१५-२१ पुस २०७५ | 30 Dec 2018 - 5 Jan 2019

बेकामे एकता

Share:
  

‘कहाँ छ एमाले’ (८–१४ पुस) आवरण रिपोर्टले सत्तासीन नेकपाको खस्किंदो सांगठनिक संरचना र सैद्धान्तिक विचलनको अवस्थाबारे राम्रो चित्रण गरेको छ । सत्ता र शक्ति हासिल गर्न हिंसालाई माध्यम बनाएको माओवादीसँगको एकता नै तत्कालीन एमालेका लागि घातक थियो । फरक प्रक्रिया, व्यवहार र स्वार्थबाट निर्देशित माओवादीसँग एकताकै परिणाम हो, अहिलेको अलमल । यसका असरहरू विस्तारै थप क्षेत्रमा समेत देखिने छन् । यो एकताबाट एकपटकका लागि सत्तामा सहज पहुँच बाहेक अन्य केही उपलब्धि हुने छैन भन्ने पहिले नै तय थियो ।

सरकार गठन भएको ९–९ महीनासम्म पनि जनताको विश्वास आर्जन गर्न नसक्नु, शान्ति–सुरक्षाको अवस्था बिग्रँदै जानु, समृद्धिको नारा लगाए पनि निकट भविष्यमा समेत त्यस्तो हुनसक्ने छेकछन्द नदेखिनुले नेकपा आफू मात्र होइन मुलुकलाई समेत अधोगतिमा हिंडाउन उद्यत भएको हो कि भन्ने शंका उब्जिन थालेको छ । समग्रमा माओवादीसँग एकताको गलत निर्णय एमालेलाई भारी हुँदैछ ।

वासुदेव गिरी, अनलाइनबाट

मलेशियामा शोषण

‘रोकिएन शोषण’ (८–१४ पुस) रिपोर्टले मलेशियामा भइरहेको नेपाली श्रमिकमाथिको शोषणलाई रोक्न नेपाल सरकारले थुप्रै काम गरेको भनेर प्रचारप्रसार गरिरहँदा यहाँको अवस्थामा भने कुनै परिवर्तन नआएको खुलस्त पारेको छ । विदेशमा रहेका नेपाली श्रमिकबारे निरन्तर आवाज उठाइरहेको हिमाल खबरपत्रिकाबाट सरकार र सम्बन्धित पक्षहरूलाई दबाब पुग्ने आशामा छौं ।

हामी हाल मलेशियामै कार्यरत छौं र यस्तो शोषणको शिकार आफैं भइरहेका छौं । विदेशीले शोषण त गर्छन् नै तर, नेपाली म्यानपावर एजेन्टकै यसमा सहभागिता र सहयोग रहेको देख्दा भने पीडा झ्नै बढ्छ । यस्ता ठग एजेन्टहरूलाई नेपालमा कारबाही होला कि भन्ने अपेक्षा पनि कहिल्यै पूरा हुँदैन । धेरै नेपालीले काम गरिरहेको टप ग्लोभ भन्ने कम्पनीमा त शोषण चरम अवस्थामा छ । मलेशियामा रहेको नेपाली दूतावासले पनि नेपाली श्रमिकका पीडाबारे पूरै बेवास्ता गरेको देख्दा यहाँ दूतावास केका लागि रहेछ भन्ने लाग्छ । हामी न स्वदेश फर्कन सक्छौं, न त यहाँ काम गरिरहन सक्ने अवस्था छ ।

गोविन्द महरा, खुमान जीएम र युवराज शर्मा हालः मलेशिया, अनलाइनबाट

औचित्यहीन युद्घ

हिमाल मा प्रकाशित रिपोर्ट ‘छोरा सम्झेर एक्लै’ पढ्दा मन भक्कानियो । रिपोर्टमा उल्लेख भएकी तुलसा पाण्डे जस्तै सयौं आमाहरू अहिले सन्तान वियोगको पीडा खेपेर कष्टका दिन गुजारिरहेका छन् । मुलुकमा एक दशकसम्म हत्या, हिंसा, लूटपाट मच्चाएको माओवादीले कहिल्यै नमेटिने पीडाका घाउ बाहेक अरू केही दिएन भन्ने पुष्टि भइसकेको छ । तर पनि उनीहरू नै सत्तामा विराजमान भएर अट्टहास गरिरहेको देख्दा, अझ्ै पनि ‘हामी निमुखा र गरीबका लागि काम गरिरहेका छौं’ भनेको सुन्दा उखरमाउलो छुट्छ । परिवारका सबै गुमाउँदा पनि आफ्नो पीडा कम गर्न कल्याणकारी काम गरिरहेकी तुलसा पाण्डेलाई नमन ।

बाबु ब्यास र झविन्द्र पाण्डे, अनलाइनबाट

जोखिम घटाउने अवधारणा

‘शहरी आगलागी र नियन्त्रणका उपाय’ (८–१४ पुस) विपत् अवधारणाले आगलागीको जोखिमलाई कसरी न्यूनीकरण गर्न सकिन्छ भन्ने राम्रो ज्ञान दिएको छ । हुनत हामी नेपालीहरूको बानी नै जति बेला पानी पर्छ उति बेला छाता खोज्न जाने छ । संभावित विपत्लाई ध्यानमा राखेर हरहमेशा नियन्त्रणका लागि तयारी अवस्थामा रहने हो भने नेपाल विश्वमा नै प्राकृतिक विपत् कम हुने मुलुकमा पर्नेछ । हाम्रो आफ्नै लापरबाहीले नै एउटै विपत् बारम्बार दोहोरिने हो । शहरीकरण तीव्र रहेको हामीकहाँ शहरी आगलागीको अवधारणा साँच्चिकै सान्दर्भिक छ, समयमै सबै पक्षले यसलाई मनन् गर्नै पर्छ । बिग्रिसकेपछि पछुताउनुको कुनै तुक रहँदैन ।

रेशुलाल खत्री, अनलाइनबाट

आशा जाग्ने रिपोर्ट

‘संरक्षणले सबल बन्दै’ (८–१४ पुस) रिपोर्टले हामी किसानलाई साँच्चिकै आशावादी र खुशी तुल्याएको छ । जीविकोपार्जनको समस्याले विदेशिन बाध्य हुनेहरूलाई त अन्नपूर्ण गाउँपालिकाको उदाहरणीय कामले झ्नै ऊर्जा थपेको छ । दीर्घकालीन फाइदाको रूपमा रहेको कफी खेतीप्रति राम्रो जानकारी नहुँदा पनि नेपालमा कफी खेतीप्रति किसानको ध्यान नपुगेको साँचो हो । यति हुँदाहुँदै पनि बजारको माग र जीविकोपार्जनमा सहजता हुने हो भने कोही पनि विदेशिने छैनन्, सरकारले यतातिर बेलैमा सोचेर जनतालाई आत्मनिर्भर बनाउन ढिला गर्नुहुँदैन ।

सरु धिताल, अनलाइनबाट

comments powered by Disqus

रमझम