६-१२ चैत २०७३ | 19-25 March 2017

हिंसा रोकौं

Share:
  

'हिंसा जन्माउने बेवास्ता' (२९ फागुन–३ चैत) रिपोर्टले हिंसालाई कसरी वैधानिकता दिने काम हुँदै आएको छ भन्ने छर्लङ्ग पारेको छ। राजनीतिक दलका नेता कार्यकर्ताले आफू अनुकूल परिस्थिति बनाउन हिंसा भड्काउँदै आएका छन्। गाउँमा हालिमुहाली चलाउने स–साना नेता हुन् या देश चलाउने प्रधानमन्त्री, सबैको नियत उस्तै छ। जसले हाम्रो सुरक्षा संयन्त्रलाई कमजोर बनाउँदै र नागरिक आवाजलाई दबाउँदै आएको छ। सुरक्षाकर्मीको पनि मनोबल दिनप्रतिदिन खस्किँदो छ। जसका कारण हिंसा नियन्त्रण हुनसकेको छैन। यसमा हाम्रै राजनीतिक स्वार्थले काम गरेको छ।

तीर्थ भट्टराई, इमेलबाट

लोकतान्त्रिक मुलुकमा शान्तिपूर्ण तवरले सबैले विरोध गर्न पाउँछन्। यसलाई सबै दल र नागरिकले आत्मसात् गर्नुपर्छ। प्रहरीलाई निर्जीव वस्तु जस्तो ठान्ने, प्रहरीको मनोबल घटाउने अनि राजनीतिक दाउपेच बनाउनेहरूले सोच्नुपर्ने हो– सबैलाई आफ्नो शरीर प्यारो हुन्छ। त्यसैले अरूलाई पनि बाँच्नु दिऊँ र आफू पनि बाँचौं। मलेठको जस्तो घटना दोहोरिन नदिन सबैले ख्याल राखौं।

प्रकाश सुनार, अनलाइनबाट

नेता नै दोषी

'हिंसा भड्काउने नियत' (२९ फागुन–३ चैत) रिपोर्टले हाम्रा नेताको नियत उजागर गरेको छ। पार्टी–पार्टीबीचको लडाइँ, आन्तरिक राजनीतिक खेल आदिमा मारिने, अङ्गभङ्ग हुने र पीडित बन्ने सर्वसाधारण नै हुन्। सप्तरीको मलेठमा पनि हिंसा भड्काउनेहरूले आफ्नो स्वार्थ पूरा गरिछाडे। ज्यान गुमाए त सर्वसाधारणले, जसको नेकपा (एमाले) र मधेशी मोर्चाका नेताहरूसँग कुनै लेनादेना थिएन। घटनाको सत्यतथ्य खोजबिन गरी दोषीलाई कारबाही होस्, फेरि यस्ता हिंसात्मक कार्य नगरुन्।

मिङ्मा शेर्पा, अनलाइनबाट

नेताहरू गर्मीमा छेकिन, ओत लाग्न राजधानी आउँछन्, सेकिने तराईकै बासिन्दा हुन्। जाडोमा न्यानो खोज्न काठमाडौं आउँछन्, कठ्याङ्ग्रिने तराई–मधेशकै बासिन्दा हुन्। तराई–मधेशका दाजुभाइ, दिदीबहिनीले बहकाउमा लाग्न नछोड्दासम्म हिंसा भड्काउनेहरू सफल भइरहन्छन्। राजनीतिका लागि मात्रै समथरतिर र्झ्ने, नत्र पहाडमै बस्ने नेताहरूको विश्वास नगरौं। जसले दुःखसुखमा साथ दिन्छ, सबैको उन्नतिका लागि होस्टेमा हैंसे गर्छ, उसैका कुरा सुनौं। हामी आफू सचेत नहुँदासम्म झुक्याउने, भड्काउनेहरू लागिरहने छन्।

कमल ढकाल, अनलाइनबाट

संयमता जरुरी

'कानूनी राज्यको उपहास' (२९ फागुन–३ चैत) टिप्पणी राम्रो छ। सबैले सुरक्षाकर्मीमाथि औंला उठाइरहेका बेला आँखा खुल्ने गरी लेखिएको यो टिप्पणीले मन शान्त बनायो। एक सुरक्षाकर्मीको नाताले जनआन्दोलनदेखि मलेठ घटनासम्म सबैले गाली गरिरहँदा पोलिराख्थ्यो। तर जे गर्दै आएका रहेछौं, ठीकै रहेछ।

