खिचातानी धेरै भयो

Share:
  

'संविधान संशोधनको आडमा सत्ता-संर्घष' -१७-२३, पुस) आवरण रिपोर्टमा अहिलेको राजनीतिक खिचातानीको भित्री कुरा खुलाइएको छ । कांग्रेस-माओवादी केन्द्रलगायतका सत्ता सञ्चालन गरिरहेका वा एमालेलगायतका विपक्षमा आन्दोलन गरिरहेका दलहरू हुन्; सबैको ध्यान सत्तामै छ । अझ मधेशका लागि भनेर लामो समयदेखि आन्दोलन-आन्दोलन भनिरहेका मधेशकेन्द्रित दलहरूको ध्येय पनि सत्ता नै हो ।

देश र जनता केन्द्रमा भएको भए त अहिलेसम्म कुरा मिलिसक्थ्यो । न संसद् अवरुद्ध हुन्थ्यो, न त संविधान संशोधनको नाममा गाईजात्रा चलिरहन्थ्यो । यो सबै सत्तालाई केन्द्रमा राखेर भइरहेको नाटकको मञ्चन हो । जुन दिन एउटा पार्टी मेरो भागमा सत्ता पर्दैन भन्ने निष्कर्षा पुग्छ, सबै कुरा मिल्छ । वा जुन दिन सबै पार्टी मिलेर खाऔं भन्ने निष्कर्षा पुग्छन्, त्यो दिन सबै विवाद साम्य हुन्छ ।

राजन कोइराला, इमेलबाट

सत्ता-संर्घषमा लाग कि सत्ता बाँडचुँडमा लाग, छिटो मात्रै गर । यो कचमच धेरै भयो । सडक, संसद्, सत्ता, सहमति जस्ता शब्द सुन्दा-सुन्दा कान दुख्न थालिसके । जहाँ गयो यही छ । त्यसैले जति सकिन्छ, छिटो निकास देऊ ।

नरेन्द्र जिसी, अनलाइनबाट

कहिले मिल्ला मुक्ति

'दैनिक दर्र्दिन' -१७-२३, पुस) रिपोर्ट पढेपछि आँसु नै आए । बाजुरा, हुम्ला र मुगुका महिलाका पीडा राजधानीसम्म पुर्‍याएकोमा हिमाल लाई धन्यवाद । यूरोप, अमेरिकाका महिलासँग त नदाँजौं, म आफैंसँग दाँज्दा पनि झस्किन्छु । अन्तराष्ट्रिय श्रम संगठन -आईएलओ) को 'आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जन' भन्ने नारा सपना जस्तो लाग्छ । बाजुरा, हुम्ला र मुगुलगायतका हिमाली तथा दुर्गम पहाडी जिल्लाका महिलाहरूको अवस्था पढ्दा यो नेपाल नै हो कि होइन भन्ने अलमलमा परें । कसरी काम गर्दा हुन्, दिनमा १६-१७ घण्टा ! पढ्दा पनि मुटु चसक्क हुन्छ ।

सरकार, राजनीतिक दल, राष्ट्रिय तथा अन्तराष्ट्रिय गैरसरकारी संघ-संस्थाको ध्यान जाओस् । यस्तो दुःखबाट मुक्ति दिने योजनाहरूको तर्जुमा होस् ।

मिथिला श्रेष्ठ, काठमाडौं

खुशी बनाउने खबर

'अंग प्रत्यारोपणमा फड्को' -१६-२३, पुस) रिपोर्टले नेपालमा केही राम्रो काम पनि हुँदैछ भन्ने देखाएको छ । राजनीतिक खिचातानी मात्रै छैन, असल नागरिकहरू आफ्नो कर्मले देशलाई सुन्दर बनाउने प्रयासमा तल्लीन छन् भन्ने यो रिपोर्टले प्रष्ट पारेको छ ।

