४ चैत्र २०६९ | 17 March 2013

असफल अभ्यास

Share:
  

राष्ट्रिय योजना आयोगको निर्देशनमा एउटा स्वतन्त्र कन्सल्ट्यान्टले भर्खरै गरेको अध्ययनले २०६२/६३ मा सरकारले ल्याएको 'कर्णाली रोजगार कार्यक्रम' पूर्णरूपमा असफल भएको निष्कर्ष निकालेको छ।

कर्णालीमा बेरोजगारी हटाउन बेरोजगारलाई भत्ता दिने उद्देश्य राखेर शुरू गरिएको कार्यक्रम स्थानीय बुद्धिजीवी र दलका नेता/कार्यकर्ताको विरोधपछि रोजगारी सिर्जना गर्नेमा परिमार्जित भएको थियो। त्यो परिमार्जनपछि पहुँच नभएका, सरकारी जागिर नभएका, द्वन्द्वपीडित, दलित तथा महिलाका लागि कार्यक्रम सञ्चालन गर्ने योजना ल्याइयो। योजना आयोगको मूल्यांकन छ, तर त्यो कार्यक्रम लक्षित समुदायमा पुग्न सकेन। योजना आयोगका सहसचिव पुष्पलाल शाक्य भन्छन्, “पाउनुपर्नेले पैसा पाएनन् भने कामै नगरी पैसा लिएको पनि भेटियो।”

कर्णालीमा दिगो विकास गर्ने योजना ल्याउनुपर्नेमा प्रचारमुखी कार्यक्रम ल्याइँदा त्यसले स्थानीयस्तरमा किचलो बढाएको स्थानीय नै बताउँछन्। हुम्लाका पूर्व जिविस सभापति तथा कांग्रेस केन्द्रीय सदस्य जीवनबहादुर शाही भन्छन्, “त्यसै आएको रकम बाँड्नुपर्छ भनेर दामासाही खाने प्रवृत्ति देखियो।”

सहसचिव शाक्य पनि कर्णाली रोजगार कार्यक्रममा भागबन्डा भएको स्वीकार्छन्। “को गरीबीको रेखामुनि छ, को बेरोजगार हो भन्ने नछुट्टिंदा रकम दुरुपयोग भयो, अनुगमन नहुनु कमजोरी रह्यो” शाक्य भन्छन्।

कर्णाली रोजगार कार्यक्रम अन्तर्गत २०६८/६९ सम्ममा रु.१ अर्ब ३१ करोड ६० लाख खर्च भइसकेको छ। त्यसमा कालीकोटमा सबैभन्दा बढी रु.४८ करोड ६५ लाख २५ हजार खर्च भयो भने जुम्लामा रु.३६ करोड ४६ लाख ६३ हजार, मुगुमा रु.१८ करोड ९८ लाख ९८ हजार, हुम्लामा रु.१३ करोड ८४ लाख ४३ हजार र डोल्पामा रु.१३ करोड ४६ लाख ९२ हजार खर्च भयो।

स–साना भौतिक पूर्वाधार निर्माण, मर्मत सुधार तथा सीप विकास र आय आर्जन सम्बन्धी आयोजना वा कार्यक्रमको छनोट सम्बन्धित गाविसका उपभोक्ता समूहले गर्ने कार्यक्रमको कार्यविधिमा उल्लेख छ। कार्यविधिले योजना छनोटदेखि कार्यान्वयन तहसम्म विज्ञ प्राविधिकको सहभागिता रहने व्यवस्था नगरेकाले उपभोक्ता समूहलाई रकम दुरुपयोग गर्न सजिलो भएको मानिन्छ। जुम्लामा स्थानीय विकास अधिकारी रहेका स्थानीय विकास मन्त्रालयका उपसचिव रमेश केसी भन्छन्, “कर्णालीका विपन्न बासिन्दा कामको खोजीमा भारततिर जान नपरोस् भनेर कार्यक्रम ल्याइए पनि कार्यक्रमको रकम डोजरका मालिक र छड, सिमेन्ट कम्पनीसम्म पुग्यो।”

