रबन्ध निर्देशक अरुण चौधरी नेपालका लागि हंगेरीको अवैतनिक कन्सुलरमा नियुक्त भएका छन्। नेपालसमेत हेर्ने भारतको नयाँदिल्लीस्थित हंगेरीको राजदूतावासमा उनले ४ डिसेम्बरमा आफ्नो पदको शपथ लिइसकेका छन्।

नामी नर्थह्याम्पटन

नेपाल मल्टी–डिसिप्लिनरी इन्ष्टिच्यूट (नामी) र बेलायतको द युनिभर्सिटी अफ नर्थह्याम्पटनबीच सहकार्य सम्बन्धी पत्रमा हस्ताक्षर भएको छ। अब नामीले युनिभर्सिटी अफ नर्थह्याम्पटनको सम्बन्धनमा बीबीए र एमबीए अध्यापन गराउने छ। हाल नामीले यो विश्वविद्यालयको सम्बन्धनमा बीएस्सी (अनर्स) कम्प्युटिङ्ग एवं वातावरण विज्ञान अध्यापन गराइरहेको छ।

अर्घाखाँची सिमेन्ट बजारमा

भैरहवास्थित अर्घाखाँची सिमेन्ट प्रा.लि.ले अर्घाखाँची ब्रान्डको ओपीसी सिमेन्टको व्यावसायिक उत्पादन शुरु गरेको छ। देशभित्रका मुरारका अर्गनाइजेशन, सिद्धार्थ ग्रुप र केडिया अर्गनाइजेशन तथा भारतीय कम्पनी उमा सिमेन्टको रु.३ अर्बको संयुक्त लगानीमा स्थापित उद्योगले मुख्य कच्चापदार्थ क्लिङ्कर स्वदेशकै प्रयोग गरेर उत्पादन शुरु गरेको हो। उद्योगले यसअघि क्लिङ्कर मात्र उत्पादन गर्दै आएको थियो।

दैनिक १ हजार टन उत्पादनको लक्ष्य लिएको उद्योगले ठूला पूर्वाधार परियोजना र भवन निर्माणमा केन्द्रित भएर गुणस्तरीय उत्पादन गर्ने जनाएको छ। ७२ एमपीएको सिमेन्ट भएकाले गुणस्तरीय र बलियो सिमेन्ट आवश्यक पर्ने पूर्वाधारका परियोजनालाई सुहाउँदो भएको सञ्चालक पशुपति मुरारकाले बताए। जलविद्युत् लगायतका परियोजनाले सिमेन्टको गुणस्तर परीक्षण गरेर सन्तुष्टि जनाइसकेको उनको दाबी छ। निकट भविष्यमै दैनिक उत्पादन क्षमतालाई २ हजार ४०० टन पुर्‍याउने मुरारकाले बताए। सडक पूर्वाधार, विद्युत् आपूर्ति र सरकारी निर्णय प्रक्रिया सहज हुँदा आफ्नो उत्पादन भारतमा बिक्री गर्ने अवसर रहेको उनले बताए।

मेगा ब्याङ्कको सञ्चालक समितिले आफ्ना शेयरधनीहरुलाई १२ प्रतिशत बोनस शेयर दिने प्रस्ताव गरेको छ। सँगै बोनस शेयर बापत लाग्ने कर रकम पनि ब्याङ्कले नै बेहोर्ने र त्यसका लागि ०.६३ प्रतिशत रकम नगद लाभांश छुट्याइएको छ।

सिटिजन्स ब्याङ्क इन्टरनेशनलले कोरियाको केबी कुकमीन ब्याङ्क मार्फत रेमिट्यान्स सेवा प्रदान गर्न बेस्ट रेमिटसँग सम्झौता गरेको छ। सम्झौतापछि कोरियामा रहेका नेपालीहरुले बेस्ट रेमिट र केबी कुकमीन ब्याङ्कबाट पठाएको रकम सिटिजन्सका नेपालस्थित शाखाबाट पाउन सक्नेछन्।

लक्ष्मी ब्याङ्कले आफ्नो ३९औं शाखा भोजपुर बजारमा स्थापना गरेको छ। ग्रामीण र नगरोन्मुख क्षेत्र लक्षित गरेर निकट भविष्यमै थप ६ शाखा स्थापनाको तयारी गरिरहेको ब्याङ्कले जनाएको छ।

सिभिल ब्याङ्कले सिन्धुपाल्चोकको लामोसाँघुमा शाखारहित ब्याङ्क स्थापना गरेको छ। योसहित सिभिलको शाखारहित ब्याङ्कको संख्या ९ पुगेको छ।

स्ट्याण्डर्ड चार्टर्ड ब्याङ्कको २८औं साधारणसभाले शेयरधनीलाई ४१.५ प्रतिशत नगद लाभांश र १० प्रतिशत बोनस शेयर दिने निर्णय गरेको छ। ब्याङ्कले गत आर्थिक वर्षमा रु.१ खर्ब ९७ अर्ब नाफा कमाएको थियो।

comments powered by Disqus

रमझम