भयरहित चुनाव

Share:
  

'वर्चस्वको लडाईं' (१८–२४, भदौ) आवरण रिपोर्टले प्रदेश–२ मा भइरहेको नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय जनता पार्टी र लोकतान्त्रिक फोरम नेपालको चासो र प्रतिष्ठाका विषयलाई उजागर गरेको छ। जसरी पनि जित्नै पर्ने मनस्थिति बनाएका दलहरूले चुनावलाई स्वच्छ प्रतिस्पर्धाका रूपमा लिन सकिराखेका छैनन्। एमाले अन्य प्रदेशमा झ्ैं पहिलो बन्ने, कांग्रेस अन्य प्रदेशमा खस्किएको साख जोगाउने, माओवादी केन्द्र कांग्रेस–एमालेलाई देखाउने र राजपा तथा लोकतान्त्रिक फोरम आफ्नो अस्तित्वको लडाईंमा छन्। त्यसैले उनीहरू साम, दाम, दण्ड अपनाउन सक्छन्, निर्वाचन आयोगले विशेष ध्यान दिनु जरूरी छ। प्रदेश–२ का मतदातालाई भयरहित वातावरणमा आफ्नो मन लागेको उम्मेदवारलाई मतदान गर्ने व्यवस्था हुनुपर्छ। डर, त्रास, लोभलालच देखाउने मौका उम्मेदवार तथा उनीहरूका कार्यकर्तालाई मिल्नुहुँदैन।

सञ्जय गुप्ता, अनलाइनबाट

सुधार आवश्यक

'गृह चक्रव्यूह' (१८–२४, भदौ) रिपोर्टले गृहमन्त्री जनार्दन शर्माले गरिरहेको शक्तिको दुरुपयोगलाई बाहिर ल्याएको छ। ऊर्जा मन्त्रालयमा उनले आर्जन गरेको प्रतिष्ठा, सम्मानलाई गृह मन्त्रालय पुग्दा सदुपयोग गर्न नसकेको देखियो। उता कुलमान घिसिङ थिए र पो सफलता पाइयो, यता त्यस्ता इमानदार, केही गरौं भन्ने कर्मचारी छैनन्। यता त कसरी फाइदा लिने, कसरी अरूलाई दुःख दिने भन्ने मात्रै तालीम पाएका कर्मचारी देखिन्छन्। आफूमा क्षमता, दक्षता र विश्वास नभए यस्तै हुन्छ। अहिले गृहमन्त्री जनार्दन शर्मालाई पनि भएको त्यही हो। सुधि्रने र सुधार्ने कोशिश गरौं।

कर्णदेव जोशी, इमेलबाट

हिमाल र पहाडमाथि अन्याय

'जनसंख्यालाई ९०, भूगोललाई १०' (१८–२४, भदौ) रिपोर्टले निर्वाचन क्षेत्र निर्धारण आयोगले गरेको पक्षपातपूर्ण व्यवहार प्रष्ट देखिएको छ। हिमाल र पहाडमाथि अन्याय भएको छ। तराई र धेरै जनसंख्या भएका जिल्लाहरूले धेरै सीट पाएका छन्, भने कम जनसंख्या भएका र पहाडी तथा हिमाली जिल्लाले कम सीट पाएका छन्। भोट र भीडमै रमाउने दलहरू यतिबेला चूपचाप छन्। समानुपातिक विकासको मान्यता विपरीत हिमाल र पहाडका जनतामाथि घात भएको छ। यो सच्याउनुपर्छ।

नारायण लामिछाने, अनलाइनबाट

बेकारको हल्ला

'मुद्दाविहीन मनोदशा' (१८–२४, भदौ) रिपोर्टमा एक दशकभन्दा बढी समयदेखि मधेशको मुद्दालाई लिएर आन्दोलन गरिरहेका दलहरूको असली रूप देखाइएको छ। जमीनदारी प्रथालाई नयाँ जामा लगाउने धुनमा लागेका ६ दलको समूह जस्तै बनेको छ राष्ट्रिय जनता पार्टी। उनीहरू ६ झुण्डका ६ जनाले बाजा बजाउने त गरिरहेका छन् तर त्यसमा न धुन छ न त ताल। नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ले मधेशका समस्यालाई सही रूपमा उठाउथे भने मधेशकेन्द्रित दल उहिल्यै मुद्दाविहीन भइसक्थे।

ब्रजनाथ अधिकारी, अनलाइनबाट

comments powered by Disqus

रमझम