२६ कार्तिक - २ मंसिर २०७४ | 12-18 November 2017

दलहरूलाई नसिहत दिऊँ

Share:
  

प्रमुख दलहरूले आसन्न प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि ‘मनी’ र ‘मसल’ हेरेर टिकट बाँडेर जनताको घोर अपमान गरेका छन् । (मतदाताको दैलोमा को ?, हिमाल, १९–२५ कात्तिक) धेरैपटक छातीमा अभियुक्तको ‘ट्याग’ लागेको फोटो सार्वजनिक भएका, अवैध धन थुपारेका, मेडिकल माफिया र मानव तस्करलाई समेत टिकट दिने जुन गल्ती दलहरूले गरेका छन्, जनताले ती कथित उम्मेदवारहरूलाई छानी छानी हराउन सकेनन् भने अपराधीकरणले तीव्रता पाउनेछ । दलहरूको आत्मबल झ्न् बढेर तिनै माफियाहरूको अनुकूल नीतिनिर्माण गर्नेछन् । त्यस्तो भई पनि सकेको छ । त्यसैले, जनताले खराब उम्मेदवारलाई मत नदिनु भनेको स्वतः दलहरूलाई नसिहत हुनेछ । दलहरूलाई जनता नै सर्वोपरि हुन् भन्ने चेतना दिनैपर्छ ।

हरिकृष्ण नेपाल, इमेलबाट

हिमाल (१९–२५ कात्तिक) को आवरण रिपोर्टले आम निर्वाचन २०७४ मा मतदान गर्ने मतदाताको ध्यानाकर्षण गरेको छ । निर्वाचनमा विभिन्न दलबाट उम्मेदवार बनेर आउनेहरू कस्ता छन् भन्ने जानकारी दिएको छ । निर्वाचनमा दलहरूले उम्मेदवार बनाएका ठेकेदार, गुण्डा, अभियुक्तहरूलाई मतदाताले भोट दिनुहुँदैन । यस्ता व्यक्तिहरूले जिते थप गैर–कानूनी कमाइ गर्ने र अव्यवस्था बढाउने काम मात्र गर्छन् । मतदाताले धेरै उम्मेदवारमध्येबाट असललाई छान्ने माध्यम हो, निर्वाचन । सबै मतदाताले मतदान अघि यो कुरामा गम्भीर मनन् गर्नुपर्छ ।

विकास थापा, इमेलबाट

हिमाल को आवरण रिपोर्ट ‘मतदाताको दैलोमा को ?’ ले मतदातालाई उम्मेदवारलाई राम्ररी चिनेर मात्र भोट दिन प्रेरित गरेको छ । खराब आचरण भएका, डन, माफियालाई मात्र होइन, पटक–पटक चुनाव जितेर पनि आफ्नो क्षेत्रमा कुनै काम नगरेका, जितेपछि मुख नदेखाउने र चुनावमा भोट माग्न पुरानै आश्वासन दोहो¥याउने उम्मेदवारलाई पनि मत दिनुहुन्न भन्ने मेरो मान्यता छ ।

हरि श्रेष्ठ, इमेलबाट

राजनीतिक दलहरूले नै गुण्डा, माफियाहरूको संरक्षण गर्दै आएको सबैलाई थाहा भएकै कुरा हो । अहिले पार्टीहरूले उनीहरूलाई नै जनताको प्रतिनिधि बन्ने अवसर दिएका छन् । दलका नेताहरूले पार्टीमा अरू कोही योग्य मान्छेहरू नभएर बद्मासहरूलाई उम्मेदवार बनाएका होइनन् । यो अवस्थामा हिमाल साप्ताहिकले कुन दलले उठाएको को उम्मेदवार, कस्ता हुन् भनेर मतदातालाई जानकारी गराउने काम गरेको छ । यसबारे जनता पनि जागरुक हुने वेला भएको छ ।

