१-७ असोज २०७४ | 17-23 September 2017

निर्वाचन आयोगको काम

Share:
  

'अराजनीतिको बोलवाला' (२५–३१, भदौ) आवरण रिपोर्टले प्रदेश–२ मा भइरहेको जसरी पनि चुनाव जित्ने कृत्य बाहिर ल्याएको छ। नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) त भए नै राष्ट्रिय जनता पार्टी, संघीय समाजवादी फोरम र लोकतान्त्रिक फोरम कम्ती देखिएका छैनन्। सबै पार्टीले पैसा बाँडिरहेका, त्रास देखाइरहेका छन्। उनीहरूलाई जसरी पनि चुनाव जित्नु छ। यसले निष्पक्ष र भयरहित चुनाव निर्वाचन आयोगको नारामा मात्रै सीमित भएको छ। यस्तै परिपाटी यथावत् रहने हो भने सामान्य राजनीतिकर्मीले चुनाव लड्ने दिन सकिने छन्।

अझै पनि समय छ। प्रदेश–२ मा केही गर्न सक्ने समय नभए पनि मंसीरमा हुने प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचनलाई ध्यानमा राखेर निर्वाचन आयोगले अहिलेदेखि नै चुनावलाई अराजनीति होइन, राजनीति परीक्षण गर्ने थलो बनाउनेतर्फ पहलकदमी थाल्नुपर्छ।

प्रेमराज महत, अनलाइनबाट

स्थानीय तहको तीन चरणको निर्वाचनअन्तर्गत ३१ वैशाखमा पहिलो र १४ असारमा दोस्रो चरणको निर्वाचन सकिएको छ र अहिले २ असोजमा तेस्रो चरणको निर्वाचन हुँदैछ। हिमाल का यसअघिका निर्वाचनसम्बन्धी रिपोर्ट, टिप्पणी र सम्पादकीय पढेको छु। अघिल्ला दुई चरण र तेस्रो चरणको निर्वाचनमा खासै फरक छैन। उद्योगी, व्यवसायी, आपराधिक क्रियाकलापमा संलग्न, डर, धम्की र त्रास देखाउँदै आएका व्यक्ति अघिल्ला चुनावमा पनि उम्मेदवार बनेका थिए, अहिले पनि बनेका छन्।

शहीदको उपेक्षा

'शहीद परिवारलाई धोका' (२५–३१, भदौ) रिपोर्टले ठीक ठाउँमा प्रहार गरेको छ। मधेश आन्दोलनका बेला जनतालाई उक्साउने, उचाल्ने र उनीहरूका लागि नै आन्दोलन गरिरहेका छौं भन्ने गरेका थिए। अझ्ै आन्दोलनमा ज्यान गुमाएकाको परिवारलाई भेटेर पनि सबै दलका नेताहरूले सहयोग गर्ने, उम्मेदवार बनाउने आश्वासन दिंदै आएका थिए। अहिले आएर शहीद परिवारलाई उपेक्षा गरिएको छ। यसमा मधेशकेन्द्रित दल मात्रै होइन, नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) पनि छन्। उनीहरूले पनि मधेश आन्दोलनका शहीद, घाइते र पीडितहरूलाई प्राथमिकतामा राख्नुपर्थ्यो।

तिलक मल्ल, अनलाइनबाट

नारायणहिटीमा राष्ट्रपति भवन

'नारायणहिटी राष्ट्रपति भवन' (२५–३१, भदौ) लेखमा ठीक कुरा उठाइएको छ। नारायणहिटी राजदरबार मात्रै होइन, राज्य सञ्चालन गर्ने सर्वोच्च व्यक्ति जोडिएको शक्तिकेन्द्र पनि हो। यसले इतिहास बोकेको छ। राजाको स्थान अहिले राष्ट्रपतिले लिएको बेला राष्ट्रपति पदको मर्यादालाई नारायणहिटीले बोक्न सक्छ। बहस गरौं, नारायणहिटीलाई राष्ट्रपति भवन बनाउन दबाब दिऔं।

अनुप शाह, इमेलबाट

कारबाही गर

'चिनियाँ ठेकेदार नै अलप' (२५–३१, भदौ) रिपोर्ट पढेर दुःख लाग्यो। नेपालमा प्रत्येक काममा किन यसरी लापरवाही हुन्छ? ठूला हुन् कि साना योजना ढिलासुस्ती, काम छल्ने प्रवृत्ति, लापरवाही यथावत् छ। यो त संस्कारजस्तै भइसक्यो। अब धमाधम कारबाही गर्नतिर नलाग्ने हो भने कुनै पनि काम समयमा सकिने छैनन्। लुम्बिनीमा संलग्न सबैलाई कारबाही गर्नुपर्छ।

दिल तामाङ, अनलाइनबाट

राज्यप्रतिको अपराध

'अनुचित लाभले महङ्गो' (२५–३१, भदौ) रिपोर्ट पढेर खुशी लाग्यो। समयमा सक्नुपर्ने जलविद्युत् आयोजनाहरू ढिलो हुनुको कारण त सबैको मिलेमतो पो रहेछ। एउटा मात्रै भए केही थिएन, सबै आयोजनाको हालत उस्तै छ। नेता, मन्त्री, कर्मचारी, ठेकेदार सबैको मिलेमतो देखिन्छ। यो त राज्यप्रतिको अपराध हो। संलग्न सबैलाई राज्यप्रतिको अपराधमा कारबाही गरिनुपर्छ।

जयमुकुन्द खनाल, अनलाइनबाट

माफियातन्त्रमाथिको प्रहार

'यो माफियातन्त्र हो...' (२५–३१, भदौ) टिप्पणी गजब छ। यसरी नै हो, माफियातन्त्रमाथि प्रहार गर्ने। राणातन्त्र, पञ्चायततन्त्र, प्रजातन्त्रपछि गणतन्त्रसँगै लोकतन्त्र आउला भनेको त माफियातन्त्र पो आयो। देशलाई माफियाहरूले चलाइरहेका छन्। यसो भनौं नेताहरू नै माफिया भइसकेका छन्। उनीहरू सुध्रेलान् भनेर चूपचाप बस्यौं भने देश उल्टो गतिमा चल्नेछ। त्यसैले जसले जहाँबाट सक्छौं, माफियातन्त्रमाथि प्रहार गरौं।

सन्तमान राई, अनलाइनबाट

comments powered by Disqus

रमझम