७-१३ कात्तिक २०७३ | 23-29 October 2016

हाम्रा बौद्धिकलाई सलाम

Share:
  

'हाम्रा बौद्धिक' (१६ असोज–६ कात्तिक) रिपोर्ट हाम्रा लागि नयाँ छ। हाम्रो समाजमा बौद्धिकहरू छन्, उनीहरू भएकै कारण हामी राज्य अव्यवस्थासँग जोरी खोज्न सकिराखेका छौं। अहिलेसम्म यो विषयमा चर्चा हुनसकेको थिएन, यसका लागि हिमाल लाई धन्यवाद। बौद्धिकहरूका विषयमा चर्चाको शुरूआत भएको छ, यसलाई निरन्तरता दिनुपर्छ।

हामीले मिलेर काम गर्ने हो भने असंभव केही छैन। सानातिना गल्ती सबैका हुन्छन्। गल्ती स्वीकार्दै परिवर्तन हुनुपर्छ र गर्नुपर्छ। तेरो–मेरो भन्दा पनि हाम्रो मानेर काम गर्न सकियो भने समाज, राष्ट्रलाई स्वर्ग बनाउन सकिन्छ।

व्यक्तिगत भन्दा पनि सार्वजनिक हितका विषयमा निर्धक्कसँग बोलिराख्ने र समाजलाई दिशानिर्देश गरिराख्ने नेपाली बौद्धिकहरूलाई सलाम।

हिरेन्द्र खत्री, अनलाइनबाट

बौद्धिक सबैले चिनेकै हुनुपर्छ भन्ने छैन, तर शक्तिसामु सत्य बोल्ने क्षमता भने हुनैपर्छ। यस्तो क्षमता भएका मानिसहरू हिजो पनि थिए, आज पनि छन। र, भोलि पनि हुनेछन्। तर, परिवर्तनको लागि यति नै पर्याप्त नहोला शायद।

सागर बुढाथोकी, अनलाइनबाट

नेपालमा पढेका मान्छेको आर्थिक अवस्था कमजोर छ। जसले गर्दा उनीहरू चाप्लुसे बन्न पुग्छन्। पेट पाल्नलाई पनि सत्य बोल्न सक्दैनन्। यो समस्या नेपालमा मात्रै होइन, भारतलगायतका अन्य देशमा पनि छ। चाप्लुसे हुनुबाट बौद्धिकहरूले जोगिन सक्नुपर्छ।

धर्मा उपाध्याय

जयपृथ्वी क्याम्पस, बझाङ

अब नयाँ पुस्ता अगाडि आउनुपर्छ। यसो भन्दैमा भाँडिएका विवेकहीन चाहिं हुनु भएन। हाम्रो भविष्य भनेकै नयाँ पुस्ता हुन्।

विमल रिजाल

विभाग प्रमुख, काठमाडौं महानगरपालिका

बौद्धिक सबैले चिनेकै हुनुपर्छ भन्ने छैन, तर शक्तिसामु सत्य बोल्ने क्षमता भने हुनैपर्छ। तर हाम्रा कथित इन्टेलेक्चुअलहरू त शक्तिका सामु, शक्तिले चाहे अनुसारको कुरा मात्र बोल्छन्।

गैरे झविन्द्र, अनलाइनबाट

दमदार दशैं साहित्य

'साहित्य विशेष' (१६ असोज–६ कात्तिक) हिमाल को दशैं साहित्य अन्तर्गत यो यसपटक दमदार साहित्यिक खुराक मिल्यो। हिमाल का दशैं अंक नियमित पढ्दै आएको छु। यो अंकमा स्थापित साहित्यकारसँग नयाँ पुस्ताका स्रष्टाहरूका रचना पढ्दा आनन्द आयो।

कथा, कविता र निबन्धहरू उत्कृष्ट थिए। यो अंकमा राम्रोका बीचमा केही कमसल पनि घुसाए जस्तो लाग्यो। आगामी अंकहरूमा कमसल घुसाउने चलाखी नगर्नुहोला।

कृष्ण कुम्पुरे, इमेलबाट

लोकमानलाई नछोड

'कारबाही छल्न राजीनामा' (१६ असोज–६ कात्तिक) रिपोर्टमा भने जस्तै अहिले पनि लोकमानसिंह कार्की राजीनामा गर्न सक्छन्। अब उनलाई महाअभियोग लगाएरै छोड्नुपर्छ। नत्र फेरि ब्युँतिन सक्छन्।

हुन त सरकार नै लाचार भएको देशमा के हुन्छ भन्न सकिन्न। भ्रष्टहरूलाई उन्मुक्ति दिन पनि लोकमानलाई बचाउन सक्छन्। खबरदारी गर्नुपर्छ।

नीलराज फुयाल, अनलाइनबाट

खै उताका जटिलतामा बोलेको?

'सीमाञ्चलका स्वार्थ' (९–१५ असोज) टिप्पणी चित्तबुझदो छ। खुला सीमाना र 'रोटी–बेटी' नाताकै कारण नेपाल–भारत सम्बन्ध पृथक् र विशिष्ट बनाएको छ। तर, यो विशिष्टताले दुवैतर्फ समान कानूनी हैसियत प्राप्त गरेको देखिंदैन। जस्तो कि, नेपालकी छोरी भारतकी बुहारी बनेमा पाउने नागरिकता प्रमाणपत्रको प्रक्रिया जटिल र झ्न्झ्टिलो रहेछ।

पूर्व सभासद् आत्माराम साहले आफ्नी छोरीको विवाह सीमावर्ती भारतीय राज्य उत्तरप्रदेशको बरेलीमा गरिदिनुभयो। तर, विवाह दर्ता गर्न खोज्दा 'विदेश मन्त्रालयमार्फत समन्वय गरेर आउन' भनियो। तर, विगतमा यस्तो थिएन। किन मधेशी मोर्चा नेपालतिरका कुरामा मात्रै बोल्छ, भारततिरका जटिलताका विषयमा बोल्दैन? यो उनीहरूको दास मानसिकता होइन? राजेन्द्र महतो, उपेन्द्र यादव र महन्त ठाकुरले यस विसंगतिका विषयमा उत्तर दिन सक्छन्?

दामोदर भट्टराई

मिडेलेक्स पोलिटेक्निक, बेलायत

हाइटी नबनोस्

'टहरामै पढाइ' (९–१५ असोज) रिपोर्टले साह्रै मन दुख्यो। महाभूकम्पको डेढ वर्ष बितिसक्दा पनि विद्यार्थी टहरामै पढाइ गरिरहेको कुरा पीडादायी छ। यो सबैका लागि चिन्ताको कुरा हो। ती विद्यार्थीको पीडाले पोल्नुपर्ने हो, नेताहरूलाई। किन सबै चूपचाप छन्, कोही त बोल्नुस्। नत्र हाम्रो देश हाइटी जस्तै बन्नेछ।

समुल ब्ल्याकर, अनलाइनबाट

गगनले सुन्छन् कि?

'उपचार या राष्ट्रघात' (९–१५ असोज) को टिप्पणी मन पर्‍यो। उपचारका लागि विदेश जानु सही कदम हो र? यो कुरा स्वास्थ्यमन्त्री गगनकुमार थापाले सुन्छन् कि!

प्रा. विश्वनाथ भण्डारी

विभागीय प्रमुख, पाटन क्याम्पस

comments powered by Disqus

रमझम