१-७ वैशाख २०७६ | 14-20 April 2076

प्राकृतिक कि मानवीय विपत् ?

Share:
  

‘बारा चक्रवातः भयंकर भुमरी’ (२४–३० चैत, २०७५) स्थलगत आवरणले भूकम्प, हावाहुरी, बाढी–वर्षा जस्ता प्राकृतिक प्रकोपबाट हुने क्षतिलाई हाम्रै गतिविधिले धेरै ठूलो बनाइदिंदा रहेछन् भन्ने प्रष्ट पारिदिएको छ । बारा–चक्रवातका बेला ‘पक्का मकान’ भत्किएर भएको क्षति यसकै उदाहरण हो । सधैं भूकम्पको जोखिममा रहेको हाम्रो मुलुकमा निर्माण हुने संरचनाहरू भूकम्प प्रतिरोधी नहुनु, वर्षेनि बाढी–पहिरोबाट जनधनको क्षति भइरहँदा पनि विकासका नाममा पर्यावरणको विनाश भइरहनुले यस्तो संभावित क्षतिलाई झ्नै बढाइरहेको स्पष्टै छ । स्थानीय बसोबास, पर्यावरण र जीवनशैलीबारे सबैभन्दा जानकार र जिम्मेवार हुनुपर्ने स्थानीय सरकारको ‘डोजर विकास’ ले थप विपत्ति निम्त्याउँदै छ ।

अहिलेको बारा विपत्को सन्देश भनेको गाउँबस्तीको कमसल निर्माण सुधार गर्ने जनाउ पनि हो । पूर्वानुमान गर्ने जल तथा मौसम विज्ञान विभागको निरीहता देखेर भने दया नै लाग्यो ।

अभिषेक यादव, अनलाइनबाट

कस्तो अचम्म !

‘नाम विदेशीः लगानी स्वदेशी’ (२४–३० चैत, २०७५) रिपोर्ट पढेपछि– ‘स्वदेशी ब्याङ्कहरूकै स्रोत परिचालन गरेर विदेशी लगानी आएको देखाउने मुलुक संभवतः नेपाल मात्रै हुनुपर्छ’ भन्ने लाग्यो । विदेशी लगानी यति आयो उति आयो भनेर सरकार र मिडियाले गर्ने हल्ला सबै झूटो रहेछ । भर्खरै लगानी सम्मेलनको आयोजना गरेको सरकार यस विषयमा गम्भीर बन्नु जरूरी छ । विदेशी लगानीकर्ताद्वारा प्रवद्र्धित कम्पनीले स्वदेशी बजारबाट ऋण लिन कुनै अवरोध नगर्ने हालको कानूनी व्यवस्थामा परिवर्तन गर्नु नै यो समस्या समाधानको उत्तम उपाय हो ।

चोमकान्त ढकाल, अनलाइनबाट

‘क्रसर रोग’ को उपचार होस्

‘स्थानीय तहमा भयावह क्रसर रोग’ (२४–३० चैत, २०७५) विशेष रिपोर्टले यस रोगको शीघ्र उपचार नगरिए हामी पर्यावरणको विनाशसँगै प्राकृतिक प्रकोपको थप मारमा पर्छौं र त्यसले समृद्धिको हाम्रो चाहनामा अवरोध ल्याउने छ भन्ने खुलाइदिएको छ । राजनीतिक पहुँचका आधारमा भइरहेको प्रकृतिको यो विघ्न दोहनलाई रोक्न पनि ठूलै आन्दोलन चाहिएको जस्तो पो देखियो !

शंकर वाग्ले, अनलाइनबाट

कस्तो लेखाजोखा

‘केरुङ–काठमाडौं रेलमार्गः लाभको लेखाजोखा’ (२४–३० चैत, २०७५) टिप्पणीमा ४६ माइल रेलमार्ग बनाउन २ अर्ब ३० करोड अमेरिकी डलर खर्च हुने पूर्व संभाव्यता अध्ययनको आँकडालाई आधार बनाएर त्यसकै आधारमा चार पृष्ठ लामो विश्लेषण गरिएको रहेछ । लागत लाभको लेखाजोखाका लागि अमेरिका र युरोपमा लागेका रेल–खर्चलाई पनि आधार मानिएको छ । उक्त पूर्व संभाव्यता अध्ययनले केरुङ–काठमाडौं रेलमार्गको लागि कुन बाटो निर्धारित गरेको रहेछ, त्यो खर्चमा कुन र कस्तो प्रविधिको रेल आउने हो नभनिकनै खर्चको हिसाब गरिएको हो त ? अँध्यारोमा तीर हाने जस्तो अमेरिकी रेल र ट्रकको अध्ययनका भरमा गरिएको विश्लेषणलाई कसरी पत्याउनु ?

विकास नेपाली, अनलाइनबाट

comments powered by Disqus

रमझम