तुफान न्यौपाने, नेपालगञ्ज


गुणकारी गँड्यौला मल

गँड्यौलाबाट उत्पादन हुने मल माटो बचाउने जैविक औषधि हो। र, चितवनका किसानले यो भेउ पाइसकेका छन्। यसको प्रमाण हो, मंगलपुर–९ स्थित नरेन्द्र गिरीको दिव्या अर्गानिक फर्टिलाइजर जहाँ यो वर्ष १५० टन गँड्यौला मल बिक्री भयो। गिरी भन्छन्, “थप दुई बिघा जमिन भाडामा लिएर वार्षिक ३ लाख टन मल निकाल्ने योजना बनाएको छु।”

किसानहरुले धमाधम गँड्यौला मल प्रयोग गर्न थालेकैले २०६६ फागुनमा खुलेको गिरीको उद्योग चलेको हो। उद्योगले गँड्यौलासहितको मल प्रतिकिलो रु.१६४ र सादा मल रु.२० मा बिक्री गरिरहेको छ। कृषि सामग्री कम्पनी लिमिटेडले गिरीको उद्योगबाट गँड्यौला मल किनेर किसानलाई सहुलियतमा बाँडेपछि चितवनमा यसको लोकप्रियता बढेको छ। उत्पादन विधि बुझ्न उद्योगमा आउने किसानहरु उत्तिकै छन्। जिल्ला कृषि विकास कार्यालयका अनुसार गीतानगर, दिव्यनगर, फूलबारी, शारदानगर, बछौलीलगायतका क्षेत्रका किसानहरु त आफैं उत्पादनमा लागेका छन्। जिल्ला कृषि कार्यालयका वरिष्ठ बाली संरक्षण अधिकृत शिवप्रसाद रिजालका अनुसार गँड्यौला मलमा नाइट्रोजन, पोटास, फस्फोरस, क्याल्सियम, म्यानिसियम, सल्फर, आइरन, जिंक, तामा जस्ता तत्वहरु गोबर मलको तुलनामा १० देखि १२ प्रतिशतसम्म बढी हुन्छ।

सविता श्रेष्ठ, नारायणघाट


श्रेष्ठलाई अवार्ड

उद्यमी लक्ष्मणबहादुर श्रेष्ठ 'अष्ट्रियन डेकोरेसन अफ अनर इन गोल्ड' बाट सम्मानित भएका छन्। उनले नेपाल र अष्ट्रियाबीचको सम्बन्ध विकासमा पुर्‍याएको योगदानको कदर गर्दै अष्ट्रिया सरकारले उक्त अवार्ड प्रदान गरेको हो। श्रेष्ठ नेपालमा केवुल कारको विकासका पायोनियर मानिन्छन्। अष्ट्रियन कम्पनी डोपेलमायरको सहयोगमा श्रेष्ठले स्थापना गरेको मनकामना केवलकार १४ वर्षदेखि सञ्चालित छ। मनकामना केवुलकारको संचालनसँगै गोरखास्थित मनकामना मन्दिरसम्मको यात्रा सहज र रोमाञ्चक भएको छ ।


पानासोनिक को एसी

पानासोनिक ले नयाँ एयर कण्डिसन (एसी) नेपाली बजारमा बिक्री शुरू गरेको छ। कम्पनीको नेपालस्थित अधिकृत बिक्रेता त्रिवेणी ग्रुपले 'एफएसभी भेरिएवल रेफ्रिजेरेन्ट फ्लो' एयर कण्डिसन नेपाल ल्याएको जनाएको हो। ऊर्जा बचत तथा सहज डिजाइनका कारण ६० एचपी क्षमताको यो एसी निकै उपयोगी हुने कम्पनीको दाबी छ।

नयाँ अल्टो ८००

सुजुकी मोटर्सको नेपालस्थित अधिकृत बिक्रेता सिजी अटोमोवाइल्सले नयाँ अल्टो ८०० कार नेपालमा बिक्री शुरू गरेको छ। नयाँ कारले प्रतिलिटर पेट्रोलबाट २२.७४ किलोमिटर माइलेज दिनेछ, जुन अघिल्लो संस्करणको भन्दा १५ प्रतिशत बढी रहेको कम्पनीको दाबी छ। कारका तीन मोडलमध्ये अल्टो एसटीडी को मूल्य रु.१३ लाख ४९ हजार, अल्टो एसी को रु.१४ लाख ९९ हजार र अल्टो एलएक्सआई को रु.१६ लाख २९ हजार पर्ने जनाइएको छ। देशभरमा १७ शहरका २२ शोरुमबाट कार खरीद गर्न सकिने जनाइएको छ।

