१४-२० जेठ २०७४ | 28 May - 3 June 2017

देखाउने अवसर

Share:
  

'भरिन्छ मैदान' (७–१३ जेठ) आवरण रिपोर्टमा पहिलो चरणको स्थानीय तहको निर्वाचनमा महिलाले पाएको सफलताको विश्लेषण सान्दर्भिक र ओजपूर्ण लाग्यो। परम्परागत सोच र प्रवृत्तिबाट पूर्ण रूपमा बदलिन नसकेको नेपाली समाजमा स्थानीय तहको निर्वाचनमार्फत नगर/गाउँबाट राज्यशक्तिको पहुँचमा महिला पुग्नु गौरवान्वित हुनुपर्ने विषय हो। त्यसमा पनि नगर/गाउँपालिका प्रमुख या उपप्रमुखमा ठूलो संख्यामा महिलाको जीतले नेतृत्व तहमा काम गरेर देखाउने अवसर पाएका छन्। यो अवसरलाई महिला दिदी–बहिनीले सफल रूपमा निर्वाह गर्न सक्नुपर्छ। जसले गर्दा आगामी दिनमा अझ् सशक्त रूपमा महिलाहरू राज्यशक्तिको नेतृत्व हाँक्ने तहमा पुग्न बाटो सजिलो बन्नेछ। नीति–निर्माण तहमा महिलाको सहभागिताले महिला सशक्तिकरणमा महत्वपूर्ण सफलता मिल्नेछ। भोलिको विभेदरहित समाज निर्माणमा महिलाको यो सफलताले खास अर्थ राख्नेछ। नेतृत्व तहमा पुग्ने सफल सबैलाई शुभकामना।

शिला कार्की इमेलबाट

स्थानीय तहको निर्वाचनमा महिलाले पाएको सफलता पढ्न पाउँदा खुशी लाग्यो। २० वर्षपछि भएको स्थानीय निर्वाचनले राजनीतिमा सधैं पछाडि पारिएका महिलालाई अघि बढ्ने बाटो देखाएको छ। स्थानीय तहका प्रमुख तथा उपप्रमुखमध्ये एउटामा महिलालाई अनिवार्य उम्मेदवार बनाउनुपर्ने संविधानको बाध्यकारी प्रावधानले महिलालाई अघि बढ्ने अवसर जुरेको हो। साँच्चै यो स्थानीय निर्वाचनले राजनीतिमा महिला नेतृत्वको मैदान भरिने संकेत देखिएको छ। अब हुने निर्वाचनहरूमा महिलाहरू आफ्नै बलबुतामा जुनसुकै नेतृत्वमा पनि पुग्न सक्ने वातावरण बनेको छ।

कुशल क्षेत्री, इमेलबाट

उपभोत्ता्का विरोधी कदम

'नाजायज आन्दोलन' (७–१३ जेठ) ले औषधि व्यापारीहरू सरकारलाई असफल बनाउन कतिसम्म तल ओर्लिएका रहेछन् भन्ने छर्लङ्ग भएको छ। औषधिमा देशलाई आत्मनिर्भर बनाउन स्वास्थ्य मन्त्री गगन थापाले थालेको प्रयासलाई निस्तेज पार्न आयातकर्ताले गरेको यस्तो दुष्प्रयास क्षम्य छैन। औषधि व्यापारीहरूको यस्तो प्रयासले उनीहरू जनताप्रति कतिसम्म अनुत्तरदायी छन् भन्ने बुझन पनि गाह्रो छैन। औषधि खरीद गर्दा चर्को मूल्य तिर्न बाध्य उपभोक्ताहरूलाई औषधि आयातकर्ताहरूको यस्तो रवैयाले निराश बनाएको छ। तर, उपभोक्ताले गलत काम गर्ने औषधि आयातकर्ताको विरुद्ध खबरदारी गर्नु जरूरी देखिएको छ। स्वास्थ्य मन्त्रालयले जनताका पक्षमा चालेका कदमविरुद्ध उत्रने व्यापारीहरूलाई तुरुन्त कारबाहीको दायरामा ल्याई जनमुखी काम जारी राख्न मन्त्री गगन थापा सफल हुनुहुनेछ भन्ने आशा छ।

प्रल्हाद कार्की, इमेलबाट

उच्च रत्ता्कचापप्रति सतर्कता

'२००/१२० इमर्जेन्सी!' (७–१३ जेठ) मा डा. सुमनराज ताम्राकारको उच्च रक्तचापसम्बन्धी लेख अत्यन्त ज्ञानबर्द्धक लाग्यो। जीवनशैली, खानपान, दूषित वातावरणले २५ वर्षकै उमेरमा उच्च रक्तचाप हुनुले स्वास्थ्यप्रतिको बेवास्ता देखाउँछ। उच्च रक्तचापले गम्भीर खालका रोग निम्त्याउने बारे सबैले बुझने गरी अर्थ्याइदिनुभएकोले डा. सुमनलाई धन्यवाद।

रमा केसी, इमेलबाट

अव्यावहारिक गठबन्धन

'सत्ता समर्पण' (७–१३ जेठ) ले नेपाली कांग्रेसका सभापति देउवाको सत्ता समर्पणलाई उजागर गरेको छ। सत्ता प्राप्तिका लागि देउवाले कार्यकर्ताको चाहनालाई समेत बेवास्ता गर्न सक्छन् भन्ने कुरा उनले स्थानीय तह निर्वाचनका बेलामा गरेका क्रियाकलापले प्रष्ट पार्छ। हुन त चुनावी गठबन्धन संसदीय व्यवस्थामा लोकतान्त्रिक नै मानिन्छ। र, शक्तिशाली दलहरूका विरुद्ध साना दलहरूले गर्ने गठबन्धनलाई व्यावहारिक मानिंदै आएको छ। तर, देउवाले भरतपुर महानगरपालिकामा माओवादी केन्द्रसँग गरेको गठबन्धनलाई सत्ता प्राप्तिका लागि गरेको प्रयासका रूपमा लिन सकिन्छ। उनको यो कदमलाई कांग्रेसकै कार्यकर्ताले समेत रुचाएनन्। जुनसुकै दलले गरेको किन नहोस्, साना दलहरूविरुद्धको चुनावी गठबन्धन औचित्यहीन हुन्छ भन्ने परिणामहरूले देखाइसकेका छन्।

सुजला कायस्थ, इमेलबाट

comments powered by Disqus

रमझम