१९-२५ मंसिर २०७३ | 4-10 December 2016

पञ्चपछि वामपन्थीको पालो

Share:
  

'पञ्च–मिलन' (१२–१८ मंसीर) आवरण रिपोर्ट पढेपछि केही आश जाग्यो। यसलाई दुई कोणबाट हेर्न सकिन्छ। वामपन्थी विचारबाट हेर्दा एउटा देखिएला, दक्षिणपन्थी विचारबाट हेर्दा अर्को।

देशलाई नेपाली माटोमै जन्मेको राष्ट्रवादी शक्तिको खाँचो थियो। यो एकताले प्रजातन्त्रप्रेमी राष्ट्रवादी नेपालीमा ठूलो हौसला पलाएको छ। किनकि दक्षिणपन्थीको एकताले वामपन्थीलाई एकता गर्न दबाब पुग्छ। देशको अस्तित्व, अस्मिता, अखण्डता, राष्ट्रियता, एकता र स्वतन्त्रता बचाउने राष्ट्रवादी राजनीतिक शक्ति आवश्यक थियो। हिमाल ले दिएको प्राथमिकताले पनि राप्रपा त्यसलायक छ भन्ने प्रष्ट हुन्छ। अब वामपन्थी पनि एक हुनुपर्छ।

दिवस केसी, अनलाइनबाट

धर्मको राजनीति छोड

'एकता २०६२/६३ पछिको गलत मार्गचित्रमाथि प्रहार हो' (१२–१८ मंसीर) अन्तर्वार्ताले राप्रपा एकताको भित्री पाटो खुलाएको छ। अग्रगमनका लागि होइन, पश्चगमनका लागि यो एकता भएको देखिन्छ। यो धर्मका नाममा गरिने राजनीति खेलका लागि मात्रै हो।

राप्रपा अध्यक्ष थापाले संविधान घोषणाताका हिन्दूराष्ट्रको नाममा बानेश्वरमा कतिलाई लाठी र पानीको फोहोरा खुवाए। ती सब बिर्सेर उप–प्रधानमन्त्री बन्न हिंडे। कुर्सीमा हुँदा कहिल्यै हिन्दूधर्मको र हिन्दूराष्ट्रको सम्झ्ना गरेनन्। अहिले फेरि धर्मको नाममा राजनीति गरेर उपप्रधानमन्त्री पड्काउने खेलमा लागेका छन्। हिन्दूवादीलाई कम्तीमा पाप र धर्मको ख्याल त हुनुपर्ने हो, यिनमा देखिन्न।

राज गुरुङ, अनलाइनबाट

हिन्दूराष्ट्रको सहमतीय बिन्दुमा पुग्नुभएछ। ठीकै छ, तर यस्तै दाउपेच र स्वार्थी खेल भयो र महाधिवेशनले गणतन्त्र पारित गर्‍यो भने अनि देखिनेछ असली हैसियत। हुन त दुवैको महत्व समाजले महसूस गरिरहेको छ। तथापि अबका दिनमा हिन्दूराष्ट्र भन्दा राजतन्त्र जनताको रोजाइको प्राथमिकतामा परिसकेको छ। बाह्य हाउगुजीको पछि लाग्नु भन्दा समाजको आन्तरिक मनोभाव बुझने कोशिश गर्नुपर्छ। अझै पनि केही आशा बाँकी नै छ।

भानु नेपाल, अनलाइनबाट

संघीयताले देश टुक्रिंदैन

'विखण्डनको चाल' (१२–१८ मंसीर) टिप्पणी पढेपछि कांग्रेस नेता गिरिजाप्रसाद कोइरालाको याद आयो। कुनै बेला गिरिजाबाबुले सही भनेका थिए, 'एमालेको तीन काम– ढुंगा, मुढा, चक्काजाम!' देश विखण्डनको अनिवार्य शर्त हो, कुनै निश्चित समुदायको मान्छेलाई अर्को निश्चित समुदायसँग घृणा उत्पन्न गराउनु। यदि भारतले नेपालको तराई क्षेत्रलाई टुक्र्याएर आफूमा गाभ्न चाहन्छ भने त्यसको अनिवार्य शर्त हो, मधेशमा पहाडियाप्रति र पहाडमा मधेशीप्रति घृणा फैलाउने।

मधेशमा पहाडियालाई नानाथरी भनेर घृणा फैलाउने एउटा प्रमुख पात्रको नाम सिके राउत हो भने पहाडमा केपी ओली हुन्। केपी ओली तराई विखण्डन गर्नकै लागि अहिले कम्मर कसेर लागिरहेको भान हुन्छ। उनको यो योजनालाई सघाउन हजारौं मान्छे दिनरात मिडियामा बोलिरहेका छन्, प्रदीप ज्ञवालीको लेख पनि त्यस्तै लाग्यो।

सुरेश कुस्मी, इमेलबाट

प्रदीप ज्ञवालीको विचार मननीय छ। प्रदेशको सीमा चलाउने अहिलेको सरकारी योजना भारतबाट निर्देशित भएको जस्तो छ। भोलिको नेपाली तराई, मधेश र पहाड आजको भारत र पाकिस्तान जस्तो नबनोस्।

विवेक घिमिरे, अनलाइनबाट

गाउँ जाऔं

'लडाकू फेलो' (१२–१८ मंसीर) रिपोर्टले केही आश जगाएको छ। यस महान् कार्यमा सहभागी सबै जो गाउँमा गएर यो काम गरिरहनुभएको छ, त्यसका लागि धन्यवाद। सरकारी विद्यालय र दुर्गम क्षेत्रका विद्यालयको शिक्षाको गुणस्तर सुधार गर्न जरूरी छ। देश भित्र र बाहिर रहेका नेपाली युवाले गाउँको शिक्षाको गुणस्तर सुधार्न लाग्नुपर्छ।

हामी पनि एक वा दुई वर्ष गाउँमै गएर काम गर्न सक्छौं। हामीले यो गर्न सक्यौं भने गाउँका विद्यालयमा शिक्षकको अभाव पनि हुने छैन। सरकार र विश्वविद्यालयहरूले त्यस्ता विद्यार्थीलाई सम्मान गर्नुपर्छ। अझ् सरकारी सेवामा प्राथमिकता दिन सकियो भने धेरै विद्यार्थी गाउँमा जान सक्छन्। टिच फर नेपालको गाउँमा गएर पढाउन लगाउने अभियान सराहनीय छ।

उर्वन नेपाल, अनलाइनबाट

झमेलाको जड एमाले

'चुनावी तुरूप' (१२–१८ मंसीर) रिपोर्टले दलका पछिल्ला गतिविधि सम्झिन बाध्य पार्‍यो। गम्भीर भएर सोच्ने हो भने अहिलेको झ्मेलाको जड एमाले हो। ५ नं. प्रदेश कतै गएको छैन, जाने पनि होइन। एमालेको बानी नै यस्तै हो, चर्को आन्दोलन गर्ने र पछि समर्थन। सुस्ता, कालापानी र महाकाली त्यसका उदाहरण हुन्। आफूले गर्दा राष्ट्रवादी र त्यही कुरा अरूले गर्दा राष्ट्रघाती कसरी हुन्छ?

नेपालको संविधानमा एकलजातीय हालीमुहालीले महिला, मधेशी, आदिवासी, जनजाति, दलित, सीमान्तकृत कसैको पनि हकअधिकार र पहिचान स्थापित होस् भन्ने चाहन्न। एमाले अहिले त्यही गरिराखेको छ।

क्याप्टेन जर्ग मगर, अनलाइनबाट

comments powered by Disqus

रमझम