आँखाबाट शुरू भएको अंग प्रत्यारोपण मुटुलाई लक्ष्य बनाइरहेको पढ्दा खुशी लाग्यो । चिकित्सा क्षेत्रमा यो नेपालले गरेको ठूलो प्रगति हो । हामीजस्ता कैयौं देश छन्, जो अंग प्रत्यारोपणका बारेमा सोच्न समेत सकिराखेका छैनन् । यसलाई निरन्तरता दिनुपर्छ । यो अभियानमा शुरूदेखि अहिलेसम्म संलग्न सबैलाई धन्यवाद ।

सानु रानामगर, इमेलबाट

लायक छैनन्

'देउवालाई स्टेट्सम्यान बन्ने अवसर' -१६-२३, पुस) टिप्पणी पढेर हाँस्न मन लाग्यो । स्टेट्सम्यानको बिल्ला कसैले कसैलाई दिएर हुँदैन । अझ यस्तो कमजोर लेखनले स्टेट्सम्यान बनाउने कसरत त जिस्क्याएजस्तो मात्रै देखिन्छ ।

स्टेट्सम्यान बन्न त अद्भुत राजनीतिक क्षमता हुनुपर्छ, अझ त्यसलाई आमजनताले ग्रहण तथा र्समर्थन गरेको हुनुपर्छ । एउटा सानो राजनीतिक तथा व्यक्तिगत गल्तीले पनि स्टेट्सम्यानसिपको दौडबाट बाहिर हुत्याइदिन्छ । शेरबहादुर देउवा त न त्यसको नजीक छन् न त लायक नै । जो कोहीले यस्तो ठूलो सम्मान पाउन सक्दैनन् । कृपया, हिमाल ले यस्ता लेख छापेर आफ्नो छविलाई धुमिल बनाउने काम नगरोस् ।

रमन ढकाल, अनलाइनबाट

दादालाई श्रद्धाञ्जली

'दादा, त्यहाँ इमेल चल्दैन -' लेख पढेपछि भावविहृवल भएँ । भाषासेवी तथा साहित्यकार कमलमणि दीक्षितको योगदानलाई कसैले बिर्सिन सक्दैन । दादा अद्भुत मान्छे थिए । उनले गरेका जति काम कसैले गर्न सक्दैन । एउटा मान्छेले कतिसम्म गर्न सक्दोरहेछ भन्ने उनी उदाहरण हुन् ।

दादाको लेखन र कर्मले सधैं जीवित राखिरहनेछ । आत्माले शान्ति पाओस्, हार्दिक श्रद्धाञ्जली ।

रमन घिमिरे, अनलाइनबाट

विकासको नाममा विनाश

'पहिरोमा २५ करोड' -१६-२३, पुस) रिपोर्ट पढेपछि दिक्क लाग्यो । हाम्रा योजनाहरू कस्ता हुँदारहेछन्, कसरी काम हुँदोरहेछ भन्ने यसले र्छलङ्ग पारेको छ । त्यत्रो खर्च गरेर उल्टै नोक्सान गर्नु विडम्बना हो । त्यसमा संलग्न व्यक्तिहरूलाई भ्रष्टाचारमा कारबाही हुनुपर्छ । अनि मात्रै अन्य क्षेत्रका व्यक्तिहरू पनि सचेत हुन्छन् ।

हिमाल थापा, इमेलबाट

प्रकृतिलाई सिंगारौं

'रूपसी रूपाकोट' -१०-१६, पुस) रिपोर्टले मनै फुरुङ्ग बनायो । विदेशमा राम्रो छ भनेर हुँदैन, यहाँ पनि राम्रो बनाउन सकिन्छ भन्ने यसले देखाएको छ । नेपालका हरेक ठाउँ सुन्दर छन् । प्रकृतिले उपहार दिएको छ । हामीले यसलाई सिंगार्नु मात्रै छ । सबै मिलेर हाम्रा गाउँघर, पाखापखेरालाई सिंगारौं, देश आफैं सुन्दर बन्छ । पुष्पराज अधिकारीलाई बधाई छ ।

नरभूपाल मेवाहाङ

सदस्य, मकालु वरुण राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति

comments powered by Disqus

रमझम