अँध्यारोका दीप

Share:
  

'माफियालाई संरक्षण' (१५–२१ साउन) रिपोर्टले सरकार र राजनीतिक दलको उदासीनता छर्लङ्ग भएको छ। राज्य सञ्चालकहरू माफियाका अगाडि यतिसम्म निर्लज्ज होलान् भन्ने सोचेको थिइनँ। एकजना व्यक्ति ११ पटकसम्म आमरण अनशन बस्छ, राज्यले अनशन तोडाउन सहमतिको नाटक गर्छ तर सहमति कार्यान्वयन गर्दैन, उल्टै माफियालाई नै पोस्ने काम गर्छ। सरकारको नेतृत्व गर्नेहरूले यो हदसम्मको अपराध कसरी गर्न सकेका होलान्! सरकारलाई माफिया र पूँजीपतिहरूले हल्लाएका छन्।

अर्कोतिर एकजना व्यक्ति माफियाका विरुद्ध कतिसम्म लड्न सक्छ भन्ने उदाहरण हुन्, प्रा.डा. गोविन्द केसी। उनलाई जति सलाम गरे पनि कमै हुन्छ। उनी आस्थाका पुञ्ज हुन्। अँध्यारोमा बलिरहेको दियो हुन्, निभ्न दिनुहुन्न। तेल थप्दै रहनुपर्छ।

लक्ष्मीप्रसाद पौडेल, अनलाइनबाट

प्रा.डा. गोविन्द केसी सही छन्। उनले जे गरेका छन्, ठीक गरेका छन्। आज मेडिकल क्षेत्रबाट नाफा कमाइरहेका माफिया र उनीहरूलाई संरक्षण गरेका राजनीतिकर्मीले नजरअन्दाज गरे पनि एक दिन यसको जवाफ दिनै पर्नेछ। क–कसलाई दोष लगाउनु, यो सरकार नै नालायक छ।

धनबहादुर बुढाथोकी, इमेलबाट

परनिर्भरता रोकौं

'झ्नै बढ्यो परनिर्भरता' (१५–२१ साउन) रिपोर्टले झ्स्कायो। हुन त नेपालमा सियोसम्म बन्दैन, अनि किन नबढोस् त परनिर्भरता! सरकारी स्वामित्वका कलकारखाना निजीकरणको नाममा बिक्री गरियो। बिक्री गर्न बाँकी कलकारखाना बन्द छन्। निजी क्षेत्रले नाफा हुने कलकारखानामा मात्रै लगानी गरेको छ। अझ् विदेशबाट आयात गरेर बिक्री गर्नमै उद्योगी, व्यवसायी रमाएका छन्। जसले देशलाई परनिर्भर बनाउँदै लगेको छ। अब सोच्ने बेला आएको छ, नेपालमा उत्पादन हुनसक्ने वस्तु बाहिरबाट ल्याउन प्रतिबन्ध लगाउनुपर्छ।

दिल राई, अनलाइनबाट

नाममात्रका वामपन्थी

'फुकुयामावादी वामपन्थी' (१५–२१ साउन) टिप्पणीले नेपाली वामपन्थीहरूको असली रूप देखाएको छ। अहिले नेकपा (माओवादी केन्द्र) मात्रै होइन, सबै वामपन्थी दलहरूले गरिरहेको राजनीति वर्ग त हुँदै होइन, जनताको पनि होइन। अहिलेको राजनीति जात, क्षेत्र, सम्प्रदाय र धर्मको हो। नेपालका वामपन्थीहरू वर्गलाई छोडेर स–साना टुक्रामा रमाइरहेका छन्। यसले न जनताले मुक्ति पाउँछन्, न त वामपन्थको यात्रा नै सही दिशामा अगाडि बढ्छ। केवल अल्मल्याउँछ मात्रै।

नारायण लामिछाने, इमेलबाट

सबै पार्टी उस्तै

'नेकपा (माओवादी केन्द्र) मन्त्री उत्पादन कारखाना!' (१५–२१ साउन) नेपाली कांग्रेस र नेकपा (एमाले) को कारखाना भन्दा फरक देखिएन। दशवर्षे सशस्त्र संघर्ष गरेर आएको पार्टी त ठीक होला भन्ने सोचेका थियौं, त्यो पनि उही कारखानामा परिणत भयो। एउटै व्यक्ति पटक–पटक मन्त्री भए पनि राजनीतिक चरित्र र भूमिका चाहिं अवसर र परिस्थिति पिच्छे फेरिंदै गएको छ। कहिले उत्तर दिशाबाट आएको साहूजीको फेरो समाउने त कहिले दक्षिणबाट आउने मान्यजनसँग बिन्ती–विलौना गर्ने पुरानै चलन माओवादीमा पनि देखियो। 'लोकतन्त्र' वा 'गणतन्त्र' जे भने पनि मौलिक चरित्र उही नै देखियो।

द्रोण रजौरे, अनलाइनबाट

सबैको पीडा

'युएईमा नेपाली' (१५–२१ साउन) फोटो/एसेले वैदेशिक रोजगारीमा युएई पुगेका नेपालीको पीडा उजागर गरेको छ। तर यो समस्या युएईको मात्र होइन, अधिकांश खाडी मुलुकमा काम गर्ने नेपाली कामदारको हो। सरकारले राहदानी बनाइदिन्छ, उडाइदिन्छ। त्यसपछि जिम्मेवारीबाट पन्छिन्छ। विदेश पुगेपछि भोग्ने समस्यासँग राज्यको कुनै सरोकार नभएजस्तो ठान्छ। केवल रेमिट्यान्स मात्रै गणना गरेर बस्छ।

दीपेन्द्र तामाङ, अनलाइनबाट

राजनीतिमा विकल्प

राजनीतिक पार्टी भन्ने वितिक्कै शरीरमा काँडा उमि्रएर आउँछ। यी दलहरूले अहिलेसम्म देश र जनतालाई ओरालो लगाउने, आफू र आफन्तलाई मोटाउने काम मात्रै गरे। साझा र विवेकशील पार्टीको नेतृत्वमा युवा देखेपछि केही आश जागेको थियो। एकीकरण भएपछि झ्न् खुशी लागेको छ। अब देश र जनताको कायापलट गरेर अहिलेका दल र नेतालाई किनारा लगाउने जिम्मेवारी विवेकशील साझा पार्टीको काँधमा आएको छ। त्यसका लागि यो पार्टी साँच्चिकै विकल्पका रूपमा उभिन सक्नुपर्छ, शुभकामना!

रमेश कार्की, अनलाइनबाट

विवेकशील साझा पार्टी नजन्मँदै धेरैलाई टाउको दुखाइ भएको थियो। झ्न् दुई पार्टी एकीकरणको घोषणा भएको दिनदेखि त पुराना दलहरूले प्रपञ्च नै शुरू गरेका छन्। अझ् यो पार्टी देश र जनताको पक्षमा निर्भीक भएर उभियो भने सबै खुट्टा तान्न लागिपर्नेछन्। विवेकशील साझालाई देशका बेइमानहरूलाई परास्त गर्दै अघि बढ्ने ऊर्जा मिलोस्, शुभकामना!

अजयध्वज क्षेत्री, इमेलबाट

comments powered by Disqus

रमझम