अरूको शान्तिपूर्ण सभा बिथोल्न, पेट्रोल बम, भाला, लाठी, ढुंगाले प्रहरीमाथि जाइलाग्न छूट त कसैलाई हुँदैन। राज्यले हतियार दिएर शान्तिसुरक्षा कायम गर्न पठाएका सुरक्षाकर्मीलाई आफ्नो ज्यान पनि प्यारो नै लाग्छ। ज्यानै जोगाउन गाह्रो भएपछि गोली चलाउनै पर्‍यो। यसको मतलब यो होइन कि बन्दूक छ भन्दैमा जथाभावी गर्ने। सुरक्षाकर्मीले पनि गोली छ भन्दैमा ठोकिहाल्नुपर्दैन। संयमता अपनाउनै पर्छ।

चन्द्र बञ्जाडे, नवलपरासी

हामीलाई पनि थाहा छ, गोली कहाँ र कसरी हान्ने? गोली चलाउनका लागि पनि निश्चित नियम हुन्छन्, मापदण्ड हुन्छ। सुरक्षाकर्मीलाई त्यसका लागि तालीम दिएको हुन्छ। उनीहरू शिकारी त होइनन् नि! तराई–मधेशका आन्दोलनमा जथाभावी हुँदै आएको छ। यतिका आन्दोलन भए, मारिए तर कसैको खुट्टामा गोली लागेको देखिएन। कालो मान्छे देख्ने वित्तिकै सीधै टाउको र छातीमा गोली चलाउने तालीम त दिएको छैन होला? मलेठ घटनामा पनि प्रहरी नै दोषी हो।

सुरेश थारु कुस्मी, सिरहा

खस्किंदो समाज

'मरण र शोकको मूल्य' (२९ फागुन–३ चैत) पढेर मन प्रफुल्ल भयो। सम्पूर्ण विकृतिको जड हो; स्वार्थी, भ्रष्ट मनस्थिति भएका राजनीतिक नेता। दलहरूबीचको अस्वस्थ राजनीतिक प्रतिस्पर्धाले पनि यो अवस्था आएको हो। देशका बौद्धिकवर्ग, नागरिक समाज र हामी जस्ता निरीह सर्वसाधारणको मौन समर्थन भनेको यसलाई झ्न् बल दिनु हो।

रोमराज शर्मा, अनलाइनबाट

अत्यन्त सारगर्भित लेख! समाज कता जाँदैछ? साँच्चिकै गम्भीर विश्लेषण गर्नुपर्ने भएको छ।

सुशील ज्ञवाली

आईओई पुल्चोक क्याम्पस, ललितपुर

अनुसन्धान आवश्यक

'प्रमाणित यथार्थ' (२९ फागुन–३ चैत) टिप्पणीमा इतिहासको राम्रो सन्दर्भ उल्लेख गरिएको छ। प्राचीन कपिलवस्तु भनेर तिलौराकोट र त्यस वरिपरिका क्षेत्रलाई मात्र देखाउँदै आइरहेको अवस्थामा बसन्त महर्जनको यो लेखमा धेरै कुरा देखाइएको छ। प्राचीन कपिलवस्तु कति विशाल र वैभवशाली रहेछ भन्ने कुरा प्रमाणसहित पस्किएको छ। लुम्बिनी तथा कपिलवस्तुका बारेमा अध्ययन अनुसन्धान गर्ने निकायहरूमा मुख्यतः पुरातत्व विभाग, लुम्बिनी विकास कोष, त्रिभुवन विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, जिल्ला विकास समितिहरू हुन्। यी निकायहरू करोडौंको बजेटमा खेल्छन् पनि। तर प्राचीन इतिहास उजिल्याउने खालका यस्ता अध्ययन अनुसन्धानहरू किन गर्दैनन्? अब भविष्यमा यी निकायहरूको ध्यान यतातर्फ जानुपर्छ। लेखक महर्जनले पनि थप अध्ययन गरी नयाँ नयाँ कुरा प्रकाशमा ल्याउनै पर्दछ। लेखक र हिमाल लाई धन्यवाद।

नरेश श्रेष्ठ, इमेलबाट

comments powered by Disqus

रमझम