२२-२८ असार २०७६ | 7-13 July 2019

बहकिएका हामी

Share:
  

‘पर्यटकको संख्या बढ्यो, खर्च घट्यो’ (१५–२१ असार) रिपोर्टमा उल्लिखित अनौपचारिक माध्यमबाट हुने कारोबार बढ्दा पर्यटन क्षेत्रको आम्दानी घटेको, विदेशस्थित ट्राभल एजेन्सीले महँगो शुल्कमा बिक्री गर्ने टूर प्याकेजबाट नेपाली पर्यटन उद्योग लाभान्वित नभएको जस्ता भनाइ यथार्थ भए पनि नेपाली पर्यटन उद्योग उँभो नलाग्नुको प्रमुख कारण यो हुँदै होइन । पर्यटक धेरै आउने देशहरूमा यस्ता समस्यालाई समस्या नै मानिंदैन ।

जब देशमा ठूलो संख्यामा पर्यटक आउन थाल्छन्, उनीहरूलाई खर्च गराउने विभिन्न सुविधा र पूर्वाधार तयार हुन्छन्, तब यी समस्या झिनामसिना हुन पुग्छन् । के रिपोर्टले देखाएका समस्या सबै निर्मूल हुने हो भने नेपालले पर्यटन क्षेत्रबाट निकै ठूलो रकम आम्दानी गर्छ त ? राष्ट्रिय अर्थतन्त्रमा त्यसको योगदान कति प्रतिशतले बढ्ला ? अहँ, त्यो निकै सानो रकम हुनेछ ।

अहिलेको मुख्य समस्या भनेको नेपाल आउने पर्यटकको संख्या निकै कम छ र तीमध्ये पनि धनी र विलासी पर्यटक नेपाल आउँदैनन् । हाम्रो विमानस्थल, अध्यागमन कार्यालय, सरकारी कर्मचारी, निजी क्षेत्र, शहर साथै पर्यटकीय स्थल र सम्पदा क्षेत्रमा उपलब्ध सुविधा केही पनि त्यस्ता पर्यटक अनुकूल छैनन् । त्यसैले उनीहरू नेपाल आउन चाहँदैनन् र पैसा पनि आउँदैन । पर्यटन उद्योगलाई अर्थतन्त्रको मेरुदण्डको रूपमा विकास गर्ने सरकारी अधिकारी र नेताहरूको एकोहोरो रटान र त्यसैबाट हौसिएका हामी काठमाडौं र पाटन घुम्दै गरेको विश्वकै धनी मान्छेलाई शौच आयो भने कहाँ जाला भनेरसम्म सोच्न सकेका छैनौं । हामी बहकिएका छौं ।

सुष्मा गुरुङ, पोखरा

भविष्यका कर्णधारलाई बचाऔं

स्वास्थ्यमा सबैको समान पहुँच भनिरहँदा ‘बालबालिकामा क्यान्सरको भयावह’ (१५–२१ असार) आवरण रिपोर्टले सोच्न बाध्य बनाएको छ । गरीबीका कारण उपचारको अभावमै, बालबालिकाहरू मृत्युको मुखमा पुगिरहेको, परिवारमा आर्थिक, मानसिक आघात पुगिरहेको खबरले साँच्चिकै दुःख लाग्यो । देशमै उपचार सम्भव हुने रोगका लागि लाखौं खर्चेर विदेशमा उपचार गराउन जाने नेताहरू क्यान्सरग्रस्त सन्तानको पीडा टुलुटुलु हेर्दै, आफू पनि अंश–अंशमा मृत्यु व्यहोर्न विवश बाबुआमाप्रति अलिकति पनि जवाफदेही हुनुपर्दैन ? सरकारमा बस्ने र अझ् स्वास्थ्य मन्त्रालय चलाइरहेका मन्त्रीको चाँडै ध्यान जाओस् ।

सचेत शर्मा, मोरङ

किन नबुझेको होला ?

उकालो लाग्दा (१५–२१ असार) ‘लञ्च बक्साको हमला’ ले हाम्रा व्यवहार र गतिविधि अझै पनि सभ्य छैनन्, समाजका जान्नेसुन्नेहरू नै जिम्मेवार हुन सकिरहेका छैनन् र हामी पाएसम्म असभ्यता प्रदर्शन गर्नबाट चुक्दैनौं भन्ने स्पष्ट भएको छ । लञ्च बक्सा सानो उदाहरण हो, हाम्रो सामाजिक व्यवहार, जिम्मेवारी र रुचितर्फ संकेत गर्ने । म आफैं उपस्थित एउटा कार्यक्रमका बीच आएका लञ्च बक्सा खोल्न अन्य सहभागीलाई सकस परिरहेका बेला कार्यक्रमका प्रमुख अतिथि मन्त्रीले नै सबैभन्दा पहिले ‘भोजनको पोको’ खोलेर कार्यक्रम विथोल्न सजिलो पारिदिएका थिए । यस्ता कार्यक्रमका आयोजक सहभागीलाई भोजन गराउन जरूरी ठान्छन् भने कार्यक्रम समाप्त भएपछि वा निकै लामो कार्यक्रम छ भने बीचमा केही मिनेटको विश्राम लिएर भोजन गराए भैहाल्छ । त्यति पनि किन नबुझेको होला !

अमर पोखरेल, ललितपुर

सीमापार साझेदारी आवश्यक

जलवायु परिवर्तन सम्बन्धी रिपोर्ट ‘आसन्न संकट’ (१५–२१ असार) ले दक्षिण एशियाली जनतामाथिको भविष्यको दुर्घटनाबारे उल्लेख गरे पनि यस्तो चिन्ता शुरू हुनुभन्दा धेरै अगाडिदेखि नै गरीबी, सीमान्तीकरण, भेदभाव, असमानता र बसाइँसराइका समस्यासँग जुधिरहेका हिमाली क्षेत्रका मानिसहरूबारे उल्लेख गरेको छैन । उत्तर र दक्षिणका छिमेकीले ठूलो मात्रामा हरितग्यास उत्सर्जन गरिरहँदा यसको पहिलो मार पनि यही क्षेत्रका जनतालाई परेको छ । हिमनदी र हिमताल सुक्दै गर्दा हिमाली क्षेत्रमा पानीको समस्या देखिइसकेको छ । अब बसाइँसराइ र भोकमरी जस्ता समस्या झन विकराल भएर आउँदैछन् ।

समस्या समाधानको एक मात्र उपाय भनेको आफ्नो क्षमता विकास र प्रदूषण न्यूनीकरण नै हो । समस्याको कारण नेपाल मात्रै होइन र समाधान पनि एउटा देशको प्रयासबाट मात्र सम्भव छैन । त्यसैले यो साझा समस्याको समाधानका लागि सीमापार साझेदारी र सहयोग बढाउनु आवश्यक छ । विश्वमै सबैभन्दा धेरै हरितग्यास उत्सर्जन गर्ने भारत र चीनलाई बढी जिम्मेवार बनाउन नेपालको नेतृत्वले आँट गर्नुपर्छ ।

ङिमा ग्याल्जेन शेर्पा, सोलुखुम्बु

comments powered by Disqus

रमझम