सरकारमा ‘घाम’ लागोस्

Share:
  

‘भिटामिन डी डिफिसेन्सीः मन्द महामारी’ (२०–२६ फागुन) आवरण रिपोर्टले सबैलाई सचेत गराएको छ । नेपालीको साझ समस्या बनेको ‘भिटामिन डी’ को कमीबारे सरकारले चाँडोभन्दा चाँडो बृहत् अध्ययन थाल्नुपर्छ । नागरिक पनि जोखिमबाट बच्न अहिल्यैदेखि सचेत भएर लाग्नुपर्छ । प्रकृतिको देन घामलाई सम्मान गर्दै बढीभन्दा बढी घाम ताप्ने, छालाको स्याहारको नाममा प्रयोग गरिने वस्तुहरूप्रति सजग रहने तथा दूध, सामुद्रिक माछा, क्याल्सियम प्राप्त हुने खानामा विशेष ध्यान दिनुपर्छ ।

हरिहर काफ्ले, अनलाइनबाट

राष्ट्रपतिले मनन् गरून्

‘गरिमा जोगाउने जिम्मा’ (२०–२६ फागुन) रिपोर्टले राष्ट्रपति हिंड्ने बाटो देखाइदिएको छ । राष्ट्रपति पार्टीको स्वार्थभन्दा माथि उठ्नुपर्छ । यसो हुन नसके संस्थाको गरिमा ध्वस्त हुन्छ । नयाँ संविधान कार्यान्वयनका लागि पनि राष्ट्रपतिको जिम्मेवारी अहम् छ । हिजो संक्रमणकालमा जस्तो ‘राजनीतिक हुने’ छूट अब छैन । जनता पनि सजग छन् । यसतर्फ अब निर्वाचित हुने राष्ट्रपतिले मनन् गर्नैपर्छ ।

अभिषेक यादव, अनलाइनबाट

नाम सेवा, काम धन्दा !

‘रगतमा रेडक्रसको कालो धन्दा’ (२०–२६ फागुन) विशेष रिपोर्टले रेडक्रसको धन्दा उजागर गरिदिएकोमा हिमाल लाई धन्यवाद । हामीले त रेडक्रसलाई ‘परोपकारी र स्वयंसेवी’ नै मानेका हौं । तर, यस्तो पवित्र संस्थामा काम गर्ने कर्मचारीहरूले संस्थालाई नै बदनाम बनाएका रहेछन् । दानबाट संकलित रगतको व्यापार गरिरहेको रेडक्रसको कुकाम थाहा पाएर पनि सरकार के हेरेर बसेको छ ? ‘स्वयंसेवा’ को नाममा धन्दा चलाउने जो कसैलाई छोड्नुहुन्न, कडाभन्दा कडा कारबाही गरिनुपर्छ ।

सीता बराल, अनलाइनबाट

बिचौलियालाई कठघरामा उभ्याऔं

‘सरकारी जग्गामा बिचौलियाको रजाइँ’ (२०–२६ फागुन) खोजले पोखराको मात्र होइन, मुलुककै कथा–व्यथा उजागर गरिदिएको छ । सरकारी जग्गा हडपेर भाडा असुल्ने हुन् या अनेक शीर्षकमा नाफा कमाउनेहरू देशैभरि छन् । राजधानीमै पनि यस्ता बिचौलिया प्रशस्त छन् । अन्यत्रका पनि यस्तो समाचार छापिनुपर्छ । अब त स्थानीय सरकार पनि बनिसकेका छन् । सरकारी जग्गा हडपेर नाफा कमाउनेलाई कानूनको कठघरामा ल्याउन ढिलो गरिनुहुन्न । अन्यत्रका प्रतिनिधिले पनि पोखराका मेयरको जस्तै प्रतिबद्धता जनाउनुपर्छ, प्रतिबद्धता कार्यान्वयन हुन्छ हुँदैन, त्यो भने हेर्न बाँकी छ ।

सरु न्यौपाने, अनलाइनबाट

परीक्षण पनि, अवसर पनि

‘ओलीको आर्थिक परीक्षण’ (२०–२६ फागुन) रिपोर्ट सटिक छ । यसले प्रधानमन्त्री केपी ओलीको समृद्धि सपना मात्र होइन, देशकै भविष्य निर्धारण गर्ने देखिन्छ । बहुमतको सरकार बनेका बेला अर्थतन्त्रमा दक्खल राख्ने र गभर्नर समेत बनिसकेका डा. युवराज खतिवडाको लागि अहिलेको समय दुर्लभ अवसर बनेर आएको छ । हेरौं डा. खतिवडा कत्तिको खरो उत्रन सक्छन् ।

दत्तात्रेय शर्मा, अनलाइनबाट

सुध्रिने मौका

‘स्वतन्त्र न्यायालयको हितमा’ (२०–२६ फागुन) सम्पादकीय समसायमिक छ । आफूलाई सुधार्ने या पतनको मार्गमा हिंडाउने बल न्यायमूर्तिहरूकै कोर्टमा छ । हामी जनता ‘पर्ख र हेर’ को अवस्थामा छौं । सनकको भरमा हुने कामकारबाहीको परिणाम कहिल्यै राम्रो हुँदैन, सबैले हेक्का राख्नुपर्छ ।

विवेकचन्द्र झा, अनलाइनबाट

अर्थमन्त्रीको पहिलो काम

‘क्रेडिट क्रञ्चको जोखिम’ (२०–२६ फागुन) ब्यांकिङ रिपोर्टले चिन्तित बनायो । लगानीयोग्य पूँजीमा सरकारी कामगराइकै समस्या भनेर ब्यांकरहरूले जुन समस्या उजागर गरेका छन् त्यसतर्फ सरकार, अझ् अहिलेका ब्यांक बुझेका अर्थमन्त्रीको ध्यान जानुपर्छ । यसैमा अर्थमन्त्रीको परीक्षा हुनेछ । अर्थतन्त्रलाई सही मार्गमा ल्याउनेको जय होस् !

सीमान्त शर्मा, अनलाइनबाट

पठनीय उकालो लाग्दा

उकालो लाग्दा स्तम्भमा छापिएको ‘पहिलो शवदाह यन्त्र’ (२०–२६ फागुन) पठनीय र रोचक लाग्यो । आँखै अगाडि रहेर पनि नदेखिएका, नचिनिएका यस्ता स–साना कुराबारे हिमाल ले निरन्तर लेखिरहोस् ।

राजेन्द्र श्रेष्ठ, अनलाइनबाट

comments powered by Disqus

रमझम