राजन कार्की, इमेलबाट

सूर्तीजन्य वस्तु प्रतिबन्धित होस्

१९–२५ कात्तिकको हिमाल मा प्रकाशित रिपोर्ट ‘कलिलैमा क्यान्सर’ ले कलिलै उमेरमा क्यान्सर पीडित हुनेहरूको अवस्था छर्लङ्ग पारेको छ । क्यान्सर रोग लाग्नुका पछाडि सूर्तीजन्य पदार्थ सेवन तथा वायु प्रदूषणलाई प्रमुख कारण मानिएको छ । एकपटक क्यान्सर लागिसकेपछि पूर्ण रूपमा निको हुँदैन । उपचारमा मानिसको सबै धनसम्पत्ति सकिन्छ । अब सरकारले सूर्तीजन्य वस्तुहरूको बिक्रीवितरणमा पूर्ण रूपले प्रतिबन्ध लगाउनुपर्छ । त्यसैगरी, बढ्दो वायु प्रदूषणलाई रोक्ने काम पनि सरकारकै हो । सरकारले अब डिजल र पेट्रोलबाट सञ्चालन हुने गाडीहरू हटाएर विद्युतीय सवारी साधनलाई प्रोत्साहन हुने योजना कार्यान्वयन गरोस् ।

सीमा मगर, अर्घाखाँची

वेलैमा सोच्ने कि ?

‘चिनियाँ रेलमा के पठाउने ?’ समृद्धि र सम्भावनामा प्रकाशित जीवनप्रसाद राईको लेखले नयाँ बहस सिर्जना गरेको छ । नेपालमा चिनियाँ रेल ल्याउने कुरामा चीन पनि सकारात्मक रहेको छ । तर चीनबाट भरिभराउ रेल नेपाल आउने र नेपालबाट खाली फिर्ता जाने हो भने त्यसले परनिर्भरता र व्यापार घाटा झ्न् बढ्नेछ । नेपालमा रेल ल्याउने पहलसँगै नेपालबाट चीन के वस्तु निर्यात गर्न सकिन्छ भनेर त्यसको उत्पादनतर्फ अहिलेदेखि नै पहल शुरू गर्न सके चीनको रेल नेपालको फाइदामा हुनेछ । शम्भु न्यौपाने, रसुवा

ढाँटका दिन गए

१९–२५ कात्तिकको आवरण रिपोर्ट ‘चुनावी घोषणापत्रः समृद्धिको निराधार सपना’ को लागि हिमाल लाई धन्यवाद । दलहरूले जनताको आँखामा छारो हाल्ने दिन अब सकिए । उनीहरूले गर्न सक्ने काममा मात्र प्रतिबद्धता जनाउनुपर्छ । गर्न नसक्ने र नगर्ने काम गर्छौं भन्दै भोट माग्दा दलहरूकै साख गिर्छ । आफ्नै हितका लागि पनि जनतालाई ढाँट्ने काम बन्द गरी वास्तविकता र यथार्थको नजिक रहेर घोषणापत्र जारी गर्नु राम्रो हुन्छ ।

सागर क्षेत्री, इमेलबाट

राजनीतिक नियुत्तिाले बेथिति

१९–२५ कात्तिकको हिमाल मा प्रकाशित रिपोर्ट ‘बेथितिले बिजोग’ ले विश्वविद्यालयको अवस्थाबारे जानकारी दिएको छ । राजनीतिक सिन्डिकेट यो देशको क्यान्सर हो । एएफयू पनि यसबाट अछुतो रहेनछ । पार्टीले नियुक्त गरेका पदाधिकारीहरूले पार्टीकै हित अनुसार विश्वविद्यालयमा काम गर्दा आश्चर्य मान्नुपर्दैन । संस्थामा आगो लगाए पनि, तोडफोड गरे पनि के भो र ? कोहीसित किन डराउनु प¥यो ? पार्टीले जोगाइहाल्छन् ! यो बेथितिको जड नै राजनीतिक नियुक्ति हो । विश्वविद्यालयहरूलाई यसरी कहिलेसम्म चलाइराख्ने ?

अर्जुन अधिकारी, अनलाइनबाट

comments powered by Disqus

रमझम