२२-२८ वैशाख २०७६ | 5-11 May 2019

जनकपुरमा बर्बादी

Share:
  

‘विकासको बौलाहा मोडल’ ((१५–२१ वैशाख) खोज रिपोर्टमा जनकपुरधाम नगरपालिकाले विकासको नाममा गरेको बर्बादीबारे थाहा पाउँदा दुःख लाग्यो । अहिले विकासको नाममा जनताको घर भत्काउने, सम्पत्ति हड्पिने, सम्पदा मास्ने, सुरक्षाकर्मी परिचालन गरेर जनतामा आतंक सृजना गर्ने काम भइरहेको छ । ‘विकास’ कै आडमा ठूलो भ्रष्टाचार गर्ने, कमिशन खाने, अन्धाधुन्द विदेशी ऋण र सहायता लिने काम जारी छ । यस्तो ‘विकास’ किन र कसका लागि भनेर प्रश्न गर्नेलाई विकास विरोधीको बिल्ला भिराइन्छ ।

सर्वोच्च अदालतले पटक–पटक गरेको फैसलाले नागरिकको सम्पत्ति र सम्पदाको सुरक्षाको ग्यारेन्टी गरेका छन् । सर्वोच्चले विभिन्न मुद्दामा गरेका फैसलाले कायम गरेका नजिर यसप्रकार छन्ः

१) विकासका लागि जनताको जग्गा–जमीन लिनुपर्ने भएमा वार्ता नै सर्वोत्तम उपाय हो । त्यसैले विज्ञहरूको (सिडिओ, भूमिसुधार अधिकारी लगायतको होइन) समिति गठन गरेर वार्ताबाट मात्र लिनु ।

२) जनताको बास जोगाउन हदैसम्म प्रयास गर्ने तथा विकल्प खोज्ने । विकल्पहीन अवस्थामा मुआब्जा, क्षतिपूर्ति, पुनस्र्थापनाको व्यवस्था गरेर मात्र जनताको घरबास प्राप्त गर्ने ।

३) विकासका काम गर्दा सांस्कृतिक सम्पदा लगायतका सामुदायिक सम्पत्ति जोगाउनुपर्ने ।

४) महिला बालबालिकालाई विकास र विस्थापनले कस्तो असर पर्छ त्यसको अध्ययन गरेर मात्र पुनस्र्थापना गर्ने ।

५) स्थानीय एवम् रैथाने बासिन्दाको वासस्थान एवम् सम्पत्ति सम्बन्धी सबै अधिकार एवं स्वतन्त्रताको सुनिश्चितता, जग्गाको प्लानिङ, सडक निर्माण एवं त्यसमा उनीहरूको सहमति एवं सहभागिता अनिवार्य हुनुपर्ने ।

त्यसैले सरकार वा कसैले कसैको घर, सम्पत्ति, सांस्कृतिक सम्पदा, सामूहिक सम्पत्ति बेदखल गर्ने गरी विकासको योजना ल्यायो भने त्यसको राम्रोसँग विश्लेषण गरौं । गलत काम सहेर झेल्ली र भ्रष्टहरूलाई हौसला नदिऔं । त्यो काम संविधान, मानवअधिकार, अदालतको फैसला र सामान्य मानवीय संवेदना अनुकूल छ/छैन विचार गरौं । विकासका नाममा हुने विनाशको विरोध–प्रतिरोध गरौं ।

सर्वोच्च अदालतको आदेश नमान्ने, निजी सम्पत्तिमा डोजर चलाएर विकास गर्छौं भन्नेहरू जनप्रतिनिधि कुनै हालतमा होइनन् ।

कृष्ण चित्रकार

ठिमी, भत्तपुर

हेलम्बुवासीको धन्यवाद

‘सेर्माथाङको सौन्दर्य’ (१५–२१ वैशाख) फोटो–एसेले सांस्कृतिक सम्पदा र प्राकृतिक छटाले भरिपूर्ण हुँदाहुँदै पनि ओझेलमा परेको हेलम्बुको सेर्माथाङबारे जानकारी दिएको छ । राजधानीबाट एक बिहानको दूरीमा रहे पनि सुन्दर सेर्माथाङ पर्यटकबाट ओझेलमा पर्नु विडम्बना हो । फोटो–एसे मार्फत नेपालका रमणीय ठाउँहरूबारे जानकारी दिइरहेको हिमाल लाई हेलम्बुवासीको तर्फबाट धन्यवाद ।

विष्णुप्रसाद आचार्य

हालः काठमाडौं

अलिक फरक पर्‍यो

हिमाल (१५–२१ वैशाख) मा प्रकाशित स्तम्भ भोगेको, देखेको, सुनेको मा पत्रकार भैरव रिसालले २०३७ सालमा राजदरबारमा आयोजित समारोहमा बीपी कोइरालाको उपस्थितिको सन्दर्भ उल्लेख गरेका छन् । त्यसमा राजा वीरेन्द्रको जन्मोत्सवमा आयोजित समारोहमा सबैलाई औपचारिक पोशाकमा उपस्थित हुन भनिएको तर, बीपीले कोट–प्याण्ट लगाए पनि टाई नलगाएको हुँदा उनलाई पोशाक नमिलेको भन्दै दरबारबाट फर्काइएको हुनसक्ने उल्लेख छ । तर, वास्तविकता अलिक फरक थियो ।

बीपीलाई राजाको जन्मोत्सवमा नभई २२ कात्तिक २०३७ मा रानी ऐश्वर्यको जन्मोत्सवको अवसरमा दरबारमा बोलाइएको थियो । त्यसबेला बीपी कोइराला दौरा सुरुवाल, कोट, टोपी लगाएर दरबार गए पनि उनलाई कोटको रङ नमिलेको भनी त्यहाँबाट फर्काइएको थियो । २८ कात्तिक २०३७ मा प्रकाशित राष्ट्रपुकार साप्ताहिक र अन्य पत्रिकाले लेखे अनुसार बीपीलाई ‘ग्रे कोट’ नलगाएको भन्दै दरबारका कर्मचारीहरूले समारोहमा सहभागी हुन नमिल्ने बताएका थिए । त्यसबाट खिन्न हुँदै, पूर्व प्रधानमन्त्री टंकप्रसाद आचार्यले ‘लामो समयसम्म जेल र निर्वासनमा रहेका व्यक्तिसँग रङ मिल्ने कोट कहाँबाट हुनु’ भनेका थिए । बीपी स्वयम्ले पनि त्यसबेलाका पत्रिकामा, ‘मलाई होइन कोटलाई बोलाइएको रहेछ, म फर्कें’ भनेको कुरा प्रकाशित भएको छ । सम्भवतः यस्तो कार्य दरबारियाबाट बीपीलाई अपमान गर्ने उद्देश्यले भएको हुनसक्छ ।

त्यसबेला बीपी नेपालमा छँदा आफ्नै घरमा पनि दौरा, सुरुवाल, कोट, टोपी लगाएको अवस्थामा भेटिन्थे ।

धनञ्जय बराल

कमलामाई नगरपालिका, सिन्धुली

comments powered by Disqus

रमझम