११-१७ असार २०७४ | 25 June - 1 July 2017

आफ्नै खुट्टामा बञ्चरो

Share:
  

४–१० असारमा प्रकाशित आवरण रिपोर्ट 'चुनावको भुमरी' पढ्दा स्थानीय तह निर्वाचन बहिष्कार गर्ने राष्ट्रिय जनता पार्टी (राजपा) को निर्णय उसकै लागि घातक लाग्यो। आफ्नै सहमतिमा सरकारले सारेको मितिमा हुने स्थानीय चुनावमा पनि भाग नलिने अदूरदर्शी निर्णयले राजपा राजनीतिक भुमरीमा फसेको छ। उसको निर्णयले जनप्रतिनिधि छान्न पाउने जनताको अधिकारलाई कुण्ठित गराउन खोज्दैछ। यसबाट राजपाले एकातिर जनविश्वास गुमाउँदैछ भने अर्काेतिर अन्य दलहरूले आफ्नो गुमेको प्रभाव फर्काउने मौका पाएका छन्।

सदानन्द यादव, सप्तरी

तराईलाई आफ्नै बिर्ता सम्झेर राजनीति गर्नु राष्ट्रिय जनता पार्टी (राजपा) को गम्भीर भूल हुनेछ। जनताको हकअधिकारका लागि भनेर तराई–मधेशको राजनीतिक अस्थिरतालाई निरन्तरता दिने जुन काम राजपाले गरिरहेको छ, त्यसको गम्भीर परिणाम निकट भविष्यमै उसले भोग्नुपर्नेछ। सरकारले आफैंसँगको सहमतिमा गरेको निर्णय पनि नमान्ने हदसम्मको राजनीतिक बेइमानी राजपाले गरिरहेको छ। यसबापत उसलाई तराईकै जनताले सजाय दिनेछन्। सरकार चलाउनेहरूको पनि आँट देखिएन। प्रदेश–२ को स्थानीय चुनाव असोजमा पुर्‍याउनु सरकारको हुतिहारापन हो। यसले मध्यतराईका जनताको मताधिकारमाथि प्रहार गरेको छ।

हरिकृष्ण न्यौपाने, झापा

दलाललाई दण्डित गर

'श्रमको बदला यौनशोषण' (४–१० असार) शीर्षकको रिपोर्ट पढेर आँखा रसाए। दलालको चंगुलमा परी दुबई पुगेकी नेपाली चेलीको दर्दनाक कथाले जो–कोहीको पनि आङ सिरिङ्ग बनाइदिन्छ। उनलाई दुबईमा मालिकले दिएको शारीरिक–मानसिक यातना त छँदै थिए, यी सबै कुरा थाहा पाएर सहयोग गर्नुको सट्टा बलात्कारमा उत्रने हेटौंडाका दलाल विनोद तिवारीको हर्कतले आक्रोशित बनायो। यस्ता विवेकहीनलाई कुकर्म अनुसारको कानूनी दण्ड नदिएसम्म यो खालको घटना नदोहोरिएला भन्न सकिन्न। यो रिपोर्टले दलालको भनाइमा परेर नेपाली महिलाहरू कामदारको रूपमा विदेश जानुहुँदैन भन्ने छर्लङ्ग पारेको छ। मेरो अनुरोध– अहिलेकै अवस्थामा कोही नेपाली चेली काम गर्न विदेश नजानुहोस्।

अमृत राई, खोटाङ

कमिशनले कमजोर कर्मचारी

'विकासमा बाधक ठेकेदार राज' (४–१० असार) शीर्षकको रिपोर्ट अत्यन्त सान्दर्भिक लाग्यो। पोखराका केही आयोजनामा पेश्की रकम लिएका ठेकेदारहरूले काम सक्ने समय बित्दा पनि वरको सिन्को पर नसार्नु, काम गरे पनि मापदण्डअनुसार नगर्नु सामान्य भएको छ। विकासमा प्रमुख भूमिका रहने सडक, पुल, भवन आदिको ठेक्का लिएर काम नगर्ने प्रवृत्ति देशकै रोग भएको छ। निर्माण ठेक्का लिने, पेश्की पनि लिने र फुर्सदमा मात्र काम गर्ने या नगर्ने नेपालका ठेकेदारहरूको विशेषता नै भएको छ। सिण्डिकेटमा संगठित ठेकेदारहरूलाई सम्झौता अनुसार काम नगर्दा सम्बन्धित निकायले कारबाही पनि गर्दैनन्। सम्झौता अनुसार काम नगर्ने ठेकेदारबाट कानून अनुसार हर्जाना असुल्ने, लाइसेन्स समेत खारेज गर्ने हो भने कसैले यस्तो लापरवाही गर्ने थिएनन्। ठेक्का लिंदादिंदा नै चल्ने कमिशनको खेलले हाम्रा कर्मचारीहरूलाई कमजोर बनाएको छ।

आयुष तिमल्सेना, पोखरा

आस्थालाई मजाक नबनाऔं

४–११ असारमा प्रकाशित 'बुद्धिष्ट इरोटिकाको अर्थ' मा उल्लेख भएअनुसार महिलालाई अँगालोमा कसेर सम्भोगरत मूर्ति गौतम बुद्धको नभई समन्तभद्र बोधिसत्वको हो भन्ने प्रष्ट भयो। उनका कामुक, सम्भोगरत, क्रूद्धलगायत विभिन्न हाउभाउका मूर्ति र चित्रहरू देख्न पाइन्छ। यिनलाई एतिहासिक नभई काल्पनिक पात्र भनिएको छ। नबुझिएको एउटा कुरा के भने, यस्ता चित्रमा गौतम बुद्ध बुझिने र देखिने आकृतिलाई नै किन प्रयोगमा ल्याइयो? बौद्ध दर्शन बुझाउन किन यस्ता चित्रहरू आवश्यक भए? व्यापारिक स्वार्थका लागि मात्र हो भने धर्मलाई मजाक बनाउने हर्कतलाई नियन्त्रण गर्नुपर्छ।

मन्दिरा शाक्य, काठमाडौं

कल्पनालाई मूर्तरूप दिने कि?

४–१० असारको अंकमा डेनमार्कका स्नातकोत्तर अध्ययनरत विद्यार्थी अस्कर फ्रेलिनले ६ महीनाको अध्ययनपछि 'वागमतीको उपचार' शीर्षक शोधको आधारमा तयार पारेको 'नदीसँगै उद्यान' पढ्दा आनन्द आयो। ढलमतीका रूपमा बगिरहेको वागमतीको स्वरुप चाहेको खण्डमा कस्तो बनाउन सकिने रहेछ भन्ने यस सामग्रीसँगै छापिएको नक्शाले प्रष्ट पारेको छ। वागमती नदीको कायापलट ल्याउने यो 'कल्पना' लाई मूर्तरूप दिने हो भने काठमाडौं शहरले नै पुनर्जीवन पाउनेछ। सरकारले चाहेको खण्डमा यो असम्भव छैन। हालैको निर्वाचनबाट चुनिएका नयाँ मेयरमा यस्तो जाँगर चले अझ् गजब हुनेथियो।

अविन महर्जन, त्रिपुरेश्वर

comments powered by Disqus

रमझम