२६-३२ जेठ २०७६ | 9-15 June 2019

बुद्घलाई संकुचित अर्थमा नबुझौं

Share:
  

‘शान्तिदूत होइनन् गौतम बुद्ध’ (१९–२५ जेठ) लेख आफैंमा बहकिएको छ । शान्ति स्थापनाको दूरदृष्टि राखेर जसले सम्पूर्ण जीवन व्यतीत गर्‍यो, उसलाई शान्तिको दूत भनिनुमा के आपत्ति ? समय र स्थानको सापेक्षता अनुकूल आफ्ना चिन्तन र व्यवहारलाई समायोजन गर्ने ज्ञान र कलाको प्रसार गर्ने कार्य गौतम बुद्धले गरे, जसको कारण थियो– शान्तिप्रतिको आस्था । यसले व्यक्ति, समाज र राष्ट्रलाई सन्तुलित बनाउन सघाउँछ ।

दूत शब्दलाई संकुचित लक्षणसँग भिडाएर बुद्ध सम्बन्धी स्थापित आस्था भत्काउने र संघम् शरणम् गच्छामि (समाजको शरणमा जान्छु) को अर्थलाई भिक्षु बनाउँछु भन्ने अर्थ दिन खोजेर बुद्धलाई पृथक् समाज बनाउन खोजेको भन्नु उचित होइन । दर्शनको हवाला दिंदा ‘शायद’ भनिनु वेश हुन्छ, ठ्याक्कै अर्थ यही नै हो भन्नु दर्शनशास्त्रको मान्यताभन्दा बाहिर हुन्छ ।

जीवन सापकोटा, लुम्बिनी

सुध्रिने संकेत

‘सीपीडी कार्यक्रमः गुणस्तरीय सेवाको आधार’ रिपोर्ट र राउण्डटेबल कुराकानी पढ्दा मुलुकको स्वास्थ्य सेवामा परिवर्तन आउने आशा जाग्यो । चिकित्सकले हरेक पाँच वर्षमा लाइसेन्स नवीकरण गर्ने गरी विभिन्न मापदण्ड पूरा गर्नुपर्ने सीपीडीको व्यावसायिक विकास कार्यक्रम सही रूपमा अगाडि बढे अन्ततः समग्र स्वास्थ्य क्षेत्रमा सुधार आउनेछ । उपचार सेवाको क्रममा सर्वसाधारणलाई बिझाउने कुरा चिकित्सक र अन्य स्वास्थ्यकर्मीको रूखो र उपेक्षापूर्ण व्यवहार हो । यो विषयलाई पनि सीपीडी कार्यक्रमले व्यावसायिक आचरण र संचार क्षमता अन्तर्गत समेट्नु सराहनीय लाग्यो । संचार सीपकै अभाव र आपसी अविश्वासका कारण पछिल्लो समय चिकित्सक र बिरामी पक्षबीच बेलाबेला टकराव हुने गरेको छ । सीपीडीले चिकित्सक मात्र नभई क्रमशः सबै स्वास्थ्यकर्मीलाई समेटोस् र सेवाभन्दा मुनाफाको धन्दा बनिरहेको स्वास्थ्य क्षेत्रलाई सुधार गरोस् ।

रुमी शेरचन, पोखरा

शिक्षामा अरुचि !

‘शिक्षाः प्रयोगात्मकमा अरुचि !’ (१९—२५ जेठ) पढ्दा विद्यालयहरूमा सिकाइ विधि निराशाजनक भएको छर्लङ्ग हुन्छ । विद्यालय व्यवस्थापनको जिम्मा स्थानीय सरकारको काँधमा पुगेपछि यसमा व्यापक सुधार हुने अपेक्षा थियो । तर, धेरै स्थानीय सरकारको नजर ‘डोजर विकास’ मा केन्द्रित हुँदा शिक्षा उनीहरूको प्राथमिकतामा परेन । विद्यालयमा कस्तो पढाइ भइरहेको छ, शिक्षकहरू नियमित छन्/छैनन्, विद्यालयको भौतिक अवस्था कस्तो छ, पुस्तकालय र सिकाइ विधिमा सुधार भएको छ/छैन भनेर अनुगमन गर्ने कार्य शून्य छ । हाम्रा शिक्षालयहरू शिक्षकहरूका राजनीतिक खेलमैदान मात्र बनिरहेका छन्, जहाँ अक्षम र अलमलिएको जनशक्ति उत्पादन भइरहेको छ । हुनेखानेले त महँगा संस्थागत विद्यालयमा पढाउँछन्, सामुदायिक विद्यालयमा निम्न आय भएका गरीब परिवारका छोराछोरी पढ्ने हुन् । तीनै गरीबका छोराछोरी पढ्ने विद्यालयको पढाइ कमजोर हुनु एकदमै दुखद कुरा हो । यसतर्फ तीनै तहका सरकारको ध्यान जान जरूरी छ ।

निरञ्जन नेपाल, ग्वार्को, ललितपुर

नेक्ससबारे छानबिन होस्

‘फस्टाउँदो चिकित्सक–सप्लायर्स नेक्सस’ (१९–२५ जेठ) रिपोर्ट पढेपछि कतै म पनि यस्तो नेक्ससबाट ठगिएँ कि भन्ने लागिरहेको छ ।

१२ चैत २०७४ मा लमजुङको सुन्दर बजार नगरपालिका–२ भीरपानीको भीरबाट खसेर घाइते भएकी छोरीको उपचार स्थानीय अस्पतालमा सम्भव नभएपछि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुर्‍याएँ । परीक्षणमा उनको ढाड भाँचिएको थाहा भयो । चिकित्सकले ढाडको शल्यक्रिया गरी प्रत्यारोपण गर्नुपर्ने बताए । त्यसका लागि २२ चैतको मिति तोकिदिए । उपचारमा संलग्न चिकित्सकले बाहिरका सप्लायर्सबाट प्रत्यारोपण सामग्री किन्न भनेलगत्तै ‘यती वेलकेयर’ का प्रतिनिधि आफैं अस्पताल आइपुगे ।

ती प्रतिनिधिले प्रत्यारोपण सामग्रीको नमूना मलाई देखाएपछि त्यो सामग्री अस्पताललाई दिए र, मबाट रु.९७ हजार असुले । मलाई भुक्तानी रसिद नदिएका उनले उक्त सामग्री अस्पतालमा कसलाई कति मूल्यमा दिए थाहा भएन, न त उपचारमा संलग्न चिकित्सकले नै कुनै जानकारी दिए । छोरीको व्यथाबाट पीडित हामीले त्यसबारे सोधखोज पनि गरेनौं ।

हिमाल को रिपोर्ट पढेपछि २० जेठमा यती वेलकेयरलाई फोन गरेर उक्त सामग्रीको बिल मागेको छु । यो सामग्री खरीद गर्दा म ठगिएको हो वा होइन यसबारे अझै स्पष्ट हुन सकिरहेको छैन । अप्ठ्यारोमा परेका बिरामीका आफन्तलाई त्यो बेलाको फाइदा उठाएर विना रसिद सामान बिक्री गर्ने काम बन्द होस् । यसबारे सम्बन्धित निकायले ध्यान दिनुपर्छ ।

दिलबहादुर घर्ती, लमजुङ

comments powered by Disqus

रमझम