७-१३ असोज २०७५ | 23-29 September 2018

सधैंको विडम्बना

Share:
  

हिमाल (३१ भदौ–६ असोज) आवरण ‘प्रत्युत्पादक प्रचण्ड–कार्ड’ ले नेकपा अध्यक्ष पुष्पकमल दाहालको कुबेलामा भएको भारत भ्रमणको कारण प्रष्ट पारिदिएको छ । सधैं सत्ताको केन्द्रमा रहन रुचाउने दाहाल नेकपाका अध्यक्षमध्येका एक भए पनि माओवादी केन्द्रको अध्यक्ष हुँदा जस्तो ‘प्राधिकार’ को आनन्द लिन सकिरहेका छैनन्, अर्कोतिर फेरि प्रधानमन्त्री बन्ने उनको सपना पनि पूरा हुने छाँट देखिंदैन । त्यसैले उनी विदेशी आडभरोसा खोज्न भौंतारिएका छन् ।

सत्ता बाहिर रहेका र त्यहाँ पुग्ने सम्भावना भएका अधिकांश नेपाली नेताको अवस्था योभन्दा फरक हुन्छ जस्तो चाहिं लाग्दैन । हाम्रा नेताहरूको यस्तै अकर्मण्यताका कारण हामीमाथि छिमेकीले खेल्न पाउँछन् । मुलुक र जनतालाई केन्द्रमा राखेर काम गर्ने नेतालाई नजिताउँदासम्म यस्तो विडम्बना हामीले भोगिरहनुपर्नेछ ।

कान्ता डाँगी, अनलाइनबाट

कस्तो बाध्यता ?

हिमाल (३१ भदौ–६ असोज) सामयिक ‘मौकाको ताकमा पुष्पकमल’ ले पुष्पकमल दाहालको ‘अवसरवादिता’ राम्रैसँग उजागर गरे पनि प्रधानमन्त्री केपी शर्मा ओलीले पाँच वर्षअघि नै सत्ताको काँध बिसाउनुपर्ने बाध्यता आउन सक्ने अनुमानको आधार स्पष्ट भएन । किनभने अवसर छोप्न जान्ने दाहाल सत्ताका माहिर खेलाडी हुन् तर, पार्टीभित्र र बाहिरका अनेकौं प्रतिकूलताका बावजूद दाहालको सिंगो पार्टीलाई आफूमा समाहित गर्न सक्ने ओली पनि कम नहोलान् । यस अर्थमा दुवै उस्तैउस्तै हुँदा पनि ओलीसँग सत्ता, शक्ति, नेता–कार्यकर्ता साथै परिस्थितिको अनुकूलता पनि छ ।

विशुध्वज कार्की, अनलाइनबाट

धुलिखेलवासीलाई बधाई

हिमाल (३१ भदौ–६ असोज) रिपोर्ट स्थानीय तह ‘धुलिखेल नगरपालिकाः विकासमा अपनत्व’ ले उत्साह थपिदिएको छ । सबै कुरा गरिदिन्छ भनेर सरकारकै मुख ताकेर बस्ने र आफूले सकेको पनि सहयोग नगर्नेहरूलाई रिपोर्टले साँच्चिकै घच्घच्याएको छ । समृद्धिको सपना देखेर ठूल्ठूला कुरा मात्र गर्र्नेे हामीलाई धुलिखेलका जनताले राम्रै पाठ सिकाएका छन् । स्थानीय तह गठनपछिको विकास र स्थानीयले पुर्‍याएको सहयोग यसैगरी आइरहनुपर्छ ।

प्रेम धमला, अनलाइनबाट

सेनाको नचाहिंदो विस्तार

हिमाल (३१ भदौ–६ असोज) रिपोर्ट अराजकता ‘फास्ट ट्र्याकमा सेनाको रजाइँ’ ले चिन्ता थपेको छ । सेनाले किन व्यापारमा निर्लिप्त भएर आफ्नो छवि धुमिल पारिरहेको होला ? बुझन सकिएन । किन सेनाका उच्च अधिकारीले यसतर्फ ध्यान नदिएको ? सेना सधैं विवादरहित हुनुपर्छ र आपत्विपत्मा जनतालाई सहयोग पु¥याउनुपर्छ । विवादरहित भएकै कारण शान्ति सेनामा नेपाली सेनाको छवि उँचो छ । त्यसैले सेनाले आफ्नो छवि नबिगारोस्, सेना साँच्चिकै सेना भएर रहोस् ।

कुलनारायण रेग्मी, अनलाइनबाट

नमासौं ट्रेकिङ ट्रेल

हिमाल (३१ भदौ–६ असोज) रिपोर्ट पर्यटन ‘ट्रेकिङ ट्रेल मासेर मोटरबाटो !’ ले सोच्न बाध्य बनाएको छ । एकातिर विकासको कुरा अर्कोतिर पर्यटन र पैसा आर्जन । दुवै उत्तिकै आवश्यक छन् । विकल्प खोजेर विकास गर्दा नै राम्रो हुन्छ । ट्रेकिङ ट्रेल मास्ने होइन, त्यसलाई बचाएरै विकासको गति र स्थानीयको उन्नति गर्न सकिन्छ । बरु त्यतातिर बेलैमा ध्यान दिऊँ । भइरहेको ट्रेकिङ ट्रेललाई मासेर विकासको नाममा विनाश नगरौं ।

विकास गुरुङ, अनलाइनबाट

अनुकरणीय काम

हिमाल (३१ भदौ–६ असोज) रिपोर्ट स्थानीय तह ‘बालिका बीमा’ अनुकरणीय छ । ओमसतिया र गैडहवा गा.पा.लाई धेरै–धेरै बधाई । यस्ता काम अन्य गाउँपालिकामा पनि अनुसरण गरिनुपर्दछ । यसले एकातिर बालविवाह र बालहिंसामा पनि कमी ल्याउँछ भने अर्कोतिर बालिका शिक्षामा पनि महत्वपूर्ण भूमिका खेल्न सक्छ । शिक्षाको लगानी, अझ् बालिका माथिको लगानी भनेको देश समुन्नत हुने मार्गको थालनी हो ।

शुभलक्ष्मी यादव, अनलाइनबाट

कारबाही गरौं

हिमाल (३१ भदौ–६ असोज) रिपोर्ट ‘कामै नगर्नेलाई आठ पुल !’ ले स्तब्ध बनायो । किन होला काम नगर्नेलाई कारबाही गर्नुपर्नेमा उल्टै पुरस्कृत गरिएको ? हुन त जुन देशका भ्रष्टाचारी खुलेआम हिंड्छन्, बलात्कारी फुक्काफाल हुन्छन् त्यहाँ कानूनी राजको के कुरा गर्नु ! तर अहिलेको शक्तिशाली सरकारले यस्ता कामै नगर्नेहरूलाई कारबाही गरेर कानूनी राजको प्रत्याभूति गर्न ढिला गर्नुहुँदैन ।

मिलन बुढाथोकी, अनलाइनबाट

निरन्तरता पाओस्

पत्रकार भैरव रिसालको स्तम्भ भोगेको, देखेको, सुनेको निकै रोचक छ । यसपटकको ‘राजाले टेकेको माटोको टीका’ ले पनि त्यसबेलाका शासक र जनताबारे थाहा नभएका कुरा जान्न पाइयो । अन्य कुनै स्रोतबाट हत्तपत्त थाहा नपाउने यस्ता कुरा प्रकाशित भइरहुन् । यो स्तम्भले निरन्तरता पाइरहोस् ।

विमल बाँस्कोटा, इमेलबाट

comments powered by Disqus

रमझम