'दोबाटोमा कांग्रेस' (५–११ मंसीर) रिपोर्टले नेपाली कांग्रेसको विगत र वर्तमान केलाएको छ। कांग्रेसले राम्रो काम पनि गरेको र देशलाई दुर्दशामा पनि धकेलेको छ। शक्ति र सामर्थ्य बुझन नसक्ने कांग्रेसमा फेरि त्यही समय दोहोरिएको छ। राम्रो पार्टी भएर पुग्दैन, नेतृत्व पनि राम्रो चाहिन्छ भन्ने उदाहरण कांग्रेस हो। बीपी नेतृत्वको कांग्रेस र शेरबहादुर देउवा नेतृत्वको कांग्रेसलाई एकै किसिमले दाँज्न नमिल्ला तर नेतृत्वमा आइसकेपछि गर्नुपर्ने र गर्न सक्ने काम त उस्ता उस्तै हुन्। देउवा नेतृत्वमा छउञ्जेल कांग्रेस भनेको गन्तव्यहीन पार्टी हो भन्दा फरक पर्दैन।
हेम राई, अनलाइनबाट
नेपालमा धेरै पुराना कम्पनी छन्। कति बन्द भइसके, कति अहिले पनि उपभोक्तालाई लुटिरहेका छन्। नेपाली कांग्रेस पनि नेपालको पुरानो लुटेरा कम्पनी हो। यसले केही गर्दैन। लुटेरा कम्पनीबाट आशा गर्नु नै बेकार हो।
दीपक दुलाल, इमेलबाट
नेपाली कांग्रेस प्रजातन्त्र र राष्ट्रियताका लागि सम्झिनुपर्ने पार्टी हो। यसले सशस्त्र संघर्षदेखि नेपालको नयाँ संविधान जारी गर्ने बेलासम्म नेतृत्वदायी भूमिका खेलेको छ। २००७ सालको क्रान्ति, २०४६ सालको जनआन्दोलन, २०६२/६३ सालको दोस्रो जनआन्दोलन– सबैमा कांग्रेसको भूमिका मत्वपूर्ण छ। तर अहिले नेतृत्वको ढुलमुलेपनले कांग्रेसलाई नै ढुलमुले बनाएको छ। कांग्रेसका युवा नेता तथा कार्यकर्ता र हामी सबैले दबाब दिनुपर्ने बेला आएको छ।
सुरेन्द्र बम
सोल, दक्षिणकोरिया
पुरानो कम्पनी
'पहाड अलग पारेर मधेशमा दुई प्रदेश हुनसक्दैन' (५–११ मंसीर) अन्तर्वार्ता बढेर खासै चित्त बुझ्ेन। कांग्रेस नेता कृष्णप्रसाद सिटौला पनि स्पष्ट देखिएनन्। उनले भन्न सक्नुपर्थ्यो, 'संघीयता चाहिंदैन।' अहिले हाम्रो देशको ठूलो समस्या भनेकै संघीयता हो। जबसम्म संघीयता खारेज हुँदैन, तबसम्म यस्तै रडाको मच्चिरहन्छ। थुप्रै नेताहरूले आर्थिक र पदीय भविष्यको सुनिश्चितता यसैमा देखेका छन्। त्यसैले उनीहरू चूपचाप छन्, यो गलत हो भन्ने थाहा पाएर पनि बोलेका छैनन्।
सञ्जय पराजुली, इमेलबाट
कृष्णप्रसाद सिटौलाले जे भने पनि मधेशका मामिलामा अरू पार्टी भन्दा कांग्रेस नै नजिक देखिएको छ। पहाड र मधेशलाई अलग पारेर बनाइने प्रदेशमा सबैभन्दा पहिले कांग्रेसले नै समर्थन गर्नेछ। कांग्रेस नेताहरू नै हस्ताक्षर गर्नेछन् किनकि भारत छ। भारत विना त कांग्रेस डेग पनि चल्न सक्दैन भन्ने कुरा छर्र्लङ्ग छ।
अनिल न्यौपाने, अनलाइनबाट
बेच्ने काम नहोस्
'आफ्नै भूउपग्रह!' (५–११ मंसीर) रिपोर्टले केही आशा जगाएको छ। नेपालको आफ्नो भूउपग्रह हुँदा हरेक कुरामा सुविधा हुन्छ। इन्टरनेट, टेलिफोन, सञ्चारमाध्यमहरूलाई सहज हुन्छ भने हामीले सस्तोमा सुविधा उपभोग गर्न पाउँछौं।
अर्को त्योभन्दा पनि महत्वपूर्ण कुरा हाम्रो स्वअस्तित्व हो। आफ्नै भूउपग्रह छ भन्ने आत्मगौरव पनि बढ्छ। आजको युगमा यो ठूलो कुरा हो।
हाम्रो ठाउँ अरू देशलाई बेच्ने काम नहोस्।
पदम थालिङ, अनलाइनबाट
स्कूलमै सिकाऔं
'बचाउने विधि सीपीआर' (५–११ मंसीर) रिपोर्ट पढ्दा मनमा चसक्क भयो। कतिपय कुरा थाहै नपाएर बिग्रिंदो रहेछ। स–सानो कुरामा ध्यान नदिंदा ज्यान नै जाने रहेछ। त्यसैले यो कार्डियोपल्मनरी रिससिटेसन (सीपीआर) विधिका विषयमा जानकारी दिन आवश्यक छ। यसलाई प्राथमिक कक्षाहरूदेखि नै जानकारी दिऔं, पढाउन शुरू गरौं।
ईश्वर श्रेष्ठ, इमेलबाट
पुनर्संरचनामा होशियार
'पाँचथरको सन्देश' (५–११ रिपोर्ट) नेताहरूलाई पढाउनुपर्ने थियो। यसलाई गाउँको कुरा भनेर चूपचाप बस्यौं भने देशभरि नै फैलिनेछ। पाँचथरमा देखिएको स्थानीय निकाय पुनर्संरचनाको विवाद देशभरिकै हो। कतै बाहिर आएको छ, कतै गुम्सिएको छ। बाहिर आउन थाल्यो भने सबैतिरबाट आउनेछ। यो विवादले फेरि देशलाई जलाउन बेर लगाउने छैन। त्यसैले राज्य पुनर्संरचनाको कुरा चाहे स्थानीय निकाय हुन् या प्रदेश ध्यान दिनै पर्छ। सबै राजनीतिक दलले आ–आफ्ना नेता–कार्यकर्तालाई नियन्त्रणमा राख्नै पर्छ। संयमतापूर्वक पुनःसंरचनाका विषयमा कदम चाल्नुपर्छ।
रिजन मडै
धनगढी, कैलाली