इन्डेक्स को वार्षिक बिक्री

इन्डेक्स फर्निचरले १ मार्चदेखि पहिलो वार्षिक बिक्री (एनुअल सेल) शुरू गरेको छ। १ मेसम्म चल्ने एनुअल सेलमा स्टुल, सोफा, डाइनिङ सेट, रिक्लिनर्स र कफी टेबलमा २० देखि ३० प्रतिशत छुट दिने जनाइएको छ।

होण्डा थापाथलीमा

स्याकार कम्पनीले राजधानीको थापाथलीमा होण्डा गाडीको नयाँ शोरुम स्थापना गरेको छ। राजधानीको कार हब भनेर चिनिने थापाथलीस्थित शोरुमले ग्राहकलाई थप छनोटको अवसर दिएको कम्पनीले जनाएको छ। शोरुममा होण्डा ब्रियो, सिटी, ज्याज लगायतका विभिन्न मोडलका कार बिक्रीका लागि राखिने छन्।

यामाहा का विजेता

यामाहा द्वारा सञ्चालित लाइक माई स्टाइल क्याम्पेनका विजेता अशेष श्रेष्ठ र समिर मानन्धरले क्रमशः रु.२ लाख र रु.१ लाख नगद जितेका छन्। कम्पनीको नेपालस्थित अधिकृत बिक्रेता एमएडब्लु इन्टरप्राइजेजले यामाहा मोटरसाइकलका साथ स्टाइल फोटो खिचेर फेसबुकमा राख्नेमध्ये बढी लाइक पाउनेलाई पुरस्कार दिने घोषणासहित क्याम्पेन सञ्चालन गरेको थियो।

सुजल को फन्टिक्स टफी

लक्ष्मी ग्रुप अन्तर्गतको सुजल फुड्सले फन्टिक्स टफी नेपाली बजारमा ल्याएको छ। दूध र काजुको सम्मिश्रणबाट उत्पादित टफी मौलिक स्वाद पारखीहरूले मन पराउने कम्पनीको दाबी छ।

बैंक अफ काठमाण्डू ले साना तथा मझौला व्यवसायी लक्षित बीओके उद्यमशील कर्जा शुरू गरेको छ। न्यूनतम रु.२ लाखदेखि रु.२० लाखसम्म उपलब्ध गराइने तथा कर्जा चुक्ता नगरुन्जेलसम्म ऋणीको दुर्घटना बीमा गर्ने जनाइएको छ। नयाँ व्यवसाय शुरू गर्न तथा पुरानो व्यवसाय भए पूँजी प्रबर्द्धन गर्न, भौतिक संरचना निर्माण गर्न यो कर्जा लिन सकिन्छ। दुई वर्षदेखि ६ वर्ष अवधिलाई पाइने कर्जा अग्रिम भुक्तानी गर्न चाहे ब्यांकले दस्तुर नलिने जनाएको छ।

नेपाल इन्भेष्टमेन्ट ब्यांकले रूपन्देहीको मर्चवार, मझागावाँबाट शुरू गरेको शाखारहित ब्यांकिङ सेवा ७५ वटै जिल्लामा पुर्‍याउने लक्ष्य राखेको छ। आधुनिक प्रविधिमार्फत घरदैलोमै सेवा दिने यस्तो ब्यांकिङ अन्तर्गत रकम झिक्न, राख्न, बिल भुक्तानी लगायत सुविधा हुने जनाएको छ।

ग्रान्ड ब्यांकले सामाजिक उत्तरदायित्व अन्तर्गत रोटरी क्लब अफ वागमतीसँग मिलेर ३० जना रोट्र्‍याक्टलाई दुईदिने ब्यांकिङ तालीम दिएको छ। केएफए स्कूलमा फागुन १८ र १९ मा सम्पन्न तालीममा १८ देखि ३० वर्ष उमेर समूहका रोट्र्‍याक्टहरू सहभागी थिए।

comments powered by Disqus

रमझम