५ - ११ भदौ २०७३ | 21-27 August 2016

साँच्चिकै 'गेम चेञ्जर'

Share:
  

'राजनीतिका नयाँ तुरुप' (३० साउन–४ भदौ) रिपोर्टमा भनिएजस्तै विमलेन्द्र निधि 'गेम चेञ्जर' नै हुन्। नेपालको पछिल्लो सत्ता परिवर्तनमा निधिले चलाखीपूर्ण भूमिका निर्वाह गरे। त्यस कामका लागि दक्षिणी छिमेकी मुलुक भारतसँग पनि निकट रहे। उनले छोटो समयमै फड्को मारेको देखिन्छ। अब सत्ता सञ्चालनका क्रममा होशियारी पुर्‍याएनन् भने आगामी राजनीतिक यात्रा बिग्रन सक्छ। पछिल्लो समयमा बदलिएको नेपालको राजनीति कठिन हुँदै गएकाले निधिले होशियारीपूर्वक कदम चाल्नु उपयुक्त हुन्छ।

डम्बर शाही, अनलाइनबाट

रिपोर्टमा भनेजस्तै नेपालको राजनीतिक घटनाक्रमका निधि 'गेम चेञ्जर' नै बने। नेपाली कांग्रेसमार्फत नेपालको राजनीतिमा उदाएका निधिले आगामी दिनमा राम्रो काम गर्दै जालान्। उनले गर्ने कामहरू नेपाली जनताले राहत महसूस गर्ने गरी अघि बढोस्। शुभकामना!

मोहन माझी, अनलाइनबाट

दाहालको चुनौतीपूर्ण यात्रा

'संविधान संशोधनः सजिलो छैन' (३० साउन–४ भदौ) रिपोर्टमा संसद्मा तेस्रो स्थानमा रहेको माओवादी केन्द्रलाई उपराष्ट्रपति, सभामुख, उप–प्रधानन्त्रीसहित रोजेर आठ वटा मन्त्रालय दिंदा पनि चित्त नबुझाउनुमा आन्तरिक भन्दा पनि बाह्य कारणले बढी भूमिका खेलेको छ। यस्तै, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको प्रधानमन्त्रीमा दोहोरिने चाहना पनि पूरा भएको छ। तर उनी आफ्ना ज्ञात–अज्ञात चाहनाहरूलाई अघि बढाउन सक्ने अवस्थामा छैनन्। बरु दाहाल स्वयं देशका लागि चुनौती बन्न पुगेका छन्। उनलाई जसरी प्रधानमन्त्रीका रूपमा तयार पारियो, त्यो नै गलत छ। किनकि उक्त प्रक्रियामा दक्षिणी गन्ध मिसिएको छ। त्यसकारण चुनौतीपूर्ण अवस्थामा सत्ताको बागडोर सम्हालेका दाहालले चुनौतीलाई कसरी सामना गर्छन्, त्यही आधारमा मुलुकको राजनीतिक 'कोर्स' अघि बढ्ने देखिन्छ।

त्यस्तै नेकपा (एमाले) को सहयोग विना संविधान संशोधन गर्न नसकिने भएकाले पहिलेकै सरकारसँग मोर्चाले वार्ताको लागि वातावरण बनाउनुपर्थ्यो। सरकार परिवर्तनमा भूमिका निर्वाह गरेकाले मधेशी मोर्चाले भनेजस्तो संविधान संशोधनका लागि एमाले तयार नहुन सक्छ।

विवेक नेपाली, अनलाइनबाट

बेमौसमी बाजा

'हस्ताक्षरकर्ताबाटै हमला' (३० साउन–४ भदौ) रिपोर्टले 'कहीं नभएको जात्रा हाँडीगाउँमा' भन्ने उक्तिलाई प्रष्ट्याएको छ। संविधान बनाउन आदिवासी/जनजातिले आफैंले हस्ताक्षर गरेका थिए। तर अहिले आएर आफैंले हस्ताक्षर गरेको संविधानको विरोध गर्नु नाजायज काम हो। लामो समयको कठिन प्रयासपछि बनेको नयाँ सविधानको विरोध गर्नेलाई टुलुटुलु हेरेर बस्न मिल्दैन। उनीहरूको विरोध केवल सत्ताका लागि मात्र हो जस्तो लाग्छ। किनभने संविधानको विरोध गर्ने चित्रबहादुर केसी र कमल थापा पछि त्यही संविधानकै आधारमा बनेको सरकारमा सहभागी भए। सरकारमा गएपछि एकाएक बोली फेरे। यसले कतै आदिवासी/जनजातिले पनि केवल सत्ता पाउनका लागि मात्रै विरोधमा उत्रेका त होइनन् भन्ने प्रश्न उब्जाएको छ। यसले मुलुकमा संक्रमणकाल लम्ब्याउने भएकाले आदिवासी/जनजाति महासंघले यस्ता अनावश्यक विरोधका कार्यक्रमलाई तत्काल त्याग्नु उचित हुन्छ।

अश्मिना रञ्जित, अनलाइनबाट

घुस्याहा कर्मचारी

नेपालका सरकारी कार्यालयको अवस्था र कामगराइ 'कामै नगर्ने नापी' (३० साउन–४ भदौ) समाचारमा प्रष्टै उल्लेख छ। नेपालमा सरकारी कार्यालय निष्त्रि्कय बन्दा जनताले चाहेको सेवा पाउन सकेका छैनन्। काम गराउन पनि उल्टै नापी जस्ता कार्यालयहरूलाई घूस खुवाउनुपर्ने अवस्था छ। यस्ता घुस्याहा कर्मचारीका कारण हामीजस्ता जनताले दुःख पाउनु परेको छ। समयमा कार्यालयमा उपस्थित नहुने र आए पनि काम नगरिदिने कर्मचारीलाई सरकारले पालिरहन आवश्यक छैन। जनताले तिरेको करबाट तलब खाने सरकारी कर्मचारीलाई जबसम्म सेवा गर्ने भावना र आफ्नो कर्तव्य बोध हुँदैन, तबसम्म यो समस्या रहनेछ।

माधव कार्की, अनलाइनबाट

हिमाल लाई धन्यवाद!

हिमाल (३० साउन–४ भदौ) मा प्रकाशित 'नेपाली एपः विदेशमा बजार' रिपोर्ट पढेर खुशी लाग्यो। रिपोर्टमार्फत आइटी क्षेत्रमा काम गर्ने हामीहरू जस्ता युवाले गरेका कामलाई प्राथमिकता दिएर उठान गरिएको रहेछ। वास्तवमै नेपालमा आईटी क्षेत्रमा सानो वा ठूलो समूहमा काम गर्ने युवा धेरै छन्। तर तिनीहरूमध्ये केहीले मात्र अन्तर्राष्ट्रिय बजारमा आफूलाई उभ्याएका छन्। एपजस्तै नेपालीले बनाएका वेब पेज र सफ्टवेयरले विदेशमा बजार पाएका छन्। यसमार्फत हामीहरू जस्ता युवाले राम्रो आम्दानी र नाम पनि कमाएका छौं। तर सरकारले यस क्षेत्रलाई प्राथमिकतामा नराख्नु बिडम्वनाको कुरा हो। सरकारले नेपाली युवाको क्षमतालाई पहिचान गरेर थप हौसला दिने काममा ढिला गर्नुहुँदैन। आगामी दिन हिमाल ले यस्तो काम गर्नेहरूको बारेमा थप सामग्री प्रकाशित गरोस्। हिमाल लाई धन्यवाद।

प्रेशा श्रेष्ठ, अनलाइनबाट

comments powered by Disqus

रमझम